नेपालगञ्ज । बाँकेको कोहलपुर-१४ मा रहेको हुलास खाद्य उद्योग प्रा.लि.मा अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रिएको आँटा भेटिएपछि नियामक निकायले तत्काल कारबाही गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जको टोलीले गरेको आकस्मिक निरीक्षणमा गोदाममा ९१ बोरा (कुल ४,५५० किलोग्राम) म्याद सकिएको आँटा फेला परेको थियो । ती आँटा खाद्य कार्यालय, जिल्ला प्रशासन, वडा जनप्रतिनिधि र उद्योग व्यवस्थापकको रोहवरमा उद्योग परिसरमै खाल्डो खनेर पूर्ण रूपमा नष्ट गरिएको छ ।
नष्ट गरिएका आँटामध्ये ब्याच नं. ३६ (उत्पादन मिति २०८२ साउन ९, म्याद २०८२ असोज ८) का ३० बोरा, ब्याच नं. ४० (उत्पादन मिति २०८२ साउन १५, म्याद २०८२ असोज १४) का ३६ बोरा र ब्याच नं. ४७ (उत्पादन मिति २०८२ भदौ २४, म्याद २०८२ कात्तिक २३) का २५ बोरा थिए। अनुगमनको दिनसम्म यी सबै आँटाको म्याद ४३ देखि ६५ दिनसम्म गुज्रिसकेको थियो। बजार मूल्य करिब २ लाख ६४ हजार रहेको उक्त स्टक पूरै डम्प गरिएको हो ।

निरीक्षण टोलीमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोखरेल, खाद्य अनुसन्धान अधिकृत रामहरी लामिछानेसहित जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रतिनिधि सहभागी थिए । कार्यालयले उद्योगलाई तीन दिनभित्र सबै म्याद गुज्रिएको स्टक नष्ट गर्न र २४ घण्टाभित्र उत्पादन–बिक्री–स्टकको पूर्ण अभिलेख पेश गर्न लिखित निर्देशन दिएको थियो । सोही अनुशार उद्योगले बिहीवार म्याद गुज्रेको आँटा नष्ट गरेको हो ।
अनुगमनका क्रममा उद्योगको सरसफाई सामान्य मात्र पाइएको, खाद्य वस्तुको ट्रेसेबिलिटी प्रणाली पूर्ण रूपमा अनुपस्थित रहेको तथा प्याकिङमा प्रयोग भएका कागजी ट्यागको आधा भाग बोरा भित्र पस्ने र म्याद स्पष्ट नदेखिने जस्ता गम्भीर कमजोरी भेटिएको थियो। यस्तै, प्रिन्टेड कागज सिधै आँटा-मैदासँग सम्पर्कमा आउने जोखिमपूर्ण अभ्यास पनि देखिएको थियो ।
पछिल्लो समय म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्य पदार्थ बिक्री वितरणका उजुरी बढेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशव्यापी विशेष अनुगमन अभियानलाई तीव्र पारेको छ । ठूला तथा स्थापित ब्रान्डले नै उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्नु गम्भीर अपराध भएको भन्दै यस्ता उद्योगमाथि कडा कारबाही हुनुपर्ने उपभोक्ताहरुले बताउँदै आएका छन् ।







