काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री मदन परियारले सरकारले उखु किसानलाई प्रोत्साहन रकम ७५ रुपैयाँ दिने भनेर ७० रुपैयाँ दिने गरिएको पाइएको बताएका छन् ।
मन्त्रालयमा बुधबार भएको पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । किसानलाई प्रतिक्विन्टल ७५ रुपैयाँ अनुदान दिनुपर्ने ७० रुपैयाँ दिएको बताउँदै गतवर्ष त्यसमा पनि आधा कटौती गरेको उनले बताए ।
के कारणले किसानको रकम कटौती भएको भन्ने बारेमा आफूलाई थाहा नभएको उनको भनाइ थियो ।
‘७५ रुपैयाँ उनीहरूलाई प्रोत्साहन स्वरूप भनेर प्रतिक्विन्टल उखु जुन पेलिन्छ, त्यसमा सरकारले ७० रुपैयाँ दिइरहेको रहेछ । गत वर्ष के भयो थाहा भएन, त्यसालाई घटाएर ३५ रुपैयाँमा पारे । अब ती किसानहरू ४०र५० हजार किसानहरूको माग ३५ रुपैयाँ किन घटाइयो हामीलाई ७० रुपैयाँ चाहियो भनेर छ,’ कृषि मन्त्री परियारले भने, ‘८० करोड बराबरको दायित्व अर्को थपिँदै छ । किसानहरूको मर्का त हामीले बुझ्नुपर्यो नि । कि त सरकारले पहिले देखी दिइरहेको कुरा अहिले अकस्मात् घटाउनुपर्ने कारण के थियो होला ? ३५ रुपैयाँमा किन झार्यो ?’
दुग्ध विकास संस्थानले पनि ठुलो रकम किसानलाई भुक्तानी गर्न बाँकी रहेको उनले बताए । संस्थानले किसानलाई ५३ करोड रुपैयाँ बुझाउन बाँकी रहेको जानकारी उनले दिए । दसैँ अगाडि ८३ करोड भुक्तानी गर्न बाँकी रहेकोमा हाल ३० करोड भुक्तानी भएको उनले बताए ।







