भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले समाजवादले मात्र मुलुकको विकाससँगै जनताको हित हुने धारणा राखेका छन् ।
ख्वप: कलेज, ख्वप: मावि र ख्वप: कलेज अफ लले आज आयोजना गरेको संविधानबारे अन्तर संवाद कार्यक्रममा उनले मुलुकको समग्र विकास र जनताको हितलाई प्राथमिकतामा राखेर सबैले समाजवादको मार्ग अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
“पैसा बाँडेर समाजवाद आउँदैन, क्रान्ति पनि आउँदैन”, अध्यक्ष बिजुक्छेँले भने, “कम्युनिष्ट दलहरूले समाज परिवर्तन गर्न नसक्नु कमजोरी हो ।” कसैले ‘शान्तिपूर्ण प्रदर्शन गर्छौँ’ भनेमा नेपालको सेना, प्रहरी, अनुसन्धान विभागलगायत निकायले आवश्यक अनुसन्धान गरी सरकारलाई सूचना उपलब्ध गराएर सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए ।
बिजुक्छेँले गत भदौ २३ र २४ को जेन जेडद्वारा गरिएको प्रदर्शनमा करिब एक लाख मानिस काठमाडौँ आएका बताउँदै ती को र कहाँबाट आएका थिए? भनी प्रश्न गरे । प्रदर्शनमा घुसपैठ भएको भए सोका बारेमा आवश्यक अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्नुपर्ने उनको माग छ । बिजुक्छेँले देशमा भ्रष्टाचार अत्यधिक बढेको अवस्थामा जनआक्रोश बढेको धारणा राखे ।







