काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध देशभर फैलिएको ‘जेन जेड’ आन्दोलनमाथि सरकारले गरेको दमनको घोर भर्त्सना गर्दै सरकारको तत्काल बर्खास्ती र ताजा जनादेशको माग गरेको छ।
पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा निहत्था युवामाथि गरिएको बर्बर कारबाहीलाई “आमहत्यासरहको आततायी कदम” भन्दै निषेध गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन्।”
रास्वपाले प्रधानमन्त्रीको तत्काल राजीनामा, घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन र गृहमन्त्रीसहित दोषीमाथि कडा कारबाहीको माग गरेको छ। साथै नेपाली काँग्रेस र नेकपा एमालेको वर्चस्वमा रहेको वर्तमान संसद् “वैधता गुमाइसकेको” भन्दै ताजा जनादेश (शीघ्र निर्वाचन) को माग गरिएको छ।
विज्ञप्तिमा आन्दोलनमा मारिएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न पनि सरकारलाई आग्रह गरिएको छ। रास्वपाले आगामी रोडम्याप तय गर्न सचिवालय बैठक जारी रहेको जनाएको छ।







