काठमाडौँ । रुपन्देहीमा पौने दुई करोडको विद्युतीय चुरोट (भेप) सहित एक जना भरिया पक्राउ परेका छन् । यसको मालिक भने पत्ता लागेको छैन ।
लुम्बिनी सांस्कृतिक नगरपालिका-१०, महिलवारबाट प्रहरीले राजश्व छली गरी ल्याइएको १ करोड ७१ लाख २५ हजार रुपैयाँ बराबरको भेपका चालकलाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय लुम्बिनी र अस्थायी प्रहरी बिट महिलवारबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लु २ च ६३०३ नम्बरको पिकअप जिपमा शंका लागेपछि रोकेर खानतलासी गरेको थियो । जाँचका क्रममा बीलबिनाका अवैध सरसामान फेला परेको रूपन्देही प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मायादेवी गाउँपालिका(४ का ३० वर्षीय नारायण अग्रहरी बनियाँले चलाएको उक्त पिकअपमा ठूलो परिमाणमा विभिन्न प्रकारका इलेक्ट्रोनिक भेप, फ्लेभर र प्याकेजिङका सामान बरामद गरिएको छ ।
बरामद गरिएका सामान, गाडी र चालकलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल, रूपन्देही पठाइएको छ ।
बरामद गरिएका सामानहरूमा विभिन्न कम्पनीका फ्लेभर (२७ कार्टुन), इलेक्ट्रोनिक भेप (विभिन्न मोडलका ५८६१ पिस), इलेक्ट्रिक मिक्सचर, प्लास्टिक प्याक गर्ने मेसिन र प्याकेजिङ प्लास्टिक रहेका छन् । यी सबै सामानको कुल मूल्य १ करोड ७१ लाख २५ हजार रुपैयाँ छ ।







