काठमाडौँ । लुम्बिनी प्रदेशको राजधानीलाई आर्थिक हिसाबले चलायमान बनाउन बुटवल-भैरहवा र नेपालगन्जसँग जोड्न आवश्यक भएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताएका छन् ।
लुम्बिनीका मुख्यमन्त्रीसहितको उपस्थितिमा लुम्बिनी प्रदेशको राजधानीको मास्टर प्लानको समीक्षा कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले उत्तर-दक्षिण, पूर्व-पश्चिमका पूर्वाधार, सहर तथा नाकालाई जोडेर अघि बढ्दा राजधानीको प्रभावकारिता बढ्ने धारणा व्यक्त गरेका हुन् ।
लुम्बिनी प्रदेशको राजधानीमा लगानीका लागि धेरै अवसरहरू रहेको उल्लेख गर्दै ज्ञवालीले पानी, यातायातसहित आवश्यक पूर्वाधारहरूको उपलब्धता भए निजी क्षेत्रको लगानी बढ्ने बताए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजधानीसँग जोडिएका सडकहरूलाई छिटोभन्दा छिटो व्यवस्थित रूपमा अघि बढाउने बताए । पर्यटकीय क्षेत्रहरूलाई पनि जोड्न पहल जारी राखेको उनको भनाइ थियो । लगानी जुटाई दिनका लागि सहयोग गर्न पनि उनले आग्रह गरेका छन् ।
कार्यक्रमका सहभागीहरूले कृषि, लगानी, राप्ति सभ्यता, स्वर्गद्वारी मन्दिर, स्वास्थ्य, शिक्षा, जनजीवन लगायतलाई पनि राजधानीसँग जोड्न आवश्यक भएको धारणा व्यक्त गरेका थिए । उनीहरूले सुझावलाई समेटेर मास्टर प्लानलाई कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने बताए ।
लुम्बिनी प्रदेशको राजधानीसम्बन्धी मास्टर प्लान तयार भई कार्यान्वयनको प्रक्रियामा छ । कार्यक्रममा सहरी विकास मन्त्रालयका सहसचिव, लगानी बोर्डका सहसचिव, लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष, लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, विज्ञ लगायतको उपस्थिति थियो ।







