काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाको नेतृत्वमा बनेको बहुविशिष्टीकृत बाल अस्पताल सञ्चालनमा आएको छ ।
बालबालिकाको स्वास्थ्य सेवामा क्रान्तिकारी परिवर्तन ल्याउने उद्देश्यले खोलिएको अस्पताल काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच)ले आइतबारबाट ओपिडी सेवा सञ्चालन गरेको हो ।
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-७ मा रहेको बाल अस्पतालमा दुई हप्ता भित्र इन्डोर सेवा पनि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
उक्त अस्पतालमा बालरोगका विशेषज्ञ डाक्टरहरूबाट परामर्श सेवा, एक्स-रे, ईसीजी, इको, अल्ट्रासाउन्ड र प्रयोगशाला परीक्षण लगायतका सबै डायग्नोस्टिक सुविधाहरू उपलब्ध गराइएको डा. कोइरालाले जानकारी दिएका छन् ।
अस्पतालमा हाल ५० भन्दा बढी बेडको व्यवस्था गरिएको छ । ६ महिनाभित्र अस्पताललाई १०० बेडमा विस्तार गर्ने र एक वर्ष भित्र २०० बेडको अस्पताल बनाउने लक्ष्य लिइएको उनले बताए ।
डा. कोइरालाले काठमाडौँमा केन्द्रीय अस्पतालसहित सातै प्रदेशमा स्याटेलाइट सेन्टर स्थापना गर्ने महत्वाकांक्षी योजना अघि बढाएका छन् ।
जसअन्तर्गत स्याटेलाइट सेन्टरको रूपमा पहिलो पटक कोशी प्रदेशको दमक नगरपालिकामा नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराएको भवनबाट बाल अस्पताल सञ्चालनमा आइसकेको छ ।
केन्द्रीयस्तरमा काठमाडौँमा २०० बेडको अस्पताल र अन्य प्रदेशमा आवश्यकताअनुसार ५० देखि १०० बेडको अस्पताल निर्माण गर्ने लक्ष्य रहेको छ ।







