काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले कर्जा-बचत मिलान कार्य स्थगित गरेको छ ।
ऋणीको धितो र बचत मिलान गराउने कार्यमा बिचौलिया सक्रिय हुन थालेपछि समितिले उक्त मिलान कार्य नै स्थगित गरेको हो ।
समितिले ऋणी र बचतकर्ताको सहमतिमा बचत र कर्जाको धितो मिलान गर्दै आएको थियो । संस्थामा नगद नभएको अवस्थामा हिसाब मिलानका लागि समितिले त्यसलाई पनि एउटा उपायका रूपमा प्रयोग गर्दै आएको थियो ।
तर, उक्त प्रक्रियामा पनि बिचौलिया घुसेको गुनासो समितिमा आएपछि बिहीबारदेखि मिलान प्रक्रिया स्थगित गरिएको हो । यसअघि समितिले बिचौलिया सहभागी भएको विषय सचेत गराउँदै सूचना प्रकाशन पनि गरेको थियो ।
समितिले समस्याग्रस्त सहकारीबारे बचतकर्ता तथा ऋणीको आपसी सहमतिमा बचत तथा ऋण मिलान गराउने मध्यस्थताको काम गर्दै आएको थियो ।
बचत र ऋण मिलान गर्दा कुल मिलान गर्नुपर्ने बचत रकमको १० प्रतिशत नगद रकम समितिको सम्बन्धित सहकारीको बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरेको थियो ।
समितिले विभिन्न ढंगले असुलउपर गर्ने भन्ने सन्दर्भमा त्यस्तो व्यवस्था गरेको समितिका सदस्यसचिव टीकामणि न्यौपानेले बताए ।
समितिले १५ असार २०८२ सम्म समस्याग्रस्त सहकारीको १ हजार ३ सय २२ वटा हिसाब मिलान गराएको छ । यो भनेको साढे २ अर्ब रुपैयाँ बराबर हो ।
धितो सम्पत्ति मूल्यांकन तथा कारोबार राफसाफ गर्ने क्रममा रोक्का हुने लगायत समस्याका कारण हालका लागि स्थगन गरिएको बताइएको छ । सहजताका लागि ल्याइएको विषयले बचत तथा ऋण सेटलमेन्टमा जटिलता ल्याउन थालेपछि मिलान कार्य रोकिएको समितिको भनाई छ।







