काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा यति ठुलो परिवर्तन माओवादी जनयुद्धले नै ल्याएको भन्दै त्यसबारे पाठ्यक्रममा राखेर विद्यार्थीहरूलाई चेतना दिनुपर्ने बताएका छन् ।
नवराज पुडासैनीको संघर्षमा सिरानचोक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै यो व्यवस्था माओवादीले नै ल्याएको भए पनि काँग्रेस एमालेले स्वीकार्न नचाहेको बताए।
उनले भने, ‘देशमा यतिठूलो परिवर्तन ल्याउने कारक जनयुद्ध नै हो। काँग्रेस, एमालेसहित अरूलाई पनि यो कुरा थाहा छ। तर यो कुरालाई स्वीकार गरेर त्यसलाई पाठ्यक्रममा राख्नुपर्ने, देश निरङ्कुश राजतन्त्रबाट समानुपातिक समावेशी गणतन्त्रमा आइसकेपछि यसको प्रमुख बाहकको बारेमा विद्यालयदेखि विश्वविद्यालयसम्म चेतना दिन हामी सबैको दायित्व हो।’
उनले माओवादी आन्दोलनलाई आतंककारी भनेर प्रचार गरिएको भन्दै त्यो भ्रम चिर्नुपर्ने बताए।
उनले थपे, ‘तर यहाँका जसले आफूलाई मूलधार र संस्थापन ठान्नेछन्। तिनीहरू जनयुद्ध र माओवादी आन्दोलनलाई आतंककारी भनेर पढाउँछन्। यो परिवर्तनको कारक माओवादी हो भन्न चाहिँ चाहँदैनन्। त्यसैले यो चिजलाई चिर्न आवश्यक छ। त्यसैले काँग्रेस एमालेसहित अरू पार्टीका विद्वान नेताहरू, बुद्धिजीवीहरूलाई यो कुरा अपिल गर्छु।’







