काठमाडौँ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध महाभियोग लगाउने प्रयास अमेरिकी प्रतिनिधिसभाबाट रोकिएको छ ।
रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको प्रतिनिधि सभाले महाभियोग प्रस्ताव थप छलफलका लागि समितिमा पठाउने प्रक्रियागत प्रस्तावमाथि २११ विरुद्ध २०४ मतले निर्णय गरेको हो ।
यससँगै हेगसेथविरुद्धको महाभियोग प्रक्रिया तत्कालका लागि अघि बढ्न नसक्ने भएको छ । महाभियोग प्रस्तावको नेतृत्व गरेका रिपब्लिकन सांसद थोमस मेसीको प्रयासलाई हेगसेथले ‘प्रहसन’ र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्षति पुर्याउने उद्देश्यले गरिएको राजनीतिक नाटकको संज्ञा दिएका छन् ।
मंगलवार प्रतिक्रिया दिँदै हेगसेथले एक जना असन्तुष्ट र पराजित सांसदले गरिरहेको प्रयास निगरानी वा जवाफदेहिताको विषय नभई व्यक्तिगत अहंकार र प्रतिशोधबाट प्रेरित राजनीतिक प्रदर्शन भएको बताए । उनले यसले राष्ट्रपति, देश र अमेरिकी सैनिकहरूको मनोबलमा क्षति पुर्याउने प्रयास गरेको आरोपसमेत लगाए। यसैबीच, राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत हेगसेथको बचाउको प्रशंसा गर्दै उनलाई ‘ए प्लस प्लस प्लस’ अंक दिएका छन् । सांसद मेसीले इरानसँगको अमेरिकी युद्धलाई लिएर सोमबार हेगसेथविरुद्ध महाभियोगका आठ वटा आरोप सार्वजनिक गरेका थिए ।
उनले सन् १९७३ को ‘वार पावर्स रिजोलुसन’ का तीनवटा प्रावधान रक्षामन्त्री हेगसेथले उल्लंघन गरेको दाबी गरेका छन् । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले इरान युद्धसमेतका कारण पराजय बेहोरेको केही दिनपछि महाभियोग प्रस्ताव सार्वजनिक गरिएको थियो । ट्रम्पका लामो समयदेखि आलोचक रहँदै आएका मेसी यसै वर्षको अन्त्यमा संसदबाट अवकाश लिँदै छन् ।





