काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिने १४ दलले समानुपातिकतर्फ भने भाग नलिने भएका छन् ।
निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फको निर्वाचनमा भाग लिएर पनि समानुपातिकतर्फ भाग नलिने दलको संख्या १४ रहेको छ ।
यद्यपि ती १४ दलमध्ये कतिपयले भने अर्को दलको निर्वाचन चिन्हमा समानुपातिकतर्फ भाग लिने भएकाले छुट्टै आफ्नो दललाई समानुपातिकतर्फ भाग नलिने गरी दल दर्ता नगराएका समानुपातिकतर्फका सहायक निर्वाचन अधिकृत एवं आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार समानुपातिकतर्फ भाग लिनका लागि ९३ निर्वाचन चिन्हमा १०० दलले दर्ता गराएका छन् ।
प्रत्यक्षतर्फ भाग लिएर समानुपातिकतर्फ भाग नलिने १४ दलमा राष्ट्रिय समता पार्टी नेपाल, विकासशील जनता पार्टी, राष्ट्रिय साझा पार्टी, परिवर्तन पार्टी, युनाईटेड नेपाल डिमोक्रेटिक पार्टी, नेपाल नौलो जनवादी पार्टी, राष्ट्रिय समुन्नति पार्टी, राष्ट्रवादी केन्द्र नेपाल, राष्ट्रवादी युवा मोर्चा, लोक दल, राष्ट्रवादी एकता पार्टी, विवेकशील साझा पार्टी, देशभक्त लोकतान्त्रिक पार्टी, नेपाल र सर्वोदय पार्टी छन् ।








