काठमाडौँ । जेनजी आन्दोलनको क्रममा लुटिएका प्रहरीका ७२३ हतियार फिर्ता भएका छन् । आज बुधवार सम्मको तथ्यांकअनुसार ७२३ हतियार फिर्ता आएको नेपाल प्रहरीले जनाएको छ ।
काठमाडौँमा लुटिएको हतियार कैलालीसम्म पुर्याइएको पनि प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनको क्रममा सानो ठूलो गरेर नेपाल प्रहरीका मात्रै १ हजार २७१ हतियार लुटपाट तथा हराएका थिए । केही हतियार बेवारिसे अवस्थामा भेटिएको, केहीलाई हतियारसहित पक्राउ गरिएको र केहीले भने आफैँ हतियार बुझाएको प्रहरीले बताएको छ ।
अझै ५४८ हतियार फिर्ता हुन बाँकी नै छ । लुटिएका हतियार खोजी गर्न सातै प्रदेशमा डिएसपीको कमाण्डमा टोली बनाएर खोजीको काम भइरहेको छ ।
प्रहरीका हतियार लुटेर पोजिसन लिँदै गरेको भिडिओ, तस्बिर प्रदर्शनकारी स्वयंले सार्वजनिक गरेका थिए । पेस्तोल, बन्दुक, ग्यास गनलगायत हतियार लुटिएको प्रहरीको भनाइ छ ।
नेपाल प्रहरीलाई यसअघि समेत हतियार अपुग भन्दै पटक पटक किन्ने प्रक्रिया अघि बढाउँदै रोकिँदै आएको थियो । यही अवस्थामा अहिले १ हजार २१७ थान प्रहरीका हतियार लुटिएका छन् ।







