भक्तपुर । मोहनी नख:को आज आठौँ दिन नेवार समुदायले विधिवत् रूपमा दसैँको मासु भित्र्याएर ‘कुछीभ्वय’ खाई महाअष्टमी पर्व मनाउँदै छन् ।
बडादसैँलाई महनी नखा:का रूपमा मनाउने नेवार समुदायले महाअष्टमीको साँझ कुछीभ्वय खाएर पर्व मनाइन्छ । विशेष गरेर अष्टमीलाई कुछिभ्वय, नवमीलाई स्याक्वट्याक्व नखा: र दशमीलाई चाँलका रूपमा भवानीको प्रसाद ग्रहण र टीकासँगै नेवार समुदायले मोहनी नखा:मनाइन्छ ।
आश्विन शुक्ल प्रतिपदाको दिन नला: स्वनेगु अर्थात् जमरा राखेर नेवार समुदायले मोहनी नखा:को सुरुआत गर्दछन् भने अष्टमीको दिन कुछिभ्वय खाँदै मोहनी नखा:को भोजको सुरुआत गर्दछन् । कुछिभ्वय खाएदेखि दशमीको दिन बिहान भवानीको प्रसाद ग्रहण नगरेसम्म भात खान नहुने प्रचलन रहेको छ ।
वर्ष भरी मनाइने चाडपर्वमध्ये मोहनी नखा: सबैभन्दा महत्त्वपूर्ण र ठूलो चाड हो । मोहनी नखा: मनाउन घर परिवारदेखि टाढा परदेशमा नोकरी गर्ने, व्यापार व्यवसाय गर्नेहरू घर आउने गर्दछ । त्यसै गरी छुटिएर भिन्न बसेका दाजुभाइहरू एउटै घरमा घरका ज्येष्ठ सदस्य भएको घरमा जम्मा भई मोहनी नखा: मनाउने गर्दछ ।
विभिन्न चाडपर्वलाई विशेष र मौलिक परम्पराका साथ मनाउन सिपालु नेवार समुदायमा अष्टमीको खाने कुछीभ्वयको विशेष महत्त्व रहेको छ । यसको परिकारसमेत अन्य भोजकोभन्दा भिन्न प्रकारको हुन्छ ।
कुछीभ्वय खान तरकारीका परिकार मात्रै १२ थरी चाहिन्छ भने छोयला १२ टुक्रा राखिन्छ । केराको पातमा दुई माना चिउरासँगै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपीच्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना), अदुवा, बोडी, केराऊ, मस्याङ, घिराँैला, भटमासलगायत परिकार राखेर कुछीभ्वय खाने प्रचलन रहेको संस्कृतिकर्मी हरिशरण राजोपाध्यले बताउनुभयो । कुछीभ्वय्मा फलफूलमा अम्बा र केरा अनिवार्य मानिन्छ ।
कुछिभ्वय खाने बेलामा माटोको सानो घैँटोमा जाँड अथवा रक्सी राखेर ‘थापिँदा स्वनेगु’ गर्ने प्रचलन रहेको राजोपाध्यले बताउनुभयो । थापिँदा स्वने बेला माटोको सानो घैँटोलाई सलिँचाले घैँटोलाई छोप्ने र त्यसमाथि केराको पातमा राँगोको मासु एक टुक्रा राख्ने प्रचलन रहेको राजोपाध्यले बताए।
यसरी थापिँदा स्वनेगु गर्दा राखेको जाँड र मासु नवमीको दिन प्रसादका रूपमा खाइन्छ । यो प्रसाद खाँदा पेटसम्बन्धी विकार हट्ने धार्मिक विश्वास रहेको छ ।
आफन्तको मृत्यु भएर जुठो परे पनि कुछीभ्वय खानुपर्ने मान्यता केही नेवार समुदायमा रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराऊको बारा राख्ने प्रचलन रहेको छ ।
नेवार समसदायमा कुछिभ्वयका सन्दर्भमा दुई वटा भनाइ प्रचलनमा रहेको छ । एक थरी भनाइअनुसार कुछिको अर्थ ‘दुई माना’ हो भने भ्वयको अर्थ ‘भोज’ हो । दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम ‘कुछी भ्वय्’ रहन गएको एकथरीको भनाइ छ भने अर्को थरी संस्कृतिकर्मीले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकोले यसको नाम कुलछी भ्वय् हुन गएको र पछि अपभ्रंश भएर कुछीभ्वय हुन गएको भनाइ छ ।
महाअष्टीको अवसर पारेर नेवार समुदायले घरघरमा दसैँको मासु भित्र्याएका छन् । नेवार समुदायमा गुठी, टोल छिमेक मिलेर संयुक्त रूपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलनअनुसार आज दसैँको मासु भित्र्याएको हो ।
मासु भित्र्याउँदा घरको मूल ढोका अगाडि राखेर चोखो पानी छरेर तीन पटक दायाँबायाँ ढुटो, मासुको टुक्रा र रगत र्छकेर मन्छाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ । यो परम्परा घरको नकींबाट गर्ने चलन रहेको छ ।







