काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा असाधारण संकटको स्थितिमा रहेको बताएका छन् । जलाउनेहरूले नै देश चलाइरहेको भन्दै उनले रोष प्रकट गरेका छन् ।
आज पार्टीनिकट युवा संघ नेपालको भेलामा बोल्दै ओलीले देशमा अहिले राजनीतिक, आर्थिक, सामाजिक अराजकता व्याप्त रहेको र यो एमालेलाई स्वीकार्य नहुने बताए ।
ओलीले भने, ‘अहिलेको परिस्थिति साधारण होइन । देश जलाउने पनि तिनै, चलाउने पनि तिनै, तमासा भइरहेको छ । जसले जलाउने उसैले चलाउने त्यस्तो तमासा‘ । जलाउनेका पछाडि पनि यी नै थिए । मैदानमा देखिएका थिए । मैदानमा एक–दुई फिटमाथि बुरुक्क उफ्रेको देखिएकै थिए । अहिले तिनीहरू नै कुर्सीमा विराजमान छन् । जसलाई संविधानले हुँदै हुँदैन, मिल्दै मिल्दैन भन्छ । तीनै तत्त्वहरू छन् ।’
एमाले आगो लगाउने नभई आगो निभाउने शक्ति भएको उनको भनाइ छ । ओलीले थपे, ‘हामी आगो लगाउने शक्ति होइनौँ, निभाउने शक्ति हौँ । तोडफोड गर्ने होइन, निर्माण गर्ने शक्ति हौँ । अर्काको सम्पत्ति लुटेर जीविका चलाउने निकृष्ट लुटेरा, चोर डाका होइनौँ । त्यस्तालाई नियन्त्रण गर्ने र तह लगाउने हौँ । हामी शान्तिपूर्ण विरोध प्रदर्शन गर्छौँ । हामी शान्तिका लागि सडकमा जान्छौँ ।’







