के होला जब बिरामी भएर अस्पताल भर्ना भएको अवस्थामा डाक्टरले तपाईंलाई लागेको रोगमा प्रयोग हुने औषधिहरूमध्ये कुनै पनि काम गरेनन् भनेर भन्छन् र मृत्युपश्चात् पनि ती रोग लगाउने सूक्ष्मजीव जीवित रहँदै आफ्नो वंशवृद्धि गर्दै अन्य मानिसहरूलाई शिकार बनाउँदै गए भने ? यो कुनै कल्पना होइन, अहिले विश्वमा यसको ठूलो त्रास बढ्दै गएको छ। त्यसैले हाम्रो पुस्ता र भावी पुस्ताका लागि गम्भीर भएर सोच्ने बेला आएको छ। त्यसैले होला यसपटकको विश्व एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) सचेतना सप्ताहको नारा “प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौं – हाम्रो वर्तमान जोगाऔं, भविष्य सुरक्षित पारौं” भन्ने रहेको छ।
एन्टिमाइक्रोबियल प्रतिरोध वा प्रतिजैविक प्रतिरोध एक गम्भीर विश्वव्यापी जनस्वास्थ्य समस्या हो। एन्टिबायोटिक, एन्टिभाइरल, एन्टिफंगल वा एन्टिप्यारासाइटिक औषधिहरूले ब्याक्टेरिया, भाइरस, फङ्गस वा परजीवी मार्न नसक्ने अवस्था हो। यसले गर्दा सामान्य संक्रमणहरू पनि घातक बन्न सक्छन्। नेपालमा पनि यो समस्या दिनानुदिन बढ्दै गइरहेको छ। यो समस्या केवल मानव स्वास्थ्य क्षेत्रको मात्र नभई पशु स्वास्थ्य, कृषि र वातावरणसँग प्रत्यक्ष जोडिएको एक जटिल मुद्दा हो। मानिस र जनावरहरूले एउटै प्रकारका एन्टिबायोटिक्स प्रयोग गर्ने भएकाले पशुहरूमा विकसित भएको प्रतिरोध क्षमता सजिलै मानिसमा सर्न सक्छ।
एन्टिमाइक्रोबियल औषधिहरूले काम गर्न छोड्ने अवस्था समयसँगै स्वाभाविक रूपमा पनि विकास हुन्छ। तर मानव तथा पशुपालन क्षेत्रमा अनावश्यक, गलत मात्रामा, गलत अवधिमा तथा अव्यवस्थित रूपमा औषधि प्रयोगका कारण यो प्रतिरोध अत्यन्त छिटो फैलिरहेको छ। नेपालजस्ता विकासशील देशहरूमा स्वास्थ्य सेवा पहुँच सीमित हुनु, औषधि सजिलै उपलब्ध हुनु, अनियन्त्रित प्रयोग तथा जनचेतनाको कमीले समस्या अझ जटिल बन्दै गएको छ।
प्रतिजैविक प्रतिरोधले पार्ने प्रभावहरू
मानव स्वास्थ्य, पशु स्वास्थ्य, खाद्य सुरक्षा र अर्थतन्त्रमा बहुआयामिक नकारात्मक प्रभाव पार्छ :
मानव स्वास्थ्य
सामान्य मानिएका निमोनिया, पिसाब संक्रमण, सेप्सिसजस्ता रोगहरूको उपचारमा प्रयोग हुने पहिलो र दोस्रो तहका एन्टिबायोटिक्सले काम गर्न छाड्छन्। संक्रमणका कारण बिरामीहरू लामो समयसम्म अस्पतालमा बस्नुपर्ने हुन्छ, जसले गर्दा मृत्युदर पनि बढ्छ। एन्टिबायोटिक्सको प्रभावकारिता बिना क्यान्सरको केमोथेरापी, अंग प्रत्यारोपण र हिप रिप्लेसमेन्टजस्ता आधुनिक चिकित्सा प्रक्रियाहरू अत्यन्त जोखिमपूर्ण हुन्छन्। प्रतिरोधी संक्रमणको उपचारका लागि महँगा र नयाँ औषधिको आवश्यकता पर्छ।
पशु स्वास्थ्य र खाद्य सुरक्षा
सामान्य संक्रमणहरू पनि दीर्घकालीन र गम्भीर बन्छन्। यसले रोग प्रतिरोध क्षमता घटाउँछ र दूध, मासु र अण्डा उत्पादन घटाउँछ, मृत्युदर बढाउँछ। पशुपालनमा प्रयोग भएको एन्टिबायोटिक मल, पानी वा फोहोरमार्फत वातावरणमा पुग्छ। यसले वातावरणमा प्रतिजैविक प्रतिरोधको विकासमा योगदान पुर्याउँछ। प्रतिरोधी ब्याक्टेरियाहरू खाद्यान्न (मासु, दूध) र वातावरण (मल, पानी) मार्फत मानिसमा सर्न सक्छन्।
पशु चिकित्सकहरूको भूमिका
प्रतिजैविक प्रतिरोध नियन्त्रण गर्न पशु चिकित्सकहरूको भूमिका अपरिहार्य छ। पशु स्वास्थ्यको मात्र नभई मानव स्वास्थ्य र खाद्य सुरक्षाको क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान दिन सक्छन्।
पशु चिकित्सकहरूको प्रमुख जिम्मेवारीमध्ये एक हो-प्रतिजैविकको सही, आवश्यक र सुरक्षित प्रयोग सुनिश्चित गर्नु। रोग पहिचानपछि मात्र उचित औषधि सिफारिस गर्ने, अनावश्यक वा अत्यधिक प्रतिजैविक प्रयोग रोक्ने। सम्भव भएसम्म प्रयोगशालामा कल्चर तथा सेन्सिटिभिटी टेस्ट (कल्चर एण्ड सेन्सिटिभिटी) गरी कुन औषधिले काम गर्छ, सोही मात्र प्रयोग गर्नुपर्छ। भाइरल रोगहरूमा एन्टिबायोटिक प्रयोग गर्नु हुँदैन। औषधिको सही मात्रा र पूरा अवधिसम्म प्रयोग गर्न निर्देशन दिनु पशु चिकित्सकको कर्तव्य हो। मानिसको जीवन बचाउन प्रयोग हुने महत्त्वपूर्ण एन्टिबायोटिक्सहरूलाई पशुपालनमा प्रयोगमा पूर्ण रूपमा बन्द गर्नुपर्छ। “उपचारभन्दा रोकथाम राम्रो” भन्ने उखान एन्टिमाइक्रोबियल प्रतिरोध नियन्त्रणमा चरितार्थ हुन्छ। पशु चिकित्सकले फार्महरूमा रोग लाग्नै नदिने वातावरण सिर्जना गर्न मद्दत गर्नुपर्छ। फार्ममा सरसफाइ, कीटाणुनाशक प्रयोग, बाहिरी मानिस वा जनावरको प्रवेशमा नियन्त्रणजस्ता बायोसेक्युरिटीका उपायहरू लागू गर्न पशु चिकित्सकले किसानलाई सिकाउनुपर्छ। नियमित र प्रभावकारी खोपले पशुहरूलाई रोग लाग्नबाट बचाउँछ, जसले गर्दा एन्टिबायोटिकको आवश्यकता स्वतः कम हुन्छ।
स्वस्थ आहार, स्वच्छ पानी र उपयुक्त बासस्थानले पशुहरूको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, जसको लागि पशु चिकित्सकको परामर्श महत्त्वपूर्ण हुन्छ।
पशु चिकित्सकहरूले कुन रोगमा कुन एन्टिबायोटिक कति मात्रामा प्रयोग भइरहेको छ र कुन औषधिले काम गर्न छाड्यो भन्ने तथ्याङ्क सङ्कलन गरी सरकारी निकायमा रिपोर्ट गर्नुपर्छ। यसले राष्ट्रिय योजना बनाउन मद्दत गर्छ। प्रयोगशालाहरूसँग समन्वय गरी प्रतिरोध क्षमताको स्तर मापन गर्नुपर्छ।
एन्टिबायोटिकको खतरा, सही प्रयोग विधि र वैकल्पिक उपायहरूबारे किसानहरूलाई नियमित तालिम दिनुपर्छ। मासु र दूधको माध्यमबाट सर्न सक्ने जोखिमबारे उपभोक्ताहरूलाई सचेत गराउनुपर्छ (जस्तै : दूध उमालेर मात्र खाने, मासु राम्ररी पकाएर खाने)। सरकारलाई एन्टिबायोटिक प्रयोगसम्बन्धी कडा नीति र कानुन बनाउन प्राविधिक सहयोग र सुझाव दिनुपर्छ।
निष्कर्ष
एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) एक अदृश्य महामारी हो। जसले मानव र पशु स्वास्थ्य दुवैलाई उत्तिकै खतरामा पारेको छ। यसको नियन्त्रणका लागि पशु चिकित्सकहरूको भूमिका महत्त्वपूर्ण छ। एन्टिबायोटिकको विवेकपूर्ण प्रयोग सुनिश्चित गरेर, संक्रमण रोकथामका उपायहरू अपनाएर र किसानहरूलाई शिक्षित गरेर यो विश्वव्यापी चुनौतीसँग जुध्न महत्त्वपूर्ण योगदान दिन सक्छन्। “औषधि होइन, व्यवस्थापनले पशु स्वस्थ बनाउँछ” भन्ने सोचसँगै सामूहिक रूपमा अभियान चलाउन आवश्यक छ।
नेपालजस्तो कृषिप्रधान देशमा जहाँ पशुपालनको महत्त्व धेरै छ, त्यहाँ पशु चिकित्सकहरूको सक्रियता बिना एएमआर नियन्त्रण असम्भव छ। सबै सरोकारवालाहरूले “वन हेल्थ” अवधारणालाई व्यवहारमा लागू गर्दै अघि बढेमा मात्र भावी पुस्ताका लागि प्रभावकारी औषधिको उपलब्धता सुनिश्चित गर्न सकिन्छ।
डा. ठाकुर भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धनुषाका कार्यालय प्रमुख हुन्







