२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भगवान् जस्ता भगवान् कोइराला

अ+ अ-

डा. भगवान् कोइरालाको “हृदय” पढ्दा एउटा प्रेरणाको महासागरमा प्रवेश गरे जस्तो लाग्यो । 

मानिस कतिसम्म परिश्रमी, अनुशासित र करुणामय हुन सक्दो रहेछ भन्ने उदाहरण हो डा. भगवानको जीवन । 

डा. कोइरालाको यस किताबभित्रका सम्पूर्ण वर्णनहरू पठनीय, स्मरणीय र प्रेरणादायी छन् । उनको निरन्तर परिश्रम, आफ्नो कर्तव्यप्रतिको इमान, सकारात्मक सोच, सहनशीलता, विनम्रता, सेवा भाव र करुणालाई पढ्दा मेरो हृदय पनि गद्गद भयो । लाग्यो, यस्तै केही मानिसकै कारण नेपाल अझै पनि बस्न लायक छ । 

अल्बर्ट आइन्स्टाइनका शब्दमा – 

“अन्ली अ लाइफ लिभ्ड फर अधर्स इज अ लाइफ वर्थवाइल।”

आफ्नो प्रारम्भिक जीवनबारे भगवान् लेख्छन्, “म अलि सानो र अल्छी पनि थिएँ ….काम पनि धेरै नगर्ने, फर्माइस पनि नगर्ने ।  तैपनि सानो गाग्री लिएर पधेरा जान्थेँ । दाइ बदमासी पनि गर्ने काम पनि गर्ने । म चाहिँ  सरसफाइमा वास्तै नगर्ने …..।  दाइ त गोरुको घोडा चढ्ने…..। सिन्दुरे गोरु चढ्नै नदिने, दाजु वैकुण्ठ चढ्नै पर्ने ।…एक दिन दाइले ए, तँ पनि गोरुमा चढ् भन्नुभयो…. ।” दाइको करले सोझा भगवान् पनि गोरुमाथि चढे …. तर झन्डैले दुर्घटनामा परे….। 

सानो हुँदाको भगवानको चरित्र पढ्दा निकै माया पनि लाग्यो । कस्तो पाका भने तानसेन साहुकहाँ चिठ्ठी पठाउँदा पिताजीले  “भगवान् पाको छ” भनेर चिठी साना भगवानलाई दिनुहुन्थ्यो रे । हुर्केका दाइहरूभन्दा सानो बाबु भगवान् परिपक्व । “हुने बिरुवाको चिल्लो पात”का ज्वलन्त उदाहरण हुन् भगवान् । 

तानसेन पद्म पब्लिकमा पढ्दाको समयको एउटा घटनाबारे भगवान् लेख्छन्, “एक दिन साँझको बेला एउटा आफ्नै कक्षाको साथीले हेप्ने पारामा भन्यो,  एई बाहुनहरू ! मलाई एकदम रिस उठ्यो । मैले पनि एई पाडा भनिदिएँ  । उसले फरक्क फर्केर आएर मलाई झ्याम्म हान्यो…।” त्यो घटनाबाट भगवानले आफूभन्दा बलियोसँग निहुँ खोज्नुभन्दा तर्केर हिँड्नुमै श्रेय छ भन्ने पाठ सिके । 

भगवानले १४ वर्षको उमेरमा द्वितीय श्रेणीमा एसएलसी पास गरे । अब कहाँ पढ्ने, के पढ्ने इत्यादि कुरामा छलफल हुन थाल्यो । त्यस्तै ऊहापोहकै समयमा तानसेनका व्यापारी नरेन्द्र साहुले बुवासँग भनेछन्, “भगवानलाई काठमाडौं लगेर हेल्थ असिस्टेन्ट पढाऊ ।” कसका लागि कुन मानिस प्रेरणाको स्रोत बनिदिन्छ के थाहा । नरेन्द्र साहुकै प्रेरणाले बुवामा छोरालाई हेल्थ असिस्टेन्ट पढाउने उत्साह जाग्यो । 

पुस्तक पढ्दै जाँदा एक ठाउँमा पुगेपछि मेरो हृदय नै सिक्त भयो । भगवान् काठमाडौं पुगेर एसएलसीको मार्क सिट लिन भनेर परीक्षा नियन्त्रण कार्यालय पुगेका रहेछन् । त्यहीँ उनको  सहपाठी माधव घिमिरेसँग भेट भयो । माधव २०३३ सालको एसएलसीमा बोर्ड तेस्रा भएका थिए भने भगवान् केवल द्वितीय श्रेणीमा उत्तीर्ण मात्र । भगवानले माधवलाई सोधे, “के पढ्छौ ?” माधवले भनेछन्, “पाल्पामै कमर्स पढ्नु भनेका छन्, उतै जान्छु ।” भगवान् लेख्छन्, “यसो भन्दा माधवको अनुहारमा उत्साह भाव थिएन ।” 

अस्तित्वले सबैको भाग र भाग्य छुट्ट्याएर राखेको हुँदो रहेछ  र त्यो समयक्रममा प्रकट हुँदै जाँदो रहेछ । यी दुवै पाल्पालीलाई नियतिले नै एउटै विषय पढ्न नदिएको रहेछ । भाग्यमै दुईजना प्रतिभाशाली युवालाई भिन्नाभिन्नै क्षेत्रमा होनहार हुन बदेको रहेछ । माधव घिमिरे नेपाल सरकारको मुख्यसचिव हुँदै गृहमन्त्रीसम्म भएर असमयमै दिवङ्गात भए । भगवान् मुटु रोगका उद्भट विशेषज्ञका साथै सुयोग्य सर्जन बनेर नेपालीको सेवामा अहोरात्र तल्लीन छन् । 

भगवान् कोइराला अलि कम बोल्ने स्वभावका थिए । उनी कक्षामा प्रायः पछाडि कुनातिर बस्थे । साह्रै नै निद्रालु र सुताहा स्वभावका थिए भगवान् । “निद्रा”  शीर्षक संस्मरणमा उनी  लेख्छन्, “हेल्थ असिस्टेन्टको पढाइ सकेर काठमाडौँको इन्द्रायणीमा भरखर जागिर सुरु गरेपछि होस्टल छाडेर काकाहरूसँगै बागबजारमा बस्न थालेको थिएँ ।  दुई वटा कोठा थिए । ध्रुव दाइ, सूर्य कोइराला र उहाँका एक जना साथी पनि त्यहीँ बस्नुहुन्थ्यो । काम सकेर घरमा आएपछि हामी स्क्राम्बल खेल्ने गर्थ्यौँ । खाना आफै बनाउँथ्यौ । एक साँझ दाइहरू “ल तिमी छिटो आऊ है” भन्दै खाना खाएर स्क्राम्बल खेल्न जानुभयो । म त खाँदाखाँदै निदाएछु । भातको गाँस मुखमा लागेको अवस्थामै थियो । हात उचालेको उचाल्यै निदाएछु ……।” 

भगवान् त चिन्ता बोकेर हिँडेका मान्छे । उनी डाक्टरी पढ्न तत्कालीन सोभियत संघतिर लागे । जसरी पनि डाक्टर बनेरै छाड्ने उनको प्रबल इरादा थियो ।  लेख्छन्, “त्यसैले पढाइमा खुब जोड दिएँ । म कहिल्यै सेकेन्ड भइन ।” मनको मुरादले  मात्र कोही सफल हुन सक्दैन । इच्छा र अठोट गरेर मात्र पनि हुँदैन । सफलता प्राप्त गर्नका लागि त सङ्कल्पपूर्ण प्रयत्न र निष्ठाको आवश्यकता पर्दो रहेछ । जीवनमा केही बनेर र गरेर देखाउने इच्छा हुने जुनसुकै काममा लागेको व्यक्तिले भगवानको कर्तव्यनिष्ठताबाट पाठ सिक्नु आवश्यक छ । 

उनले पढ्दाको बखतको सोभियत संघमा  कम्युनिस्ट सरकार थियो । शासन कडा थियो । सरकार र कम्युनिस्ट पार्टीको  विरोध गर्न प्रतिबन्ध थियो । तर कतिपय मामिलामा सोभियत संघले उदारवाद पनि अपनाएको रहेछ । भगवान् लेख्छन्, “समाज निकै उदार थियो । मेडिसिन पढ्नेहरू दुई तिहाइभन्दा बढी केटी हुन्थे ।” महिला उत्थानको त्यो अभियान सोभियत शासन व्यवस्थाको प्रशंसनीय पक्ष हो । 

सोभियत संघमा पढ्दा धेरै साथीहरूले रक्सी खाए, तर भगवानले एक थोपो मुखमा हालेनन् । पछि बङ्गलादेशमा सर्जरी पढ्न बस्दा भने अलिअलि सिकेछन् । भगवान् लेख्छन्, “जहाँ रक्सी खान प्रतिबन्ध छ, त्यहीँ पो सिकियो …।” यो उक्तिमा मानवीय मनोविज्ञानको गम्भीर पक्ष लुकेको छ । जे गर्न हुँदैन भन्यो, त्यही गर्न उद्यत हुनु त मनुष्यको सहज प्रवृत्ति नै हो । 

भगवान् लेख्छन्, “२०५३ साल फागुन १६ गते पूर्णरूपमा नेपाली टिमबाट पहिलो ओपन हार्ट सर्जरी गर्‍यौँ…….।   गोरखापत्रले नेपालीहरू पनि सक्षम छन् भनेर सम्पादकीय नै लेख्यो ।” यो नेपाली चिकित्सा इतिहासको एउटा अविस्मरणीय र गौरवशाली घटना थियो । यसरी भगवानले जन्मभूमि नेपाल आमा र जन्म दिने जननीको दूधको भारा चुक्ता गरे । 

गङ्गालालमा काम गर्दाको समयको कुरा हो । एक दिन डाक्टर भगवान् सवारी दुर्घटनामा परे । उनी  टिचिङ हस्पिटलको इमर्जेन्सीमा गएछन् । उनले नर्सलाई भने,  “मेरो  एक्सिडेन्ट् भयो, हातमा चोट लागेको छ, एक चोटि हेर्दिनुस् न ।” नर्सले भनिछन्  “ए दाइ उता बस्नुस्” …….। भगवानले आफ्नो परिचय नबताईकन सिस्टरलाई त्यस्तो अनुरोध गरेका थिए । त्यस घटनाबाट उनलाई सर्वसाधारण नेपालीप्रति अस्पतालमा कस्तो व्यवहार हुँदो रहेछ भन्ने कुराको प्रत्यक्ष ज्ञान भयो । 

उनी एक ठाउँमा लेख्छन्, “हुम्लाबाट आएकी एक जना बिरामीले भनिन्, “क्या गर्न्या हजुर, पाटो बेचीकन आया हुँ ।”  बिरामी भएको नागरिकले पाटो बेचेर उपचार गराउनुपर्ने,  कस्तो विडम्बना ! एउटा नेपाली नागरिक हुनुको दर्दनाक पीडा थियो त्यो । जे भएको सम्पत्ति बेचेर अनेक दुःख र कष्ट सहँदै हुम्लाबाट काठमाडौं पुग्दा एउटी बिरामी महिलाको हालत कस्तो भयो होला ? 

शिक्षण अस्पताल, असाध्यै राजनीति हुने अस्पताल …।  डा. भगवान् लेख्छन्, “मेरिट बेसिसको छनौटको कुरै थिएन । आफूले भने अनुसार भागबन्डा भएन भने कर्मचारी भर्ना प्रक्रिया नै अवरुद्ध गरिदिने स्थिति थियो ।” हाम्रो देश सानो भए पनि सुन्दर छ । किन्तु  यस्ता अनेकौँ वितण्डाले गर्दा देश नै बिरामी भएको छ । यस्ता बदमासीको क्रम अझैसम्म रोकिएको छैन, बरु झनै हाँगा हाल्दै फैलिइरहेको छ । अब के कसो हुने हो कसैलाई थाहा छैन । 

दरबार हत्याकाण्ड र त्यसबाट सृजित परिस्थितिबारे उनले विशद र कारुणिक वर्णन गरेका छन् । सैनिक अस्पतालमा देखिएको बीभत्स दृश्य, अलमल, दौडादौड र द्विविधाबारे पढ्दा “अहो  अहो !” भन्न मन लाग्छ । भगवान् लेख्छन्, “अपरेसन थिएटर नजिक आर्मी अस्पतालका प्रमुख डा. कृष्ण नरसिंह रायमाझी हुनुहुँदो रहेछ । देख्ने बित्तिकै उहाँले भन्नुभयो, द किङ इज डेड, द क्वीन इज डेड, दीपेन्द्र इज अल्मोस्ट ब्रेन डेड, हिज ब्रेन इज ब्लोन अप । अरू सहाल्नै कठिन हुने अवस्था छ ……।”

२०६२-६३ को आन्दोलनपछि डा. भगवानले ढुक्क भएर काम गर्न थालेका थिए । तर स्वास्थ्य मन्त्री अमिक शेरचनका तत्कालीन सल्लाहकारले मन्त्रीभन्दा पनि बढी सक्रिय बनेर पुरानो सत्ताको प्रतिनिधिको आरोप लगाउँदै भगवानलाई  “राजीनामा दिन बाध्य पार्न” अनेक दबाब दिन थाले….। यसबाट के प्रस्ट हुन्छ भने नेपालमा जति वृहत् स्वरूपको आन्दोलन भए तापनि पात्र मात्र फेरिने हुन् । प्रवृत्ति भने सदा काल उस्तै र अझ अघि बढेर झन् खराब हुँदै आएको इतिहास छ । हेरौँ, हालै भएको जेनजी आन्दोलनको परिणति कस्तो हुन्छ । यहाँ स्थापित र पल्लवित हुँदै आएको विकृत संस्कृतिलाई हेर्दा धेरै भरोसा गर्ने परिस्थिति छैन । परन्तु आशै मारेर बस्नु पनि त भएन । 

नेपालमा कारणवश बिरामीको मृत्यु हुन गयो भने आफन्त जम्मा भएर घेराउ गर्ने र थर्काउने चलन छ । भगवान् मृत व्यक्तिका निहुँ  खोजुवा आफन्तको भनाइ उद्धृत गर्दै  लेख्छन्, ” तपाईँले सक्दिन भनेको भए विदेश लान्थ्यौँ नि, तपाईँले किन छोएको ?….।” 

भगवानले धेरै पढे । धेरै राम्रा काम गरेर नाम पनि कमाए । उनले ऐयासीको त के कुरा,  जीवनमा राम रमाइलो, मनोरञ्जन र  चाडपर्वमा परिवारसँग समय बिताउन समेत पाएका छैनन् । भगवान् लेख्छन्, “पेसाका कारण मैले पारिवारिक उत्सवका महत्त्वपूर्ण क्षण गुमाएको छु । सुनाउनलाई मसँग उत्सवहरूमा सहभागी भएका रमाइला अनुभव कमै छन् । आफ्नो चिकित्सकीय कर्तव्यका कारण पारिवारिक र साथीसङ्गातीबीचका रामरमितामा सहभागी हुन नसकेका अनुभूति धेरै छन ।” 

उनी आज पनि खटिइरहेका छन् । आज पनि उनले आफ्नो नामलाई सार्थक बनाउने सत्कर्म गरिरहेका छन् । तमाम नेपाली बालबालिकालाई अकाल मृत्युबाट जोगाउने अभियान सफलतापूर्वक जारी छ । तैपनि हाम्रो समाजको चरित्रको अर्को दुःखदायी पाटो पनि छ । भगवान् लेख्छन्, “तर हामीकहाँ असल कर्मको त्यति चर्चा हुँदैन, जति खराब कर्मको चर्चा हुन्छ….।” 

यो किताब पढेपछि घेराउमा पर्दा, राजनीतिको अवाञ्छनीय  पिसानमा पर्दा, कर्मचारी युनियनका उरन्ठेउला मानिसको धाक धम्कीमा पर्दा, मृतक बिरामीका आफन्तले लाञ्छना लगाउँदै थर्काउँदा र अकस्मात् पर्न आउने आपद् विपद्को सामना गर्दा कसरी संयमतापूर्वक शीतल दिमागले निर्णय गर्ने भन्ने जस्ता कुरा सिक्न सकिन्छ  । भगवानको यो पुस्तक एक प्रकारको सामाजिक, पारिवारिक र मनोवैज्ञानिक औषधी पनि हो ।

प्रस्तुत पुस्तकमार्फत भगवानको जीवनलाई नियालेर हेर्दा जिन्दगीको सुख र आनन्दको नयाँ मानक नै स्थापित भए जस्तो लाग्यो । मनुष्य जीवनको आनन्द भनेको त आमोद प्रमोद र भोगविलास नभई सुकर्मबाट प्राप्त सन्तुष्टि पो रहेछ । यो पुस्तक पढी भ्याएपछि लाग्यो, डा. भगवानको जस्तै सकारात्मक सोच र नि:स्वार्थ सेवा भावना अरू तमाम नेपाली डाक्टरहरूमा पनि भइदिएको भए कति जाती हुँदो हो । सबै पेसा र वर्गका मानिसहरू उनीझैँ इमानदार र कर्तव्यनिष्ठ भइदिए नेपाल कति सुन्दर र समृद्ध हुँदो हो । 

भगवानले भनेका पनि छन्, “कस्ता कार्यबाट आत्मसन्तुष्टि लिने भन्नेबारे पनि सार्वजनिक जीवन जिउने मानिस प्रस्ट हुनुपर्छ ।”