ताप्लेजुङ । अवरुद्ध रहेको ताप्लेजुङको ओलाङचुङगोला जाने सडक मर्मतपछि पुनः सवारीसाधन सञ्चालनमा आउन थालेका छन् ।
सुपर तमोर हाइड्रोपावर कम्पनीको सहयोगमा सडक सफाइ र मर्मत सम्पन्न भएपछि दुई वटा मोटरसाइकल र एउटा ट्याक्टर ओलाङचुङगोलासम्म पुगेका छन् ।
फक्ताङलुङ गाउँपालिका-७ का वडाध्यक्ष छेतेन शेर्पाका अनुसार वर्षातका समयमा विभिन्न स्थानमा सडक भासिँदा र पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । हाल उक्त सडक मर्मतपछि सुके पानीदेखि ओलाङचुङगोला-टिप्ताला सडक खण्ड फेरि सञ्चालनमा आएको उनले जानकारी दिए ।
सडक खुलेसँगै स्थानीय बासिन्दाले मोटरसाइकलसहितका साना सवारीसाधन चलाउन थालेका छन् । तर सुके पानी र जोङिगन क्षेत्र हुँदै बग्ने तमोर नदीमा पानीको बहाव अझै उच्च रहेकाले सवारीसाधन तार्न कठिनाइ रहेको स्थानीयले बताएका छन् ।
एक दुई हप्ताभित्र तमोरको पानीको बहाव घट्ने अनुमान गरिएको छ । त्यसपछि ह्युम पाइप राखेर साना सवारी सहज रूपमा आवतजावत गर्न सक्ने व्यवस्था मिलाउने तयारी भइरहेको वडाध्यक्ष शेर्पाले बताए ।







