जापानको फुजी पर्वत (३७७६ मि.) टाकुरोमा प्रभातीय घामको पहिलो किरण परेको ठिक तीन घण्टा १५ मिनेटपछि त्यही घामले मेरो देशको गौरवशाली हिमशिखर सगरमाथाको चुचुरोलाई मृदुल स्पर्श गर्छ। घामको कुनै देश हुँदैन, न त हावाको, न त महासागरका पानीको। कविहरू भन्ने गर्दछन् कि चराहरूको पनि देश हुँदैन। कतिपय धर्म, संस्कृति, साहित्य र सभ्यताले पनि मानिसहरूले नै कोरेका देश–देशका सीमारेखालाई उल्लङ्घन गर्दछन्। वर्तमान युगमा सूचना र प्रविधिले राज्यका सीमाहरूको अभूतपूर्व अतिक्रमण गरेको तथ्यको हामी भोक्ता र साक्षी पनि हौं।
यति भनिसकेपछि विषयवस्तुतर्फ मेरो भोगाइमा केन्द्रित रहेर केही कुरा पस्किनु हुन आधार मिल्छ। मेरो नजिकका मित्रको आफन्त साली सपरिवार जापानमा बसोबास गरिरहेका छन्। जीविकोपार्जनका लागि व्यापार गरिरहेका छन्। संस्कार र माटोको माया पनि खूब शक्तिशाली हुन्छ। मानिसहरूले दु:ख र सुखमा आफन्तका अनुहारहरू खोज्छन्। युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया र जापानमा बसोबास गरिरहेका नेपालीहरू पछिल्लो दशकमा विवाह, व्रतबन्ध, अन्नप्रासन, गुन्युचोली लगायतका उद्देश्यले नेपालमै आउने गरेका दृष्टान्तहरू हजारौँ भेटिन्छन्। मेरा अनन्य मित्र विष्णुकी साली राधाले आफ्नी दिदीकी प्रथम सन्तानको पहिलो जन्मदिन मनाउनका लागि परिवारसहित नेपाल आउने निश्चय गरिन्।
मित्र विष्णुले साली राधाको परिवारलाई जापानबाट नेपाल आउन र यताबाट उता फर्किने हवाइ टिकट किन्नका जिम्मेवारी पाए अनुसार सो काम यताबाटै सम्पन्न गर्नुभयो। राधा सपरिवार नेपाल आई आफ्नी दिदीको प्रथम सन्तानको जन्मोत्सव मनाएर नेपालका केही स्थानको भ्रमण समेत गर्नुभयो। केही समयको बसाइ पश्चात राधाको परिवार कर्मभूमि जापान फर्किनुपर्ने भएकोले पूर्वनिर्धारित उडानअनुसार गत २९ अप्रिल २०२५ मा उनीहरू त्रिभुवन विमानस्थलबाट टोकियोतर्फ प्रस्थान गर्नुभयो। गन्तव्यमा पुग्दा ३० अप्रिल भइसकेको थियो। साथमा लगेजहरू हुने नै भए। आफ्ना लगेज लिएर राधाको परिवार बासस्थानतिर प्रस्थान गर्यो। फर्किने क्रममा मेरा मित्र विष्णुले उनीहरूको हालखबर लिइ नै रहनुभएको थियो।
राधाको परिवार विमानस्थलबाट निस्केको अन्दाजी ३० मिनेटपछि नेपालमा रहेका मेरा मित्र विष्णुलाई टोकियो विमानस्थलका अधिकारीले फोनबाट सम्पर्क गरे। सम्पर्क गर्नुपर्नाको प्रसङ्ग कहिलेकाहीँ घट्ने घटनै रहेछ। विमानस्थलबाट निस्कँदा राधाको परिवारले आफ्नो सम्झेर लगेको लगेज अरू कसैको परेछ अर्थात् लगेज साटिएछ। फोन गर्ने जापानी अधिकारीले भनेछन्— “तपाईँले राधालाई चिन्नु हुन्छ, मेरो मित्रले भन्नुभयो उनी मेरो नातेदार हुन्। त्यसपछि विमानस्थलका अधिकारीले भन्नुभयो— तपाईँले टिकट खरिद गरिदिनुभएको राधाको परिवारसँग अरुको लगेज साटिएको रहेछ, तसर्थ उक्त लगेज तत्काल फिर्ता गर्नका लागि जानकारी गराई दिनु होला।” टिकट खरिद गर्दा सम्पर्क व्यक्तिका रूपमा मेरा मित्र विष्णुको नाम र नम्बर उल्लेख गरिएको हुँदा जापानी अधिकारीले सहजै सम्पर्क गर्न सकेको कुरामा कुनै द्विविधा रहेन।
मित्र विष्णुको समस्या समाधानमा म पनि जोडिएँ। मेरो मित्रले राधालाई जापानमा सम्पर्क स्थापित गर्न अनेक प्रयास गर्दा पनि तत्काल सफलता हात लागेन। राधाको परिवार निवासमा पुगिसकेपछि मात्र हामीसँग सम्पर्क हुन सक्यो। हामीले यसबीचमा जापानी अधिकारीसँग भएको कुरा बतायौं। त्यसपछि उनीहरूलाई लगेज साटिएको कुरा थाहा भयो अनि झस्याङ्ग भए। इमान्दारिताको प्रश्न थियो, सावधानीको सवाल थियो र भय थियो जापानी अध्यागमन कानुनको पनि।
राधाको परिवार साटिएको लगेज लिएर तत्कालै विमानस्थलतर्फ प्रस्थान गरे। जापान विनयशीलता, नम्रता, समयपालना, अनुशासन र सामूहिक भावनाका लागि विश्वमै कहलिएको देश हो। कठिन परिश्रम, काममा समर्पण एवम् गुणस्तरीयता, अग्रज र माथिल्लो दर्जाका अधिकारीप्रतिको सम्मानका लागि पनि उनीहरू चर्चित छन्। आप्रवासीहरूमा पनि यस्तो अनुशासन र कार्यसंस्कारको प्रभाव पर्नु स्वाभाविकै हो। राधाको परिवारले साटिएको लगेजसहित विमानस्थलका अधिकारीसमक्ष उपस्थित भई आफूबाट भएको भूलका लागि क्षमायाचना गरे। सम्बन्धित लगेजवाला व्यक्ति विमानस्थलबाट आफ्नो घरतर्फ गइसकेको हुनाले सो लगेज निज व्यक्तिको घरसम्म पुर्याइदिने दायित्व राधामा आइलाग्यो। जापानी अधिकारीले साटिएको सो लगेज सम्बन्धित व्यक्तिको घरसम्म पुर्याइदिनका लागि लाग्ने ढुवानी खर्चबारे जानकारी गराए। ढुवानी खर्च खुशीसाथ तिर्नुको विकल्प थिएन। प्रश्न त इमान्दारीको थियो। अझ डर त सम्भावित कानुनी झमेलाको थियो। ती अधिकारीले भविष्यमा पनि यसप्रकारका गल्ती गरिएमा थप जरिवाना लाग्न सक्ने भद्र जानकारी गराएपछि शान्तिको सास फेरेर राधाको परिवार त्यहाँबाट फर्किए।
जापानमा यात्रामा हुने व्यक्तिहरूले आफ्नो सामान स्वयंले पहिचान गरेर लैजाने प्रचलन रहेछ। यो अभ्यास त्यहाँका लागि अत्यन्त सामान्य कुरा हुने नै भयो। विमानस्थलका कर्मचारीको कल्पना र विश्वासभन्दा बाहिरको विषय रहेछ कसैले अर्काको लगेज बोकेर हिँड्न सक्छ भन्ने कुरा। कुनै व्यक्ति पहिलोपल्ट नै जापान प्रवेश गरेको भए तापनि यति कुरा त अवश्य हेक्का राख्नेछन् भन्ने मान्यता स्थापित भइसकेको देखियो। भूल त फेरि भूल नै हो। यसमा नियतको कुरा आउँछ। नियतवश गरेको कुरा भए कसुर हुनसक्ने थियो। भूलका बारेमा एउटा भनाइ प्रचलित छ— भूल हुन्छ। भूल स्वीकार गर्नुपर्छ। भूल दोहोर्याउनु हुँदैन र भूलबाट सिक्नुपर्दछ। हामी के गर्छौँ? यसको उत्तर हामीसँग नै छ। उत्तर फरक–फरक हुन सक्छ। स्वाभाविक हो। हाम्रो पृष्ठभूमि, शिक्षा र संस्कारका अनुयायी हौँ हामी।
त्यहाँ यो सब सम्भव हुनका लागि प्रविधिको शक्ति थियो। विमानस्थलका कर्मचारीमा तदारुकता, गम्भीरता र कार्यजिम्मेवारीप्रति उत्तरदायित्वको गहन बोध थियो। जापानी कार्यसंस्कारको सदियौँ लामो प्रभाव, नागरिकप्रतिको जवाफदेही र विमानस्थलजस्तो संवेदनशील स्थानका कर्मचारीको दक्षतापूर्ण भूमिका भएर नै सो लगेज दुई घण्टाभित्र विमानस्थलमा फर्किन सक्यो। तब न जापान। त्यस्तै–त्यस्तै समुन्नत नेपाल र हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलको हाम्रो सपना कहिलेसम्म साकार गर्नका लागि हामीले चाल्नु पर्ने कदमहरू यसतर्फ केन्द्रित बनाउन जरुरी देखिन्छ। यसर्थ सरकार र राष्ट्रप्रति जनताको सकारात्मक भावना जनाउन सबै कर्मचारी जिम्मेवार हुनुको विकल्प छैन।
हाल नेपालका सरकारी निकायबाट प्रदान गरिएको कतिपय सेवामा नागरिक अपेक्षित रूपमा सन्तुष्ट हुन नसकेको पृष्ठभूमिमा जिम्मेवार कर्मचारी नै उत्तरदायी सरकारको न्यूनतम शर्त रहेको कुरालाई यस घटनाले प्रतिविम्बित गरेको छ। हामी सरकारी सेवा प्रदायक निकायमा संलग्न सबैको कदम यसतर्फ अग्रसर हुन सकोस्। यसपालाको निजामती सेवा दिवस मनाउन लागेको पूर्वसन्ध्यामा हामी पनि हाम्रो सार्वजनिक प्रशासनलाई जापानको जस्तै बनाउने रुपरेखा कोरौं। कमसेकम यो कार्य हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलबाटै शुरु गरौं। नेपालको सार्वजनिक प्रशासनलाई चिनाउने हामी निजामती कर्मचारी नै भएकोले अब ढिला नगरौं। निजामती दिवस २०८२ को शुभकामना।







