काठमाडौँ । नेपाली काँग्रेसले वर्तमान परिस्थितिको निकासका लागि जे कदम चाल्ने हो त्यसलाई संविधानले चिन्ने गरी चाल्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेको छ ।
यस्तो सन्देश राष्ट्रपतिलाई दिइएको काँग्रेसका एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार प्रतिनिधि सभाभित्रकै कोही सदस्य प्रधानमन्त्री भएर अगाडि जान सक्ने परिस्थिति बने त्यसअनुसार अगाडि बढ्न सकिने सुझाएको छ ।
उनका अनुसार संसद् बाहिरका व्यक्तिलाई प्रधानमन्त्री बनाउने हो भने संविधानले चिन्ने बनाउन सकिन्छ ।
संविधानमा नै संसद्ले प्रधानमन्त्री बनाउन नसकेको वा नसक्ने परिस्थितिमा निश्चित उद्देश्यका लागि संसद् बाहिरका व्यक्तिलाई प्रधानमन्त्री बनाउन सकिने गरी संविधान संशोधनको प्रस्ताव राखेपछि त्यसलाई अहिलेको परिस्थितिमा सबै राजनीतिक दलले समर्थन गर्ने काँग्रेसको विश्वास छ ।
राष्ट्रपतिलाई यस्तो सन्देश पठाउनु अगाडि काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्धय गगन थापा, विश्वप्रकाश शर्मा लगायतका पदाधिकारी छलफलमा जुटेका थिए ।
काँग्रेसका शीर्ष नेताहरूको निष्कर्ष समेतका आधारमा महामन्त्रीद्धय थापा र शर्माले संयुक्त विज्ञप्ति निकालेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले पनि देशलाई संवैधानिक दायराबाटै निकास दिन सकिने विश्वास व्यक्त गरेका छन् ।
वक्तव्य निकालेर उनले संवैधानिक दायरामा रहेर शान्ति र सुव्यवस्थाका लागि विमर्श गरिरहेको राष्ट्रपति पौडेलले बताएका छन् ।







