काठमाडौँ । राहदानी विभागमा सेवाग्राहीसँग रकम असुल्ने २ जना पक्राउ परेका छन् । सेवाग्राहीसँग राहदानी बनाइदिने भन्दै पैसा लिने दुई जनालाई पक्राउ गरिएको हो ।
विभागमा आउने सेवाग्राहीहरूलाई गलत प्रलोभनमा पारी रकम असुल गरेको सूचनाको आधारमा दुई जना शंकास्पद व्यक्तिहरूलाई विभाग परिसरबाट पक्राउ गरिएको विभागले जनाएको छ ।
उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरीमा बुझाइको विभागले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
राहदानी विभागले भ्रष्ट्राचारका गतिविधिका सम्बन्धमा जो कोही विरुद्ध शून्य सहनशीलताको नीति अंगीकार गरेको जनाएको छ । यस प्रकारका कुनै पनि बहानामा सेवाग्राहीबाट रकम असुली/ठगी गर्नेहरूबाट सावधान रहन अनुरोध गरेको छ ।
कसैले कुनै पनि बहानामा रकम माग गरेमा सोझै विभागको प्रशासन शाखामा वा विभागको सम्पर्क नम्बर ०१–५९७०३२५ वा इमेल ठेगानामा जानकारी गराई भ्रष्ट्राचारजन्य गतिविधि विरुद्धको कारवाहीमा सहयोग गर्न समेत अनुरोध गरेको छ ।








