काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले देशका पुराना विद्यालय र पुस्तकालय व्यवस्थापन तथा संरक्षणमा स्थानीय पालिकाहरूले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
अठारौँ पुस्तकालय दिवसका अवसरमा भक्तपुर नगरपालिकाले आज यहाँ आयोजना गरेको प्रवचन कार्यक्रममा उनले पुस्तक आफैँमा एउटा इतिहास भएको बताए ।
अध्ययनविना कोही पनि बौद्धिक रूपले अगाडि बढ्न नसक्ने भन्दै अध्यक्ष बिजुक्छेले नेपालका पुस्तकालयको उचित व्यवस्थापनले नागरिकको बौद्धिक स्तर माथि उठ्ने बताए ।
उनले कम्युनिष्ट साहित्य प्रगतिशील हुने विचार राख्दै आफूले के पुस्तक अध्ययन गर्ने भन्ने विषयमा स्पष्ट हुनुपर्ने औँल्याए ।
कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीमा पठन संस्कृतिको विकास गर्न भक्तपुर नगरपालिकाले पुस्तकालयको व्यवस्था गरी दिवस मनाउँदै आएको बताए ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले पुस्तकालय र वाचनालय सञ्चालनको अधिकार पालिकाहरूलाई दिएपछि नगरपालिकाले नगरका पुस्तकालय तथा वाचनालयको अभिलेख राखी आवश्यकताका आधारमा सुधार र व्यवस्थापनको काम गरिरहेको उनको भनाइ थियो ।
नेपालमा विसं २०६५ देखि प्रत्येक वर्ष भदौ १५ गते विभिन्न कार्यक्रम आयोजना गरी पुस्तकालय दिवस मनाउन थालिएको हो ।







