क्षमता, योग्यता र अबसरको बन्ध्याकरण बिरुद्ध जेन-जी आन्दोलन” नेपालसहित विश्वभर फैलिएको एक सशक्त हतियार हो, जसको मुख्य लक्ष्य ‘नेपो बेबी’ र ‘नेपो किड’ जस्ता नेपोटिज्मका अभ्यासहरूविरुद्ध आवाज उठाउनु हो। यो आन्दोलनले राजनीति, व्यवसाय, र कलाजस्ता क्षेत्रहरूमा परिवारवाद, नातावाद, र कृपावादका कारण हुने अन्यायपूर्ण अवसरको वितरणको विरोध गर्दछ। जेन-जी पुस्ता तत्काल नतिजा खोज्ने र विश्वव्यापी प्रतिस्पर्धामा रहेकोले परम्परागत राजनीतिक तथा प्रशासनिक नेतृत्वको असक्षमता र भ्रष्टाचारबाट निराश बनेको छ। हालै मात्र नेपालमा भएको जेन-जी आन्दोलनले नेतृत्वहीन भीडको रूप लिँदा अप्रिय घटनाहरू घटेकोमा हामी सबै मर्माहत छौं नै। तरपनि, शोकलाई शक्तिमा बदलेर रचनात्मक र सकारात्मक विरोधको संस्कृतिलाई निरन्तरता दिनु आजको आवश्यकता भएको छ। यसरी शुरु भएको यो आन्दोलन नेपालको शासकीय प्रणालीमा सुधार र पुस्तान्तरणको प्रस्थान बिन्दु बन्न सक्ने सम्भावना पनि रहेको छ।
नेपोटिजम र यसको विरोधको प्रस्थानबिन्दु
पछिल्लो समय बिछट्टै नौलो, अनौठो र आधुनिक तर सबैले प्रयोग गर्ने गरेको शब्द “जेन जि” ले सबै आमसर्वसाधारणको ध्यान मात्र खिचेको छैन, यो पुस्ताले नेपाल सहित विश्वभरी एउटा महत्वपूर्ण आन्दोलनको शुरुवात गरेर चर्चा पनि बटुलेको छ। त्यो हो, ‘नेपो बेबी’ र ‘नेपो किड’ आन्दोलन। राजनीतिज्ञ, व्यवसायी र कलाकारका सन्ततिहरूले आफ्ना अभिभावकहरूको ल्याकतको आधारमा राजनीति, व्यवसाय वा कलाकारिताको क्षेत्रमा पारिवारिक गठजोड, भनसुन वा दवाव प्रभावबाट बिना प्रतिस्पर्धा लाभ र अबसर प्राप्त गर्दा यसबाट खुला प्रतिस्पर्धा र योग्यता प्रणालीको बन्ध्याकरण भई क्षमताबान प्रतिस्पर्धीहरूले यस्तो लाभ र अबसरबाट बञ्चित एवम् बिस्थापित हुनुपरेको कारण सन् २०१० देखि अमेरिकाबाट ‘नेपो बेवी’ र ‘नेपो-किड’ बिरुद्धको अभियानको शुरुवात भएको हो। यस अभियानमा परिवारबाद भित्रका सदस्यहरूको अस्वभाविक उच्चस्तरको जिवनयापन, लवाईखवाई, आम्दानी, रहनसहन, अनपेक्षित स्रोतबापतको आम्दानी, अदृष्य लगानी, पेशा र व्यवसायको भण्डाफोर गर्ने, भ्रष्टाचार तथा अपराधबाट आर्जित अकुत सम्पत्तिको सार्वजनिकीकरणमार्फत सरकारलाई दबाव दिने र यस्ता परिवारबाद र नातावादबाट लाभ लिएका सदस्यहरूलाई बहिष्कार गर्ने सम्मका गतिबिधि गरिन्छ। यससँगै सरकार, यसका शासकीय पात्र र सहयोगीहरूको प्रत्यक्ष वा परोक्ष सहयोग, सरकारी कोष र शक्तिको दुरुपयोग गरी समाजलाई भड्काउने तत्वहरूलाई नियन्त्रण गर्ने भनि सांकेतिक आलोचनास्वरूप सार्बजनिक र सामयिक विरोध गरिन्छ।
नेपोटिजम र रेड टेपिजम
परिवारवाद, नातावाद, कृपावाद लगायतबाट सार्वजनिक क्षेत्रमा रेड टेपिजम समेत भनेर चिनिने नेपोटिजमको प्रयोग बेलायतबाट भएको देखिन्छ। यसमा विशेष गरी महत्वपूर्ण फाईललाई रातो रिवनले बाध्नु भन्ने आशय रहेपनि केहि व्यक्तिका स्वार्थ जोडिएका तर सार्वजनिक सरोकारको लागि अहित हुने फाईलमा समेत रातो रिवन लगाएर अधिकारको दुरूपयोग गरेबाट रेड-टेप र नेपोटिजमको अन्तरसम्वन्ध रहेको कुरा धेरै विश्लेणहरूबाट देखिन्छ। नेपोटिजम शब्द इटालियन शब्द “निपोट” अर्थात भतिजोबाट आयातित हो। इतिहास हेर्दा युरोपको पुनर्जागरणको समयमा इसाई धर्मगुरू अर्थात पोपहरूले आफ्नो सन्तान नहुँदा धार्मिक शासन सञ्चालनको बागडोर परिवारको सदस्यमार्फत चलाउने उद्देश्यले आफ्ना भतिजालाई आफ्नो उत्तराधिकारी चुन्ने कुप्रथाबाट “नेपोटिजम” भन्ने शब्दको प्रचलन विकास भएको पाइन्छ। पछि, यसलाई क्रमिक रूपमा राज्य सञ्चालनदेखि प्रतिस्पर्धा गर्नुपर्ने हरेक क्षेत्रमा दुरुपयोग गर्दै आएको देखिन्छ। नेपालको सन्दर्भमा राजनीतिज्ञ, व्यापारिक घराना, माथिल्लो पदमा पुगेका राष्ट्रसेवक लगायतमा यस्तो परिवारबादको गलत अभ्यासले ठाँउ पाएकोमा अहिले सामाजिक सञ्जालमा यो र यस्तो प्रवृत्तिको सामूहिक भण्डाफोर गर्ने प्रचलनको प्रारम्भ भएको छ।
पुस्तान्तर अर्थात जेनेरेसनको शुरुवात
पुस्तान्तरलाई मान्य भाषामा सबैभन्दा पहिले अमेरिकी लेखक टम ब्रुकोले सन् १९९८ मा आफ्नो किताब “द ग्रेटेष्ट जेनेरेसन” मार्फत प्रथम विश्वयुद्धताका अमेरिकीहरूले गरेको त्याग, समपर्ण र सामूहिकताको सम्मानको लागि यो पुस्तालाई सम्मानस्वरुप सर्बश्रेष्ठ पुस्ता भनि संवोधन गरेबाट यस्तो पुस्तान्तरको विकासक्रम भएको मानिन्छ। यसै गरी अष्ट्रेलियन लेखक। पुस्तान्तर करिब १५ देखि २० बर्षको औषतमा फरक परेको, प्रत्येक १५ देखि २० बर्षको फरकपिच्छे नयाँ पुस्ताको नयाँ सोच, आवश्यकता र चाहना रहने, विकासको गतिको परिवर्तन पनि यस्तै देखिएको र सुशासन तथा शासकीय व्यवस्थाका दृष्टिले अग्रणी मुलुकहरूले यसरी नै आफ्नो शासन व्यवस्थालाई परिवर्तन र परिमार्जन गर्दै सुदृढ प्रजातन्त्रको अभ्यास गरेको देखिन्छ।
सन् १९३० पछि सन् २००० सम्म सार्वजनिक प्रशासनमा व्यवस्थापनको बिकासक्रम हेर्दा समेत यस्तै परिवर्तन एनपिएम, एनपिजी, एनपिएस लगायत नेटवर्किङ्ग गभर्नेन्स र पछिल्लो समयको विद्युतीय शासनले समेत यस शासकीय शैलीमा पुस्तान्तरणको प्रमाण दिएको देखिन्छ। शासकीय दृष्टिले समेत धेरै देशहरूले आफ्नो शासन व्यवस्थामा पुस्तान्तर अबधिमा नै परिवर्तनलाई स्वीकार गरेका घटना नौला होइनन्। यसरी पुस्तान्तरको विकासक्रम हेर्दा विश्वका लागि सर्वश्रेष्ठ पुस्ता (जन्म १९०१-१९२७) देखि मौन पुस्ता (जन्म १९२८-१९४५), बेबी बुमर्स (जन्म १९४६-१९६४), जेनेरेसन एक्स (जन्म १९६५-१९८०), मिलेनियल वा जेनेरेसन वाई (जन्म १९८१-१९९६), जेनेरेसन जेड वा जेन जेड (जन्म १९९७-२०१२) सम्मको समय व्यतित भैसकेको तथा यस उप्रान्त ग्रिक भाषाका अक्षरहरूको प्रयोग गरी जेनेरेसन अल्फा (जन्म २०१३-२०२४), जेनेरेसन बिटा (जन्म २०२५-२०३९) हुँदै चौबिसौं अक्षरको जेन ओमेगा पुग्ने गरी यसको बर्णानुक्रम समेत शुरु भईसकेको छ।
नेपोटिजम र यस बिरुद्धको अभियान
जेन जिहरूको आन्दोलन कै कारण ट्युनिसिया, लिबिया, इजिप्ट र यमनमा शासन सत्ता नै ढलेको छ भने भर्खरै मात्र थाइल्याण्डकी निवर्तमान प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्रालाई यही अगष्ट, सन् २०२५ मा नैतिकता तथा राष्ट्रिय स्वार्थको संकटको कारण सर्वोच्च अदालतले पदच्युत गरेको छ। प्रधानमन्त्रीजस्तो कार्यकारी प्रमुख पदले अर्को देशका नेतालाई “अंकल” भनि संवोधन गर्नु नै उनको पद गुम्नुको कारण त बन्यो, तर नेपोटिजमकै कारण उनले प्रधानमन्त्री जस्तो पद पाएको समेत आरोप लागेको छ। त्यसैगरी बंगलादेशमा समेत पारिवारिक पृष्ठभूमिको सक्रिय राजनीतिको कारण तत्कालीन प्रधानमन्त्री शेख हसिना बेगमले देश नै छोडेर भारत भागेको सर्वबिदितै छ। सरकारी सेवामा समावेशीकरण अन्तर्गतको कोटा प्रणाली बारे सरकारले गरेको व्यवस्था बिरुद्ध सन् २०२४ को अगष्टदेखि निर्णायक आन्दोलन थालनी भएको थियो भने यसले शासन सत्तालाई नै परिवर्तन गर्यो।
परिबारवादको छाँयाका उदाहरणहरू
भारतमा नेहरू र गान्धी परिवार, पाकिस्तानमा भुट्टो परिवार, नेपालमा राणा शासन र थर बिशेषको हैकम, उत्तर कोरियाको बंशवादी तानाशाही, श्रीलंकामा राजापाक्षे परिवारको शासन अवधि, फिलिपिन्समा मार्कोस परिवार, इण्डोनेसियाको सुहार्तो परिवार, केन्याको ओडिंगा र गाबोनको बोंगो शासन लगायत नेपोटिजमका उदाहरणहरू हुन्। यिनीहरूको शासन व्यवस्था उत्तराधिकार, निरंकुश शक्तिको प्रयोग र व्यक्ति पूजामा सीमित हुन्छ तर जनताले विरोध वा आलोचना निषेध हुन्छ। भारतमा सार्वजनिक प्रशासन, फिल्मी उद्योग, साहित्य, राजनीति लगायतका धेरै क्षेत्रमा नेपोटिजमको अभ्यास शताब्दियौं देखि भएको भएपनि पछिल्लो समय यस्तो प्रवृत्तिको चर्को विरोध गर्ने परम्पराको थालनी भएको छ। तथापि, यस्तो विरोध गर्ने पत्रकार, राजनीतिज्ञ, कलाकार, परिचालक देखि अन्य व्यक्तिहरूको आबाज दवाउने मात्र नभई हत्या समेत भएका प्रसस्त घटनाहरू छन्। उसो त यस्तो काम गर्दा उल्टै राज्यकोषबाट व्ययभार बहन गर्ने गरी नेपो किड, नेपो बेबी लगायत उनीहरूको व्यक्तिगत सम्पत्तिको सुरक्षाको समेत प्रवन्ध गरेको देखिन्छ।
नेपालमा जेन-जी आन्दोलनः सार्वजनिक विनिर्माणको प्रस्थानबिन्दु
प्रजातन्त्रको आन्दोलन, सार्वजनिक प्रशासन सुधारको आन्दोलन, सत्ता परिवर्तन र नेपालमा विकास व्यवस्थापनलाई हेर्दा केहि परिवर्तन नऐको त होइन, तर अपेक्षित सुधार हुँन नसक्दा चरम निरासाको बादल मडारिएको यथार्थ छ। नेपालमा प्रजातन्त्र लगायतका तन्त्रहरूको नाममा एउटै हातमा गन्न सकिने सीमित व्यक्तिहरूकै वरिपरी बिगत पैतिस बर्षदेखि शासन सत्ता घुमिरहेको छ। राजनीतिक र प्रशासनिक नेतृत्वले परिवर्तन नचाहने, परिवारबाद प्रतिको मोह, लाभ र अबसरको असमान वितरण, केहि गर्न खोज्नेलाई दवाउने, छेक्ने र थुन्ने संस्कार, सेवा प्रवाहमा अनेकन झण्झट, असुविधा र भ्रष्टाचारको बढ्दो ग्राफले गर्दा पछिल्लो पुस्ता आजित छ। जेन-जी आफैमा तुरुन्तै नतिजा खोज्दछ, वैश्विक प्रतिस्पर्धापनि त्यस्तै छ, तर हाम्रो व्यवस्था र अबस्थामा परिवर्तन हुन नसक्दा निरासाले नेपो किड र नेपो बेबीलाई निसाना बनाइरहेको अवस्था विद्यमान छ।
पछिल्लो समय नेपालमा पनि जेन-जी आन्दोलनको अलोकप्रिय शुरुवात भएको छ। संसार भरि भैरहेको नेपो बेबी र नेपो-किड आन्दोलन जस्तै नेपालमा पनि सेवा प्रवाहमा सुधार र भ्रष्टाचार नियन्त्रणमार्फत नेपोटिजमको अन्त्य गर्ने उद्देश्य राख्दै भ्रष्टाचारको भण्डाफोर गर्ने, बिरोध जनाउने र नेतृत्वलाई सतर्क बनाउने उद्देश्यले नेपो-किड र नेपो-बेबी मुभमेण्ट शुरु भएको छ। पछिल्लो समय नेपाल सरकारले सामाजिक सञ्जालहरूलाई दर्ता र नियमनको प्रक्रियामा ल्याउने भनि बन्द गरेसँगै केही सामाजिक सञ्जालबाट जोडिंदै जेन-जीहरूको आन्दोलनको शुरुवात भयो। तर नेतृत्वविहीन आन्दोलनले भाद्र २३ गतेको दिनमा मात्रै धेरै नेपाली जेन-जीहरूको अनाहकमा ज्यान लियो भने सयौं घाइते भए।
यसमा विशेष गरी जेन-जीहरूको नाममा उच्श्रृंखल तत्वहरूको घुसपैठ, नेतृत्वविहीनता, केहि खराब व्यक्तिहरूको उक्साहट र अराजकता प्रमुख कारण होला भन्ने प्रारम्भिक अनुमान गर्न सकिन्छ। भीड र हुलमा जे जति फरक हुन्छ, आन्दोलनपनि बहुरूपी हुन्छ। भीडले अराजकता, आवेग र हिंसाको संभावना बोकेको हुन्छ, यसमा नेतृत्वको अभाव हुन्छ। हुल कुनै उद्देश्य केन्द्रित पनि हुन सक्छ र यसमा निश्चित जवाफदेहिताको सीमा हुन पनि सक्छ। जेन-जीको आन्दोलनले भ्रष्टाचारको विरोध र सामाजिक सञ्जालको नियन्त्रणको विरोध गर्ने भनिए पनि भीडतन्त्रको गलत निसानामा परेर उत्तेजित हुँदा चाडपर्वको मुखैमा धेरै नेपाली आमावुवाहरूको काख रित्तो भएको छ भने सरकार, शासकीय शैली र शासकहरू प्रतिको नैरास्यता व्यक्त गर्ने भनिएको शान्तिपूर्ण बिरोध आन्दोलनको लागि भाद्र २३ गते बिर्सिन नसकिने एक कालो दिन बनेको छ।
जेन-जीबाट जेन अल्फाको पुस्तान्तरण र हामी सबैको दायित्व
परिवर्तन र पुस्तान्तरणको लागि हिजो आजको आन्दोलन जेन-जीको भएपनि अनाहकमा मारिएकाहरू प्रतिको सहानुभूतिकै कारणपनि अबको दिनमा नेपालको जेन-जी आन्दोलनले नयाँ उचाई लिने कुरा सोझै पुर्वानुमान गर्न सकिन्छ। यसमा राजनीतिज्ञ, प्रशासक, कलाकार, बौद्धिक र विद्वत बर्गका साथै आमसर्वसाधारण र विद्यार्थीहरूको समर्थन र सहभागिताले जेन-जीहरूको लडाईमा ऐक्यबद्धता देखिनुले यो बृहत आन्दोलनले देशको शासकीय व्यवस्था सुधारका लागि शासक र नेतृत्व सुध्रिनुको बिकल्प छैन। यति हुँदै गर्दा शक्ति र सत्ताको वरिपरी घुमिरहनेहरूले बेलैमा होस पुर्याएर नयाँ पुस्तालाई आफ्नो जिम्मेवारी हस्तान्तरण गरी उदाहरण प्रस्तुत गर्नुपर्दछ। राष्ट्रसेवकहरूलाई उमेर हदका कारण बिदा दिने व्यवस्था हुने तर यसको पनि अभिभावक राजनीतिको उमेर हद नचाहिने भन्ने हुँदै हुँदैन।
बेबी बुमर्स र जेन एक्सले जेन-जी र जेन अल्फामाथि धावा बोल्ने र शासन लाद्ने काम कदापी राम्रो होइन। जेन-जी सडक संघर्षमा आउने वातावरण बनाउनुनै हुँदैनथ्यो। गलत त भै नै सक्यो। आन्दोलन छेडिसकेको छ। यति हुँदा हुँदैपनि आन्दोलनले भीडको स्वरुप लिंदै जाँदा अनाहकमा सर्वसाधारणको ज्यान मात्र जाने नभई सार्वजनिक सम्पत्तिको समेत हानीनोक्सानी हुने नै हुँदा जेन-जीलगायत हामी सबैले यो विषय गहिरोसँग मनन् गर्न जरूरी छ कि भीडतन्त्रले हामी सिद्धिन्छौं, रित्तिन्छौं, कहि पुग्दैनौं। पुस्तान्तरणको आवाज गुनगुनाउने नाममा धमिलो पानीमा माछा मार्न सिपालुहरूको प्रवृत्तिकै कारण भोलीका दिनमा जेन-जीप्रति अराजकताको भद्दा दोष नथुप्रियोस भन्ने कुरा हामी सबैले मनन् गर्न जरुरी छ। यहि वरिपरीको समयमा शोकलाई शक्तिमा बदलेर जेन-जी लगायत सरोकारवाला सबै जना संवेदनशील भई सार्थक, सकारात्मक र रचनात्मक विरोध गर्ने संस्कृति जारी नै राख्न सकेको खण्डमा भने हेर्दै जानुहोला, यो समय नेपालको सार्वजनिक क्षेत्रमा पुस्तान्तरण र विनिर्माणको प्रस्थान बिन्दु हुनेवाला छ। साथै यसबाट आगामी दिनमा जेन अल्फा लगायत अरूले समेत परिस्कृत र सुढृढ शासन व्यवस्थाको अनुभूति गर्ने पुस्तान्तरित अबसर प्राप्त गर्नेछन्। मृतात्माहरू प्रति भावविव्होल हुँदै शोकसन्तप्त परिवार प्रति हार्दिक समवेदना !







