काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर तालमा पानीको सतह निरन्तर बढेपछि हेटौँडा–कुलेखानी–काठमाडौँ सडक खण्डमा सवारी आवागमन रोक्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालयले आइतबार जारी गरेको विशेष सूचनाअनुसार आज दिउँसो ४ बजेदेखि बिहीबार बिहान ५ बजेसम्म भैंसे-देउराली-सिस्नेरी-काठमाडौँ तथा पालुङ-सिस्नेरी-देउराली-हेटौँडा सडक खण्डमा कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन नगर्न भनिएको छ।
कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर तालमा जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण पानीको सतह बढिरहेको प्रशासनले जनाएको छ। नेपाल विद्युत् प्राधिकरणले वर्षाको अवस्था विश्लेषण गरी साइरन बजाएर सुरक्षाका आवश्यक मापदण्ड पूरा गर्दै जुनसुकै समयमा तालको ढोका खोल्न सक्ने जानकारी गराएपछि यात्रु सुरक्षालाई ध्यानमा राख्दै यस्तो सूचना जारी गरिएको हो।
प्रशासनले अत्यावश्यक कामले काठमाडौँ जान वा हेटौँडा आउनुपर्ने यात्रुलाई तोकिएको समयभित्र उक्त मार्ग प्रयोग नगर्न तथा यसअघि जारी गरिएको त्रिभुवन राजपथको सवारी व्यवस्थापनसम्बन्धी सूचनाअनुसार यात्रा गर्न आग्रह गरेको छ।
सवारी चालक तथा यात्रुलाई यात्रा अघि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गर्ने आधिकारिक सूचना हेरेर मात्र सडकको अवस्था यकिन गरी यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।
तालमा पानीको सतह बढिरहेको र जुनसुकै समयमा ढोका खोल्न सक्ने अवस्था रहेकाले जोखिमयुक्त सडक खण्डमा सवारी आवागमन रोकिएको प्रशासनले जनाएको छ।







