काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशमा उत्तेजना फैलाउन प्रतिबन्ध लगाएपछि मात्रै निष्पक्ष चुनाव हुन सक्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित जनसभामा बोल्दै उनले विदेशी डलर लिएर नेपाली जनतालाई भ्रष्टीकरण गर्ने र देशमा उत्तेजना फैलाउनेलाई प्रतिबन्ध लगाएपछि मात्रै निष्पक्ष चुनाव हुने बताएका हुन् । उनले अझै पनि सबै क्षेत्र(वर्गका जनताले अग्राधिकार नपाएसम्म संघीयता पूर्ण रूपमा कार्यान्वयन नहुने जिकिर गरे ।
राज्यसत्ता जनताले बनाएपछि प्रत्यक्ष कार्यकारी प्रमुखमा जानुपर्ने बताए । कम्युनिष्ट एकताले नेपालमा सधैँ राम्रो गर्छ भन्ने नरहेको भन्दै विचार नपुर्याए कम्युनिष्ट एकता निकै घातक हुने उनले बताए । मुलुकमा देखिएको बेथितिको विरुद्ध लाग्नुपर्नेमा समाजवादी मोर्चाले त्यस्तो काम गर्न नसकेको विप्लवले स्वीकार गरे ।
उनले राज्यसत्ता निरङ्कुश र मूर्ख बन्दै गएको अवस्थामा त्यसलाई झकझकाएर जेन–जी आन्दोलनले ठूलो गुन लगाएको बताए । त्यसअघि नेकपाको विभिन्न स्थानबाट सुरु भएको र्याली भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।







