प्रदेश सरकारहरू कमजोर छन। संघीयताको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन। संघीय सरकारसँग वित्तीय निर्भरताको आधारमा भन्न सकिन्छ कि प्रदेश र स्थानीय सरकारहरू नाम मात्रका छन।सबै तहका सरकारहरू बेथिति र भ्रष्टाचारका संरक्षक जस्ता छन। संघीयताको नाममा मुलुक दिनप्रतिदिन झन् झन् कमजोर हुँदै गएको छ, आइसियुमा राखेको बिरामी जस्तो; एकातिर महँगो शुल्क धान्न धौ धौ छ, अर्कोतिर बिरामी झन् गलिरहेको छ।यसै कारण आम नागरिकमा चरम निराशा र आक्रोश छ।
मुलुकको भू-राजनीतिक अवस्थिति समेत तिव्र विकासको लागि अनुकूल छैन।दुई वटा विशाल मुलुकहरू छन दायाँ बाँया; अरु शक्ति राष्ट्र समेतको चासो र हस्तक्षेप छ।कुल ग्राहस्थ उत्पादन नबढाई राजस्वको आकार बढ्दैन।राजस्वको आकार नबढी लगानी र खर्चको क्षमता बढाउन सकिन्न।सरकारी वा निजी क्षेत्रको लगानी नबढाई उत्पादन बढाउन सकिँदैन यसका लागि उद्यम विकास हुन जरुरी हुन्छ।उद्यमको लागि आधारभूत कच्चा पदार्थको लागि खेती गर्नुपर्छ जग्गाजमिन बाँझो राखेर त्यो पुरा हुनसक्ने अवस्था छैन।
खर्च वा लगानी बढाउँदै जाँदा मात्र रोजगारी सिर्जना हुन्छ; अन्यथा रोजगारीको अवसर बढ्दैन।रोजगारी नबढी आय बढ्दैन। आय नबढी मानिसहरूको क्रय शक्ति बढ्दैन। क्रय शक्ति बढाउन सकिएन भने बस्तु तथा सेवा उत्पादन गरेर मात्र हुँदैन; बजारको विस्तार हुन सक्दैन। आय बढाउन नसक्दा मानिसहरूको खर्च गर्ने क्षमता बढ्दैन।खर्च बढेन भने आर्थिक क्रियाकलापमा मन्दी आउँछ; बजार चलायमान हुँदैन र कर राजस्व समेत बढ्दैन।अर्कोतर्फ आयको बढोत्तरी नहुँदा मानिसहरूको जीवन समेत गुणस्तरीय हुँदैन। प्रतिव्यक्ति आय आनुपातिक रूपमा नबढ्दा गरिब झन् गरिब र धनी झन् धनी हुने खतरा बढ्छ।बस्तु तथा सेवाको मूल्य बढ्दा मंहगीले मानिसहरूको क्रय क्षमतामा थप ह्रास आउँछ। यस्तो अवस्थाले आर्थिक सामाजिक प्रणालीका समग्र चरहरूलाई नकारात्मक बनाउँछन् र लगानी समेत लागत प्रभावी हुँदैन; जसले नाफाको दर घट्छ र लगानीकर्ताहरू उत्पादनमुखी व्यवसायमा भन्दा व्यापारमुखी क्रियाकलाप वा बहुमूल्य धातुको सङ्ग्रहमा आकर्षित हुन्छन्।अन्ततः यो दुष्चक्र चलिरहन्छ।मुलुक जहीँको तहिँ अझ पछाडि धकेलिँदै जाने अवस्था हुन्छ।
आज सुशासन कमजोर हुँदा उद्यम व्यवसाय गर्न निजी क्षेत्रले अनेकौँ हन्डर बेहोर्नु परेको छ। मुलुकको कर्मचारी प्रशासन,न्याय प्रशासन, शिक्षा, स्वास्थ्य निजी उद्यम लगायत विभिन्न पेशागत क्षेत्र सबै राजनीतिमा समाहित छन; सबै क्षेत्र राजनीति जस्तो लाग्छ।यसले गर्दा न पेशागत मर्यादा, न सेवा भाव र व्यावसायिकता बाँकी रहेको छ न यसलाई नियमन गर्ने कुनै निकाय वा पदाधिकारी नै बाँकी छ, घुमाउरो पाराले नियामक नै अस्पताल चलाउँछ, विद्यालय चलाउँछ, व्यापार चलाउँछ, देश चलाउनु पर्ने व्यक्ति बिचौलियासँग मिलेर सेटिङ्ग चलाउँछ।
यति भएपछि सरकारीमा सके जति बिगार्ने र निजीमा नागरिकलाई दोहन गर्न पाइन्छ। निजी अस्पताल वा विद्यालय प्रतिष्ठान रोजगारीका क्षेत्रमा आम मानिसहरू लुटिएका लुटियै छन।यातायात प्रणाली त्यस्तै दुरूह छ; त्यहाँ लुट्ने मात्र होइन, भिरमा घोप्ट्याउने र मान्छेको जीवन फगत पैसा मान्ने संस्कार विकास भएको छ। जुन समय अत्यावश्यक प-यो, त्यही बेला मूल्य बढाइदिने गरिन्छ; तर यी सबै कुकर्महरू राज्य टुलुटुलु हेरेर बसिरहन्छ, प्रशासन प्रशासन जस्तो छैन, प्रहरी प्रहरी जस्तो छैन न्यायाधीशमा न्यायको भन्दा राजनीति र अनियमितताको दुर्गन्ध बढी छ, शिक्षक प्राध्यापक पेशागत विज्ञता भन्दा राजनीतिका दूतहरू जस्ता मात्र लाग्छन्।
राज्य छ तर विष नभएको सर्पजस्तो कोही कसैको त्रास वा भर छैन।राज्यले वैधता गुमाएको अवस्था छ। अपराधको संरक्षण नेतृत्वले नै गरेको अवस्था छ।राम्रो गर या नगर तर नराम्रो गर्नेहरूलाई संरक्षण नगर; नचोख्याऊ भनेर जनताले वर्षौँदेखि कराई रहेछन्; तर त्यही गरिरहेछन यिनीहरू; कार्यकर्ता, , आफन्त, दाता वा मन्त्री बाहेकबाट मात्र अपराध हुन्छ भन्ने मानक विकास गरेकैले भित्रभित्र बलेको आगो सहरमा सल्कियो परिवर्तनको हावा मात्र होइन हुरी चल्यो र धेरैलाई बाल्यो र अझै बाल्नेछ।यो सबै राजनीतिक र व्यक्तिगत लाभको चक्रव्यूहमा मञ्चन भइरहेको “नेपाल” हो।
उत्पादकहरूका लागि आन्तरिक बजार सानो छ।यही पर्खाल नाघेर नेपाली वस्तु तथा सेवा वैश्विक बजारमा पुग्न पनि त्यति सहज छैन।बजारको आकार नबढ्दा ठूला लगानीकर्ताहरू आकर्षित हुन सक्दैनन्।यसले उत्पादन बढ्दैन वा उत्पादनमुखी क्षेत्रमा लगानी झन् संकुचित हुन्छ। आपूर्ति र बजार श्रृंखलाको प्रणाली स्थानीय, क्षेत्रीय, राष्ट्रिय हुँदै अन्तराष्ट्रियस्तरमा आवद्ब हुनुपर्नेमा आपूर्ति शृङ्खलामा बग्रेल्ती अवरोधहरू छन।ती हटाउन सकिएको छैन।यस्तो अवस्थामा प्रदेश सरकारहरूले सुशासन, समृद्धि र आत्मनिर्भरताको आ-आफ्नो कार्य योजना बनाएर अगाडी बढ्नुपर्नेमा त्यो समेत हुन सकेको छैन।
प्रदेश सरकारहरू संघीय सरकारको विस्तारित स्वरूपमा सीमित छन। सरकार सञ्चालन, संरचना वा व्यवस्थापकीय पद्धति यो भन्दा पर फरक र प्रभावकारी हुन सक्ला र ? भन्ने सामान्य चेत पनि प्रादेशिक नेतृत्वमा देखिँदैन।संघीय मठाधीशकोमा गयो; आशीर्वाद प्राप्त ग-यो र त्यही बलमा, त्यही इसारामा र त्यही लयमा लरखरायो, लरबरायो; यसैमा प्रदेश चलेको छ।
हरेक प्रदेशले संविधानकै सीमा भित्र रहेर पनि आफ्नै मौलिक शासकीय क्षमता, कर्मचारीतन्त्र, र सुशासनको ढाँचा अगाडी सारेर हिडन सक्थे; त्यो गरेनन्।सङ्घको वैशाखी टेकेर, सङ्घकै थोत्रा भई सकेका नीति, कानुन, कार्यविधि र सोचको कपी पेस्ट गरेको भाङ्ग्रो भिरेर हिँडेपछि नतिजा पनि सङ्घको भन्दा भिन्न आउन सकेन र आउँदैन पनि। हुन त एउटै बोतलको ३ पाने ३ वटा ठेकीमा सारेको मात्र हो; फरक स्वाद र तमास त पक्कै आउने थिएन नै; तैपनि खानदानी यजमानी परिवारको कुनै छोराले वर्षौँदेखि बाउ बाजेले गरेको पेसाबाट विद्रोह गरेर छुट्टिएर सहरमा मम: वा सिलाई कटाइको पेसा अँगालेर तरक्की गरेको पनि देखिएको छ। ठूला पण्डित, माईला पण्डित र साने पण्डित भन्दा बढी हुन सकेको कोहिपनि देखिएन र देखिने चाला पनि छैन।यसले सङ्घीयताबाट चमत्कार हुने पूर्वानुमान पनि पटाक्षेप भई नै सक्यो र अव प्रत्यक्ष कार्यकारीको अर्को फण्डा चर्चामा छ किन्तु परन्तु जबसम्म राज्यका पदाधिकारी राज्यका हुन सक्दैनन् तबसम्म कुनै सूत्रले काम गर्नेवाला छैन।
शासन सर्वश्रेष्ठ कला हो। क्षमता हो। सोच हो। प्रतिबद्धता हो । कठोर अनुशासन र त्याग हो।दृष्टिकोण हो। विचार हो। आँट हो। सृजनशीलताको क्षितिज हो। आयामिक अग्रसरता र जोखिमहरूसँगको लुकामारी हो ।तर हाम्रोमा अर्कै भयो। झगडा हो। कमाउने अवसर हो। कजाउने समय हो। मनलाग्दी गर्ने अधिकार वा लाइसेन्स हो।रैती बाट राजा बन्ने समय हो।काम होइन; आदर्शका ठूला ठूला गफ गर्ने क्षमता हो। अलिकति लज्जावोध समेत हुँदैन।मुलुक र मुलुकवासीको भाग्य र भविष्य बदल्न भनेर हिँडेको व्यक्ति, जेलनेल युद्ध भोगेको, बलिदानी देखेको, सहयोद्धा आफ्ना आँखै अगाडी ढलेको, रगतमा लतपतिएको र प्राण गुमाएको साक्षी भएको व्यक्ति जब नेता बन्छ; जब मन्त्री बन्छ, त्यो सव एकै पटक खरानी बनाउँछ; केवल केही थान अमुक आफन्तहरूको भविष्य सुरक्षित गर्न, कुनै अमुक पदमा कसैलाई पुर्याउन, केही आफ्ना आसेपासे स्तुति गायकहरू वा कार्यकर्ताको स्वार्थको चंगुलमा सहजै फस्दछ।अझ बिचौलिया, अन्नदाता, मुद्राप्रदायकहरुको उल्झनमा आफ्नै गतिशील खुट्टाहरूमा उल्झनले बेरिन्छ माया मोह र लोभको जन्जालमा फस्दछ र आफ्नै मतदाता, मुलुक र मुख्य मुद्दा सामान्यतः बिर्सन्छ।
योग्यता प्रणाली बिर्सन्छ।विधिको शासन बिर्सन्छ।खुलापन र पारदर्शिता बिर्सन्छ। कानुनको शासन बिर्सन्छ।जबाफदेहिता बिर्सन्छ।राष्ट्रको नीति बिर्सन्छ।कानुन बिर्सन्छ। नैतिकता बिर्सिन्छ।राष्ट्रको सम्पत्ति जगेर्ना गर्न उ त्यहाँ पुगेको बिर्सन्छ र उल्टै आफै त्यसमा परोक्ष प्रत्यक्ष संलग्न हुन्छ।सुशासन दिन उ त्यहाँ पुगेको बिर्सिन्छ।गरिब र दिनदुखीहरु बिर्सिन्छ।जसका लागि केही गर्छु भनेर जान्छ आखिर उनीहरू सबैलाई बिर्सिन्छ र केवल आफूलाई, आफ्ना र आफन्तहरूलाई सम्झन्छ र अरूको नाम बारम्बार लिँदालिँदै तिनै आफ्नाहरूका लागि मरिहत्ते गरिरहन्छ जो सबैलाई ज्ञात हुन्छ तर ऊ आफू अज्ञात भए जस्तै गर्छ र भ्रमको डोरीले सबैलाई बाँधिरहन मन पराउँछ।
राजनीति वा प्रशासनका पदहरू वडाध्यक्ष, अध्यक्ष, उपाध्यक्ष, उपप्रमुख, नगर प्रमुख, सांसद, मन्त्री, प्रधानमन्त्री वा कार्यकारी प्रमुख, सचिव, मुख्य सचिव जस्ता सार्वजनिक पदमा पुगेको मान्छे कसैको होइन; उ राष्ट्रको मान्छे हो भन्ने कसले र कसरी सम्झाई दिने होला? राष्ट्र बनाउने ठाउँमा जहाँ उसले आफ्नो सालोलाई पिए बनाउँछ कसरी उसलाई बुझाउने कि राष्ट्रको सालो हुँदैन भनेर? जहाँ उसको श्रीमतीले भित्र भित्रै मुसाले कोट काटे सरह देश काटिरहेकी हुन्छिन् त्यो मिल्दैन भनेर अथवा जो निमुखा र जसको प्रतिनिधित्व हुन सक्दैन त्यो वर्गको लागि समानुपातिक व्यवस्था थियो तर त्यहीँ श्रीमतीलाई सांसद चयन गर्छ निर्लज्ज, यो मिल्ने होइन हजुर भनेर किन कसैले भनेन वा बुझाई दिएन ?
उसको छोरी छोरी भएकै कारण त्यहाँ पुग्नु हुँदैनथ्यो किनकि त्यहाँ पुगेको व्यक्तिका लागि सारा छोराछोरीहरूको भविष्य उसैको हातमा थियो।सबै बा आमाहरू उसका हुनुपर्ने थियो अह यो कहिल्यै भएन।यस्तो किन भयो होला। अचम्म लाग्छ। जुन दिन उसलाई यस्तो लाग्छ त्यो दिन देखि उसले आफ्नो वरिपरि आफ्ना मान्छे होइन; सर्वश्रेष्ठ मान्छे खोज्ने छ, विज्ञ, योग्य र ईमान्दार खोज्ने छ, योग्यता प्रणालीलाई स्विकार्ने छ, किनकि उसका लागि त्यो समय सिङ्गो मुलुक, आम नागरिक र मुलुकको भविष्य मात्र उसले देख्नेछ। जे गर्दा मुलुकको हित हुनेछ; त्यही गर्नेछ। त्यो समय उ एक्लो भएर पनि सबैको हुनेछ। आज उसका सबै छन; तर उसको हातमा परेर मुलुक छैन। मुलुकको हित छैन। मुलुकको भविष्य छैन। लोकतन्त्र छैन। सुशासन छैन। सर्वत्र सुख, शान्ति र अमनचयन छैन। आशा थियो,, त्यो छैन।उ प्रति, विश्वास छैन, उसले गलत गर्दैन भन्ने भरोसा छैन, किनकि उ सँग मनभित्र, मस्तिष्कमा, आँखामा, कर्ममा, सोचमा अथवा व्यवहारमा उसको मुलुक छैन। भोका नाङ्गा दिनहीनहरू छैनन्।योग्यतम र ईमान्दार मानिसहरू छैनन्।
मानिससँग कि बेइमान साथमा हुन्छ, कि इमान हुन्छ।दुवै एकैसाथ हुन सक्दैन। तपाईँको कचौरामा कि आगो हुन्छ, कि पानी हुन्छ; एकैसाथ आगो र पानी हुन सक्दैन। तपाई आफन्तको, नातागोताको, कार्यकर्ताको, बिचौलियाको, तस्करको, व्यापारीको, सेटिङ्गकर्ताको, अपराधीको, गुन्डाको, नैतिक हीनको, भ्रष्टको, सुद खोरको र मूर्खको हुनु भयो भने कसको हुनु भएन वा हु नसक्नु भएन; आफैँ बुझ्नुहुन्छ।
किसानको खेतमा पानी छैन, मल छैन, जसोतसो उत्पादन ग-यो, बजार भाउ छैन, बिचौलियाले न किसानलाई, न उपभोक्तालाई, श्रम र मूल्यअनुसारको सामान वा सेवा प्राप्त गर्न दिएको छ। ठेकदारले न राज्यलाई सस्तोमा वा गुणस्तरीय योजना बनाइदिएको छ; न समयमा काम गरिदिएको छ।कर्मचारीले नागरिकलाई दिनुपर्ने सेवा न सहज दिएको छ, न उसले स्वतन्त्र काम गर्न पाएको छ।
यस्ता लाखौँ ठाँउहरुमा जुन दिन तपाईँले राष्ट्र देख्नुहुन्छ; त्यो दिन देखि समस्या अरुमा होइन तपाईँमा भेट्नु हुनेछ।त्यही समय देखि घडी सुल्टो चल्नेछ र तपाई आफ्ना होइन; सक्षम, विज्ञ र विशेषज्ञ खोज्न थाल्नुहुनेछ। तिनीहरूसँग तपाई वा तपाई आवद्ब संस्थाप्रतिको दल भक्ति, आस्था वा आवद्बता होइन; काम, दक्षता, कर्तव्यपरायणता र नतिजा खोज्नुहुनेछ।
निष्पक्षता र विधिको शासन खोज्नुहुनेछ।सबैप्रतिको समानुभुति, सम्मान र श्रद्धा खोज्नुहुनेछ। कानुनको कठोरता खोज्नुहुनेछ।त्यो वेला; तपाईँले राज्यको हरेक पाई पाई हिसाब खोज्नु हुनेछ किनकि तपाईँलाई राज्यको सीमित र दुर्लभ स्रोत अपव्यय भएको देख्दा दुःख लाग्नेछ। त्यस क्षण तपाईँ सुशासन र शुद्धता खोज्नुहुनेछ। अरुलाईपनि त्यही मार्गमा हिँडाउन सक्नुहुनेछ। प्रेरित गर्नुहुनेछ।तपाई त्यो दिनदेखि अरूसँग होइन; तपाईँसँग अरु डराउनेछन्।तपाईँको आदर्श, व्यवहार र प्रतिवद्बताबाट तपाईँमा अभूतपूर्व ऊर्जा प्राप्त हुनेछ; जसले तपाईँमा अनौठो र अदम्य आँट सृजनशीलता प्रखर भएर ब्युँतिनेछ।
एउटा ज्योतिर्मय, सुकृतीमय व्यक्तित्वको वरिपरि बैईमानहरु भष्म हुनेछन। त्यो समय तपाईँको साथमा असल र कर्मशील हातहरू, क्षमतावान् मानिसहरूको साथ र भरोसा हुनेछ। जुन दिन तपाईँको आँखामा, मनमा र कर्ममा मुलुक पर्नेछ; त्यो सुनौलो दिनमा तपाईँका अकर्मण्य पात्रहरू सबै हराएर जानेछन्, तपाईँको दृष्टि दोष हराउनेछ, र वास्तविक समस्या देख्न शुरु गर्नुहुनेछ, अरुलाईपनि त्यही मार्गमा डोर्याउनु हुनेछ र त्यही दिनदेखि सुशासन समृद्धि र सुखका दिन प्रारम्भ हुनेछन्।







