२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१६ वर्षपछि कालीगण्डकी बेसीनमा चिरकालिजको संख्या १८ जोडी

अ+ अ-

म्याग्दी । कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् संघले गरेको अध्ययनअनुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । संघले हालै मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा, लेते, कुञ्जो, टिटीताल, खन्ती, झिप्रा देउरालीमा चिरकालिजको अध्ययन गरेको थियो ।

मुस्ताङमा गरेको अध्ययनको प्रतिवेदन तयार पारेको टोली चिरकालिजको अवस्था अध्ययनका लागि म्याग्दीको धवलागिरि गाउँपालिका र ढोरपाटन सिकार आरक्षमा आएको छ । अध्ययन टोलीमा सहभागी अनुसन्धानकर्ता विराट रजकले सन् २००९ मा छ जोडी चिरकालिज रहेको उक्त सात ठाउँमा यसपालि १८ जोडी भेटिएका जानकारी दिए ।

‘सन् २००४ मा १७ र २००६ मा ११ जोडी कालिज भेटिएका थिए’, उनले भने, ‘सन् २००९ पछि अध्ययन भएको थिएन । सोह्र वर्षपछि यसपालि भएको अध्ययनका क्रममा कालीगण्डकीको माथिल्लो क्षेत्रमा चिरकालिजको सङ्ख्या बढेको पाइएको छ ।’

समुदायमा संरक्षण शिक्षा, चेतनाको विकास, चोरी सिकारी नियन्त्रण, बासस्थान वरपर मानवीय र घरपालुवा जनावरको गतिविधि बढ्दा चिरकालिजको सङ्ख्या वृद्धिमा सहयोग पुगेको अनुसन्धानकर्ता रजकले बताए ।

खरबारी, पाखोबारीमा मानिसले घाँस काट्ने, पशुचौपायाको चरन क्षेत्र हुँदा झाडी हटेर आहारा खोज्न सजिलो हुने भएकाले चिरकालिजको बसोबासका लागि अनुकूल वातावरण बनेको उनको भनाइ छ ।

चिरकालिजले फुल कोरल्नेबाहेकका समयमा डढेलो लाग्दा झाडी नष्ट हुने र प्रशस्त आहारा पाउँदा उसका लागि अनुकूल मानिन्छ । चैत, वैशाख र जेठ चिरकालिजले फुल पार्ने, कोरल्ने र चल्ला निकाल्ने समय हो ।

समुद्री सतहबाट एक हजार चार सय मिटरदेखि तीन हजार छ सय मिटरसम्मको उचाइमा चिरकालिज पाइने गर्छ । सामान्य कालिजजस्तै यो तल्लो तटीय क्षेत्रमा पाइँदैन । यो चरा झट्ट हेर्दा कालिजको पोथीजस्तै देखिए पनि धेरै भिन्नता रहने अनुसन्धानकर्ता केशव चोखालले जानकारी दिए ।

‘चिरकालिजको भालेको पुच्छर लामो, आँखाको रङ पनि रातो हुने, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ’, उनले भने, ‘बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुईपटक मात्र चिरचिर गरेर कराउने भएकाले यसलाई चिरकालिज भनिएको हो ।’

‘क्याट्रस वालिची’ वैज्ञानिक नाम रहेको यस पन्छीलाई अङ्ग्रेजीमा चिरफेजेन अर्थात् नेपालीमा चिरकालिज र सुदूरपश्चिममा चेडु चराको नामले चिनिने गरिएको छ । भिरमा नै बासस्थान बनाउने यो पन्छीले एकपटकमा सातदेखि १५ वटासम्म फुल पार्ने जनाइएको छ ।

चिरकालिज नेपालमा मुख्यगरी अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर पर्वतसँगै म्याग्दी र बागलुङ तथा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा पाइन्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मै यसलाई लोपोन्मुख प्रजातिका रूपमा सूचीकृत गरेको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णु अधिकारीले बताए । कालीगण्डकीका साथै म्याग्दी र रघुगङ्गाको तटीय क्षेत्रमा देखिएकाले अनुसन्धान थालिएको हो । चिरकालिजको अध्ययनका लागि दातृ निकाय टोलेडोजुले सहयोग गरेको नेपाल पन्छीविद् सङ्घले जनाएको छ ।

धवलागिरि गाउँपालिकाको म्याग्दी नदी आसपास र ढोरपाटन सिकार आरक्ष क्षेत्रमा अध्ययनपछि प्राप्त हुने प्रतिवेदनका आधारमा चिरकालिज संरक्षण कार्यक्रम गरिने जैविक विविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईले बताए । दुर्लभ पन्छी हेर्नका लागि विदेशी पर्यटक आउँदा स्थानीयस्तरमा रोजगारी सृजना र आयआर्जन वृद्धिमा सघाउ पुग्ने उनले बताए ।