हर बिहान
मुर्दा बोकेर मलामीहरू
जब घाट पुग्छन्
तब भूत प्रेतको कथा फलाको हाल्छन्
म फिस्स हाँस्छु
काल्पनिक कथा सुनेर
न भूत छ, न प्रेत छ
तै पनि मान्छेहरू डराइ रहेछन्
भूत प्रेतसँग तर्सिएर ।
मान्छे हुनुको नाता किन विर्सन्छन मान्छेहरू ?
भट्टीबाट मिसायल प्रक्षेपण गर्दै
एक्काइशौ शताब्दीको कोलाहल बोकी
मृत्युमा शोक व्यक्तै नगरी
लाशको खेती गरी रहेछन् मान्छे ।
मुर्दाहरू थुप्रिएर मसान घाटमा
मलामीहरू चितारोहणका लागि
पालो कुरी रहेछन्
बेइमान धूर्त, स्याल र फ्याउरा कराउँछन्
सिनो लुछ्नलाई
मलामीहरू थाकेका छन
मुर्दा बोक्दा पालो नपाएर
मलामीहरू कोही बोल्दैनन्
सन्नाटा छाएको छ
स्तव्धित छन मलामीहरू
आफ्नै मृत्यु सम्झेर ।
म आफै च्यातिएर
जीवनका लक्ष्यहरू विखण्डित यज्ञ कुण्डमा होम्दै
तरबारको धारमा उभ्भिएर
जीवनलाई जीवनकै कसीमा राख्न नसकी
मनुषत्वको अवशेष खोज्न तल्लीन छु
जिउँदो लाश जस्तै भएर ।
वर्तमान मसानघाट जस्तै छ
मुर्दाहरू खपत गर्न तम्सिएको
औपचारिक मृत्यु खोसाएर झोक्रिएको समय
उसकै दाह संस्कार गर्न आतुर छ
मान्छेहरू बेढङ्गले हाँसी रहेछन्
खितिति/खितिति
समय कात्रो खोज्छ
मान्छेहरू निराशा व्यक्त गरी रहेछन्
समयले मृत्युवरण गरे पछि ।
म मृत्यु जित्न खोज्छु
मलाई समयले बाघे झप्पु हान्छ
म अनियन्त्रित हुन सक्छु
अनियन्त्रित भई
मुर्दाहरूकै लाममा सामेल भएर
आत्मदाह गर्न खोज्छु
मलाई रोक आत्मदाह गर्न बाट
म मृत्यु सँग लडाइ लड्छु
मसानघाट तिर धाउँदै
कथित भूत प्रेतलाई पछारेर ।
मुर्दा, मसानघाट, दाहसंस्कार र म
विवाद मुक्त नहुन सक्छौ
सृष्टिको सीमा ननाघेरै
सुस्त, तर आतुरताका साथ
हामी मसानघाट तिरै समाहित हुन्छौ
जिजीविषा गुमाउँदै ।
संकेत बाट कुनै कविता नहोला
कवि, कविताको अर्थ खोज्छ
कविताका भाषाहरू अन्धा भएका छन
मुर्दाहरूको साम्राज्य भित्र
कविता होइन
अकविता लेखिन्छन् ।
कविहरू मसानघाट तिर लम्की रहेछन्
कविताको अस्तु खोज्न
मलामीहरू मुर्दा बोक्दा बोक्दा हैरान छन
उ, त्यो जुलुस उनीहरूकै त हो
कसरी लाम लागेका छन्
प्रत्येक मुर्दा ओसार्दै चितामा थन्क्याउन ।
सुन्दरहरैँचा–०६, दुलारी मोरङ







