काठमाडौँ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने विभिन्न रैथाने बालीहरूको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।
गाउँपालिकाको आर्थिक विकास समितिले चालु आर्थिक वर्ष २०८२-८३ का लागि कृषि उपजहरूको नयाँ मूल्य तोक्ने निर्णय गरेको हो ।
नयाँ दररेट अनुसार कोदो र धानको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ६० रुपैयाँ कायम गरिएको छ । यस्तै, फापर प्रजातितर्फ तिते फापरको मूल्य ९० रुपैयाँ र मिठे फापरको मूल्य १ सय ५ रुपैयाँ निर्धारण गरिएको हो ।
गाउँपालिकाले जुनेलोको समर्थन मूल्य प्रतिकेजी ८४ रुपैयाँ तोकेको छ भने सेतो सिमिको मूल्य १ सय २० रुपैयाँ कायम गरेको कृषि शाखाले जनाएको छ ।
यसैगरी, कालो सिमिको मूल्य भने प्रतिकेजी १ सय ३० रुपैयाँ निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ ।
पालिकाले यस पटक पनि विगतको वर्षमा जस्तै कृषक, कृषक समूह र सहकारी संस्थाहरू मार्फत रैधाने वाली खरिदबिक्री गरी सोझै किसानलाई अनुदान बापतको रकम प्रदान गरिने जनाएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा कृषि विकास कार्यक्रमअन्तर्गत रैथाने बाली खरिद-बिक्री अनुदान कार्यक्रम सहकारीमार्फत कार्यान्वयनमा ल्याएको थियो ।
पालिकामा गतवर्ष करिब १८० क्विन्टल रैथानेले बाली उत्पादन भएको थियो । यस वर्ष गत वर्षको तुलनामा उत्पादन वृद्धि हुने अपेक्षा पालिकाको छ ।
प्राय: पालिकाको सबै वडामा रैथाने बाली खेती हुने भएपनी वडा नम्बर १, २, ४, ७ र ८ कोदो पकेट क्षेत्र मानिन्छ । वडा नम्बर ६ र ८ लाई फापरको पकेट क्षेत्रका रूपमा रहेको छ ।
करिब ५ सय घरधुरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पालिकाको रैथाने बाली प्रवर्द्धन कार्यक्रमबाट लाभान्वित छन् भने करिब ६ सय हेक्टरमा खेती हुने गरेको गाउँपालिकाले जनाएको छ ।
यहाँका सामुदायिक विद्यालयहरूको दिवा खाजामा रैथाने परिकार बनाइने गरिन्छ ।







