काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेन जेड आन्दोलनका क्रममा विभिन्न कार्यालयबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ ।
काठमाडौँ केन्द्रीय कार्यालयले आइतबार सूचनामार्फत इटहरी, हेटौँडा, पोखरा, बुटवललगायत कार्यालयमा तोडफोड र आगजनी गरेर लुटपाट भएका उपकरणहरू फिर्ता गर्न आग्रह गरेको हो ।
अख्तियारका अनुसार यी कार्यालयहरूबाट तोडफोड, आगजनी, चोरी र लुटपाट भएको छ । यस क्रममा चार पाङ्ग्रे र दुई पाङ्ग्रे गाडी, टिभी, कम्प्युटर, माइक्रो ओभन, विभिन्न साइजका हार्ड डिस्क, स्क्यानर, क्यामरा, आइप्याड, मोबाइल, ल्यापटप, हिटर, पङ्खालगायत उपकरणहरू चोरी भएको आयोगले जनाएको छ ।
कसैले सामान फेला पारेमा काठमाडौँको हकमा प्रहरी वृत्त मालिगाउँ र अरू ठाउँको हकमा सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूमा बुझाउन भनिएको छ ।
चोरी र लुटपाटमा संलग्नमाथि सीसीटीभी फुटेजमार्फत पहिचान गर्ने काम भइरहेको आयोगले जनाएको छ ।
भदौ २३ गतेको आन्दोलनमा प्रहरीको गोली लागेर काठमाडौँसहित विभिन्न जिल्लामा २१ जनाको मृत्यु भएसँगै आन्दोलन थप उग्र बन्दै गएको र भोलिपल्ट २४ गते देशभर तोडफोड तथा आगजनी भएका थिए। जसका कारण ठूलो जनधनको क्षति भएको छ ।
हाल आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।








