काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छपाइ, डिजाइन तथा आपूर्तिका लागि चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मीन्टिङ कर्पोरेसन, बेइजिङसँग सम्झौता गरेको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार, यो सम्झौता २०८२ साउन २५ गते (तदनुसार ११ अगस्ट २०२५) मा सम्पन्न भएको हो। सम्झौताअनुसार चिनियाँ कम्पनीले नोटको डिजाइन, छपाइ तथा आपूर्तिको सम्पूर्ण जिम्मेवारी लिनेछ।
उक्त सम्झौताको मूल्य १०,४२२,५३५.२१ अमेरिकी डलर (करिब एक करोड ४२ लाख रुपैयाँ) रहेको राष्ट्र बैंकले जनाएको छ। यसअघि राष्ट्र बैंकले २०८२ साउन ९ गते (तदनुसार २५ जुलाई २०२५) राष्ट्रिय दैनिक दि राइजिङ नेपाल र बैंकको वेबसाइटमार्फत बोलपत्र आह्वान गरेको थियो।
बोलपत्र प्रक्रियामा सहभागी कम्पनीहरूमध्ये न्यूनतम मूल्य प्रस्ताव गर्ने चाइना बैंक नोट प्रिन्टिङ एन्ड मीन्टिङ कर्पोरेसनलाई छनोट गरिएको हो। बैंकले सार्वजनिक खरिद ऐन, २०६३ र खरिद निर्देशिका, २०६७ बमोजिम प्रक्रिया पूरा गरी सम्झौता सम्पन्न गरेको जनाएको छ।







