भोजपुर । जिल्लामा यस वर्ष धान खेतीको क्षेत्र घटेको छ । गत वर्ष बाह्र हजार १५४ हेक्टर क्षेत्रमा धान खेती भएकामा यस वर्ष ११ हजार पाँच सय हेक्टरमा मात्र धान खेती विस्तार भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।
यस वर्ष समयमा बर्सात नहुनु तथा गाउँघरमा बसाइँसराइको दर बढेको कारण धान खेतीको क्षेत्र घटेको कृषि ज्ञानका सूचना अधिकारी घनश्याम बरालले बताए । यो वर्ष भोजपुरमा करिब ९६ प्रतिशत मात्र रोपाइँ भएको उनले जानकारी दिए।
गत आर्थिक वर्ष भोजपुरमा ३७ हजार ७०० मेट्रिक टन धान उत्पादन भएको थियो । धान खेतीको विस्तारको क्षेत्र घटेकाले यस वर्ष उत्पादनमा पनि कमी आउने सम्भावना रहेको देखिएको छ । जिल्लाका सबै स्थानीय तहमा धान खेती हुने गरेको छ । यहाँका कतिपय बेँसी क्षेत्रमा दुई बाली धान उत्पादन हुने गर्दछ ।







