काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक ६२ दिन पछि बस्ने भएको छ ।
समिति सचिवालयले आगामी मंगलबार दिउँसो २ बजेका लागि बैठक राखेको छ । जहाँ राज्य व्यवस्था तथा सुशासन समितिको हालसम्मको कामकारबाहीको समीक्षा गर्ने कार्यसूची रहेको छ ।
यो बैठक समिति सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्वाचित भएपछि बस्न लागेको पहिलो बैठक हो । न्यौपाने यही भदौ ११ गते राज्य व्यवस्था समितिको सभापति निर्वाचित भएकी थिइन् ।
लामो समयदेखि समितिको बैठक बस्न नसक्दा विधेयकमाथिको छलफल ठप्प छ । समितिमा चार वटा विधेयक छन् । नेपाल प्रहरी विधेयक ११ फागुन २०८१ अर्थात् ६ महिनादेखि यही समितिमा छ । सशस्त्र प्रहरी बल विधेयक ६ चैत २०८१ अर्थात् ५ महिनादेखि समितिमै छ ।
निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक राज्य व्यवस्था समितिमा अड्किएको १७ महिना भइसक्यो । १६ कात्तिक २०८० मा प्रतिनिधिसभामा दर्ता भएको यो विधेयक दफावार छलफलका लागि १८ चैत २०८० मा प्रतिनिधिसभाले राज्य व्यवस्था समितिमा पठाएको थियो । तर, १७ महिनासम्म छलफलमा अगाडि बढ्न सकेको छैन ।







