म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा बहुउद्देश्यीय कवर्डहल निर्माण भएको छ ।
बेनी नगरपालिकाको सहयोगमा स्थानीयबासीले श्रमदान गरेर खेलकुद, सामाजिक र सांस्कृतिक कार्यका लागि कवर्डहल निर्माण गरेका हुन् । नगरपालिकाले रु १० लाख उपलब्ध गराएको कवर्डहल निर्माणका लागि उपभोक्ताहरूले थप रु तीन लाख ७० हजार बराबरको श्रमदान गरेका निर्माण समितिका अध्यक्ष हरिप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार वडा कार्यालयले अपुग थप रु दुई लाख रकम भुक्तानीका लागि नगरपालिका कार्यालयमा सिफारिस गरेको छ । पर्याप्त बजेटको व्यवस्था नहुँदा चार वर्ष लगाएर कवर्डहल निर्माणलाई पूर्णता दिएको अध्यक्ष पौडेलले बताए। राजीखोला किनारमा पक्की तटबन्ध बनेपछि संरक्षण भएको खाली सार्वजनिक जग्गा सम्माएर वरिपरि फलामको फिल्लर ठडाएर जस्तापाटाले बारेर कवर्डहल बनाइएको छ ।
कवर्डहलको शुक्रबार बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले शुभारम्भ गरे। उनले स्थानीयबासीलाई फुर्सदको समय सदुपयोग र शारीरिक कसरतका लागि ब्याडमिन्टन खेल अभ्यास गर्न, प्रतियोगिता आयोजना गर्न, विवाह, व्रतबन्ध, भेला, बैठक गर्न सुविधा पुगोस् भन्ने उद्देश्यले कवर्डहल बनाएको बताए ।
उक्त वडाको तातोपानीमा पनि कवर्डहल निर्माण भएको र थामडाडा टोलमा कवर्डहल बनाउन लागिएको अध्यक्ष खड्काले बताए। कवर्डहलमा शुक्रबारदेखि सिंगा ब्याडमिन्टन संघको आयोजनामा प्रथम मनप्रसाद, इन्दु स्मृति पुरुष डि–लेभल ब्याडमिन्टन कप प्रतियोगिता सुरु भएको छ ।







