स्वाभाविक थियो, राति निद्रा राम्रोसँग लागेन। बिहान ४ बजे उठ्ने दिनचर्या प्राप्त गर्न हम्मे-हम्मे पर्यो। सुस्त–सुस्त स्यूचाटारको उकालो, बौद्धगुम्बा हुँदै स्वीजरल्याण्ड पार्कतिर उक्लिँदै गर्दा उज्यालो राम्रैसँग भइसकेको थियो। सधैंजस्तो बिहानै हिँड्ने मानिसहरू थिएनन्। सधैं रमझम हुने बाटोमा एक किसिमको सन्नाटा जस्तो थियो। यदाकदा भेटिएका मानिसहरू म जस्तो एक्लै थिएनन्, सँगै भएकाले गफगाफमा व्यस्त थिए।
विषयवस्तु समसामयिक र अनुमान गरिने नै थियो-१९ जना विद्यार्थी मरेको, सिंहदरबार, सर्वोच्च अदालत, नेताका घर जलेको, कैदी भागेको आदि। गफगाफको क्रममा अब नेताहरू थुनिन्छन्, सम्पत्ति राष्ट्रियकरण हुन्छ भन्थे। उनीहरूको विश्वास नेपाली सेनामा थियो। मानौं अब सबै सेनाले ठीक गर्छ। सेनाले ठीक गर्छ भन्ने उनीहरूको विश्वासले मलाई कताकता आनन्द दिएको जस्तो अनुभव हुन्थ्यो। तर कसरी ठीक गर्छ? अब के हुन्छ? यो अवस्थाको वैठान कसरी हुन्छ? त्यसबारे भने चर्चा हुन्थेन।
अलि थकाइ लागेजस्तो भयो। मोबाइल हेर्दा सात किलोमिटर बाटो पार गरिसकिएको रहेछ। मूल बाटोबाट विचलित भएर जंगल हुँदै पहाडको टुप्पोमा रहेको विद्यावासिनी मन्दिरमा पुगेँ। त्यहाँको प्रहरी चौकीमा कोही रहेनछन्। प्रहरी बस्ने अस्थायी टहरो आन्दोलनको क्रममा भत्किएको सहजै अनुमान भयो। सधैं चहलपहल हुने त्यो प्रकृतिको समीपमा रहेको मन्दिरमा न प्रहरी, न भक्तजन-म एकमात्र मनुवा उपस्थित थिएँ।
एकान्तको उपयोग गरी सामान्य योग (प्राणायाम) गरेँ। विरक्त मन कत्ति पनि शान्त भएन। निकै एकान्त भएको र चराचुरुङ्गी तथा झ्याङ्कुरीहरूको आवाजका बीच आँखा चिम्लेर ध्यान गरेँ। धेरैजसो मनमा उद्भ्रम पैदा हुँदा, एकान्तमा ध्यान गर्दा एक प्रकारको आनन्द आउँथ्यो, मनमा एउटा निष्कर्ष निस्किन्थ्यो र उद्भ्रम चिर्न्थ्यो। मुलुकको यो अवस्था कसरी अघि बढ्ला र बढ्नु पर्छ भन्ने कुरा मस्तिष्कमा लिएर ध्यान एकत्रित गर्ने प्रयास गरेँ। तर विषयवस्तु मूलप्रवाहमा आउन सकेन। विभिन्न विकल्पहरू मनमा उत्पन्न भए पनि भएन। बरु डर लाग्न थाल्यो-त्यस्तो एकान्त जंगलको बीचमा म एक्लै किन? प्रहरी समेत त्यहाँबाट भागिसकेका छन्।
करीब ७०० सिँढी ओर्लेर मूल बाटो समाएँ। मर्निङ वाक गर्ने दुई समूह अगाडि-पछाडि गरेर आउँदै थिए, म बीचमा परेँ। पूर्व उपराष्ट्रपतिको कालुपाडे समाधिस्थल नजिकै बनेको गगनचुम्बी घर देखाउँदै भने, “हिजो जलाइ दिएछन्, अब खण्डहर संरचना मात्रै छ।” फेरि सम्हालिन लागेको मनमा खिन्नता उत्पन्न भयो।
अर्को एकजनाले चिन्ता र सकसका साथ लामो सास फेरेर भने, “सिंहदरबारको जागिर हो, अब के हुने हो? के बाँकी रह्यो होला र अझै आगो बलिरहेको छ।” उनको करारको जागिर रहेछ, उनलाई जागिरको ठूलो चिन्ता रहेछ। “उनी जस्तो जागिरको पीर त छैन नि” भनेर विरक्तिएको मनलाई सम्हाल्ने प्रयास गरेँ।
अगाडि-पछाडिका दुवै थरी कुरामा नेताहरू प्रति कटाक्ष थियो। बारम्बार भनिरहेका थिए-ती कलिला बालबालिकालाई किन मारेको आदि। कसैले “अब के होला” भन्थे, कसैले “अब नेतालाई जेल हाल्यो भने केही होला, नत्र केही हुँदैन” भन्थे। यसैसको यसरी सरकार बन्छ, त्यसपछि यसो हुन्छ भनेर कसैले केही भन्छ कि भनेर ध्यानपूर्वक सुनेँ, तर त्यो विषय कसैले पनि चर्चामा ल्याएन।
म बिचैमा रोकिएर डेटा अन गरें। सामाजिक सञ्जाल खोलेर नागरिक समाजका अगुवा र भद्र बुद्धिजीवीले केही भनेका होलान् भनेर हेरेँ। तर कसैको केही भेटिन। मैले बारम्बार सुन्ने र हेर्ने गरेका मान्यवरका व्यक्तिगत सञ्चारमाध्यममा अबको दिशाबारे केही सुझाएका छन् कि भनेर हेरेँ, थिएन। प्रमुख अनलाइन न्युजमा सिकेलाल, सुन्दरमणि दीक्षित, खगेन्द्र संग्रौला, लोकराज बराल, कृष्ण खनाल, केदारभक्त माथेमा, डा. गोविन्द केसी लगायतको विचार पढ्ने अपेक्षा पूरा भएन। पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको अभिव्यक्ति भेटियो तर त्यो मेरो अपेक्षासँग मेल खाने रहेन।
घर नजिक पुग्दा नागार्जुन नगरपालिकाको १० नं. वडा कार्यालय एउटा समूहले धमाधम तोडफोड गर्दै रहेछ। बाटो बदलेर अर्को बाटो लाग्नुपर्ने भयो। अलि पर पुगेको एक जना परिचित भेटिनुभयो। म गफ गर्ने मुडमा थिइनँ। एक पटक बोलाउँदा नसुनेको जस्तो गरेर हिँडिरहेँ, फेरि बोलाएर रोक्नुभयो। हतास मुद्रामा भन्नुभयो, “हजुरहरूकोमा त त्यस्तो भएन होला, हाम्रोतिर त हामी रातभरि सुत्न पाएका छैनौं। हिजो भद्रगोल जेलबाट छुटेको एउटा कैदीको परिवार हाम्रो टोलमा बस्ने रहेछ। राति आउनासाथ श्रीमतीलाई पिटेछ, कोलाहल मच्चियो। श्रीमती र बच्चाबच्ची भागेछन्, कुन्नि कता गए। त्यो मानिस पछि चौबाटोमा आएर हल्ला गर्न थाल्यो।
सरकार त ढालियो, फलानालाई लखेटियो। अब फलानो दाई हाम्रो नेता हो। घरि उनी नभएको भए हामी छुट्न पाइने थिएन, अबको प्रधानमन्त्री त्यही हो भन्छ। घरि उसैलाई गाली गर्छ। टोलमा जम्मा भएर केही सल्लाह पनि गरियो, सहनुको विकल्प भएन। सुरक्षा निकायले पनि आफ्नै समस्या बताए। अब त जे गरे पनि हुने भयो। कसैको कोही नकोही शत्रु हुन्छ। एउटा निहुँ निकालेर हाम्रा घर तोडफोड र लुटपाट गरे पनि हुने भयो” भन्नुभयो।
उहाँ निकै हतास देखिनुभयो। सान्त्वना दिन सोचें, दिमागमा केही आएन। उही कुरा-“अब के होला?”-पुनरावृत्त भइरहेछ। “सधैं यस्तो नहोला सर, कसलाई के भन्ने-समय बलवान रहेछ। धैर्य गरौं” भनेर उम्किन खोजें।
बाल्यकालमा परको आकाशसँग जोडिएको देखिने पहाडको क्षितिजपारि के होला भन्ने जिज्ञासा जस्तै, अहिले पनि मनमा-“अब के होला र अब के हुनु पर्छ”-भन्ने विषय खेलिरहेछ। सामाजिक सञ्जालमा केही साथीहरूले “यसरी हुनु पर्छ” भनेका छन्। तर कसरी र कुन प्रक्रियाबाट वैठान हुने हो भन्ने भरपर्दो विकल्प भेटिएको छैन।
नियमित प्रक्रिया हुन्थ्यो भने, प्रधानमन्त्रीको राजीनामा भए लगत्तै राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्ने हुन्थ्यो। तर त्यो अवस्था देखिँदैन। सांसदबाहेकका व्यक्ति प्रधानमन्त्री बन्ने कुरा संविधान मिल्दैन भनिन्छ।
यी जेन–जेडका सदस्यहरू डिजिटल दुनियामा जन्मेका भएकाले प्रविधिमा उनीहरूको पहुँच र ज्ञान अतुलनीय छ। उनीहरूको दिमागमा कपट हुँदैन, शुद्ध मनले राष्ट्रको हितमा उम्लिएका छन्। नयाँ विचार र सोचमा आफूलाई छिटो ढाल्न सक्ने क्षमता उनीहरूमा छ। उनीहरू सामाजिक सञ्जाल र प्रविधिले देखाउने आदर्श व्यक्ति, समाज र देशको कल्पनामा डुबिरहेका हुन्छन्।
तर हरेक कुरामा प्रविधिमा निर्भर हुँदा, मानवीय चुनौती र राष्ट्रिय विशिष्टीकृत चुनौती प्रविधिले बताउन नसक्ने हुँदा, उनीहरूको सिर्जनशील दिमागलाई अरूले सहयोग गर्नु पर्ने हुन्छ। प्रौढका खारिएका जीवन जगतका भोगाइका खुराक उनीहरूलाई अब्बल बनाउन सक्छ। तर…
डिजिटल माध्यममा अभ्यस्त भएकाले उनीहरूलाई प्रत्यक्ष कुराकानी, सार्वजनिक बोलाइ र सम्बन्ध बनाउनमा पनि केही कठिनाइ हुन सक्छ। उनीहरूले डिस्कॉर्ड लगायत सामाजिक सञ्जालमा गरेको कुराकानी सुन्ने अवसर मिलिरहेको छ। त्यस्ता छलफल सुन्दा निकै आनन्द लाग्दो रहेछ।
“पछि झन् समस्या बल्झिन्छ, अहिले नै संसद् विघटन गर्नु पर्छ। हामीले बुढा नेताले देश डुबाए भन्यौं, त्योभन्दा ठूलो अपराध त अहिले भएछ। देशको सम्पत्ति बरबाद भयो। देशका सबै कैदी छुटे, बरबाद भयो। फलानो छुटेको ठीकै हो, होइन अदालतको निर्णयलाई नस्वीकार्ने हो भने सबै सकिन्छ। वेठीक हो” जस्ता कुराकानी उनीहरूका छलफलका क्रममा सुन्दा अचम्म लाग्यो।
हामी त्यो उमेरमा त्यस्ता कुरा गर्नु त के कुरा, कल्पना पनि गर्न सक्दैनथ्यौं। सूचना र जानकारीको कमीले उनीहरूमा धेरै कुरामा अलमल भएको सहजै अनुमान हुन्थ्यो। तर अचम्मैको जिम्मेवारी लिने र सिकाइ गर्ने प्रवृत्ति उनीहरूमा पाइन्छ। एक जनाले कुरा गर्दै गर्दा गुगल सर्च गरेरै धारणा बनाइहाल्दा रहेछन्। उनीहरूमा सबै कुरामा हाम्रो परिपक्वता पुग्दैन भन्ने अन्तरभूत पनि रहेछ।
यस्ता विषयमा मुलुकका प्रबुद्ध वर्ग किन मौन रहेको होला भन्ने मेरो मनमा गुनासो उत्पन्न भइसकेको छ। जेन जेडलाई सहयोग गर्ने तर्कपूर्ण सामग्री भेटिँदैन। मुलुकका प्रबुद्ध नागरिकहरूको विचार बाहिर आएको भए, अवश्य उनीहरूलाई सहयोग हुने थियो। ढिलो नगरी तटस्थ विचार राखिरहेका प्रबुद्ध वर्गको विचार चाँडै सार्वजनिक भए, हाम्रो जेन जेड पुस्तालाई सहयोग पुग्ने थियो। विमर्श उपलब्धिमूलक भए, सहयोग अवश्य हुने थियो।







