काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बढ्दो लोकप्रियताले प्रतिक्रियावादी र दलालहरूलाई आतंकित भएको बताएका छन्।
कर्णाली प्रदेशको पूर्ण बैठकमा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै पार्टीभित्र द्वन्द्व सिर्जना गर्न विभिन्न षड्यन्त्रहरू भइरहेको बताए।
उनले भने, ‘गुटबन्दी, अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने स्पष्ट संकल्प स्थायी समितिले गरिसकेको छ। तर, पार्टीभित्र द्वन्द्व सिर्जना गर्न विभिन्न षड्यन्त्र भइरहेको छ।’
पछिल्ला विभिन्न निर्वाचनहरूमा काँग्रेस एमाले मिल्दा समेत माओवादीनिकट उम्मेदवारहरूको विजयले जनविश्वास पुनः प्राप्त हुँदै गएको प्रष्ट भएको बताए।
उनले थपे, ‘स्थानीय तह, स्ववियु, पत्रकार महासंघ लगायत हालै सम्पन्न नेपाल पर्वतारोहण संघको निर्वाचनमा माओवादी केन्द्र निकट उम्मेदवारहरूको विजयलाई जनविश्वासको प्रतीकको हो। हाम्रो पार्टी र संगठनप्रति जनताको आशा र भरोसा बढ्दो छ। काँग्रेस, एमाले एकातिर र माओवादी केन्द्र एक्लै भए पनि धेरै स्थानमा हामी विजयी भएका छौँ।’
शिक्षा विधेयक लगायत विभिन्न राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको अडानले जनस्तरमा सकारात्मक सन्देश पुगेको बताए। उनले थपे, ‘काँग्रेस र एमालेको गलत सोचको विरुद्धमा हामीले लिएको अडानका कारण लाखौँ शिक्षकहरूले समर्थन देखाएका छन्।’
प्रचण्डले वाईसीएल, विद्यार्थी संगठन लगायत जनवर्गीय संगठनहरूलाई श्रम र उत्पादनसँग जोड्न गरिएको प्रयास सफल भइरहेको दाबी गर्दै संगठन विस्तारलाई अझ तीव्र बनाउनु पर्नेमा जोड दिए।
कर्णाली प्रदेशका नेताकार्यकर्ताहरुलाई पार्टी एकता र संगठन विस्तारमा अग्रसर भई राष्ट्रिय राजनीति परिवर्तन गर्न भूमिका खेल्न आग्रह गरेका छन्।







