काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि सम्भावित उम्मेदवार सिफारिस गर्न निर्वाचन क्षेत्रीय कमिटीहरूलाई पुस २० सम्मको समय दिएकोमा धेरै क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस भएको छ । कतिपय कमिटीहरूमा छलफल जारी छ ।
केही जिल्लामा उम्मेदवारका आकांक्षीहरूबीच कमिटीमा मतदान समेत भएका छन् । एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भनेकोमा धेरै क्षेत्रबाट सबै आकांक्षीको नाम प्रदेशमा पठाइएको छ । कतिपय क्षेत्रबाट भने एक जनाको नाम मात्र सिफारिस गरिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भएका हुन् । कोशीबाट ओली-झापा ५, सुहाङ नेम्वाङ-इलाम २, मधेशबाट लीलानाथ श्रेष्ठ-सिरहा ३, लक्ष्मी महतो कोइरी-महोत्तरी १, हरि उप्रेती-सर्लाही ३, अजय गुप्त-रौतहट १, बागमतीबाट बद्री मैनाली-नुवाकोट १, मणिराम फुयाँल-काठमाडौँ २ (प्रस्ताव), गण्डकी बाट तिलक महत-नवलपुर २ मिलन गुरुङ-गोरखा २, लुम्बिनीबाट प्रदीप ज्ञवाली-गुल्मी १, सूर्य ढकाल- बाँके १, दलबहादुर सुनार-बाँके ३, विश्राम चौधरी-कपिलवस्तु १, कर्णालीबाट ध्रुव शाही-सुर्खेत १, कलाधर देवकोटा-सुर्खेत २, गुलाबजंग शाह-सल्यान र सुदूरपश्चिमबाट लेखराज भट्ट-कैलाली ४ मा सफारीस भएका छन् ।







