काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकार र जेन जेडबीच भएको सम्झौता देशका लागि कोशेढुंगा भएको टिप्पणी गरेकी छन् । आज सिंहदरवारमा सम्झौता पत्रमा हस्ताक्षर गर्दै उनले यो सम्झौताले जेन जेड आन्दोलनको उपलब्धिलाई संस्थागत गर्ने बताइन् ।
‘ऐतिहासिक रेकर्ड बन्यो, भोलि राजपत्रमा छापिन्छ । यो एउटा बलियो डकुमेन्ट छ । यसले भोलिको परिवर्तनलाई गाइड गर्छ र संविधान बनाउन पनि गाइड गर्छ,’ हस्ताक्षरपछि बोल्दै उनले भनिन् ।
सम्झौतामा दुई पक्ष भए पनि आफू जेन जेडकै पक्षमा रहेको कार्कीले बताइन् । सरकारमा रहुन्जेलसम्म सहिद युवाहरूका लागि समर्पित रहने उनको भनाइ छ ।
प्रधानमन्त्री कार्कीले जेन जेड अगुवा भनिएका सुधन गुरुङलाई आफ्नो जेठो छोरो भनेर सम्बोधन गरिन् ।
उनले भनिन्, ‘म तपाईँहरू सबैको आमा हुँ । आर्यघाट नपुग्दासम्म आमा नै रहनेछु । तपाईँहरू मेरो सन्तान हो । छोराछोरी हो । म अर्को पक्ष होइन ’ उनले भनिन् ।







