काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले कसैप्रति घृणा वा नकारात्मकता फैलाउने काम नगर्न अनुरोध गरेका छन्।
प्याराडाइम टिभीले तयार गरेको सामग्रीमा आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै उनले फेसबुकमार्फत आपत्ति जनाएका थिए।
लामिछानेले बुधबारको पोस्टमा जानाजानी आफ्नो व्यक्तिगत जीवन, मर्यादा र गोपनीयतालाई क्षति पुर्याउने उद्देश्यले त्यो सामग्री तयार गरिएको दाबी गरेका थिए।
बिहीबार पुनः फेसबुकमा स्ट्याटस लेख्दै उनले सबैको माया र समर्थनको कदर गर्ने बताएका छन्।
‘जे भयो त्यो साँच्चै स्वीकार्य थिएन। म तपाईँहरूको सबै भावना बुझ्छु। तर कृपया, कसैप्रति घृणा वा नकारात्मकता फैलाउने काम नगरौँ। कोही पनि यसको योग्य छैन।’
सन्दीपले आफ्नो ध्यान अहिले क्रिकेटमा भएको र युएईबाट नेपाल फर्किएपछि यो विषयमा थप सम्बोधन गर्नेसमेत बताएका छन्।
‘म अहिले दुबईमा भएकोले, मेरो पूर्ण ध्यान क्रिकेट विश्वकप लिग-२ का खेलमा छ। म फर्केपछि यो विषयमा थप सम्बोधन गर्नेछु’, सन्दीपले फेसबुकमा लेख्नुभएको छ।








