काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरबाट लागू औषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन्।
लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका-१३, करेखोलाबाट २ जनालाई ३.१९० ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।
पक्राउ परेकाहरूको बयान तथा थप अनुसन्धानका क्रममा लागू औषध कारोबारमा संलग्न वीरेन्द्रनगर–१२ का थप दुई जनालाई ८.८३० ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको ब्युरोले जनाएको छ। उनीहरूबाट कुल १२.०२ ग्राम खैरो हेरोइन र चार थान मोबाइल बरामद भएको छ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर-१३ का २३ वर्षीय रुपेश घर्ती मगर र २७ वर्षीय कुमारबहादुर रास्कोटी तथा वीरेन्द्रनगर-१२ का ३१ वर्षीय बालाराम पौडेल र ३५ वर्षीय नवराज चालिसे रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका नवराज चालिसेको साथबाट सशस्त्र प्रहरी सहायक हवल्दारको परिचयपत्र र रुपेश घर्ती मगरको साथबाट सशस्त्र प्रहरी परिचरको नियुक्ति पत्रसमेत फेला परेको छ।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।





