काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा प्युठान नौ बहिनी गाउँपालिका-१ घर भएका हाल काठमाडौँ महानगरपालिका-१४ बस्ने ३४ वर्षीय विशाल बुढा मगर, झापा बुद्ध शान्ति गाउँपालिका-२ घर भएका हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ३० वर्षीय निकेश ढुंगाना र महोत्तरी गौशाला नगरपालिका-९ घर भएका हाल ललितपुर महालक्ष्मी नगरपालिका-३ बस्ने ४४ वर्षीय योगेन्द्र सिंह दनुवार रहेका छन् ।
उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।प्रहरीका अनुसार विशालले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १५ लाख ३० हजार रुपैयाँ, निकेशले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४१ लाख रुपैयाँ र योगेन्द्रले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ३४ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।







