काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर मापदण्ड पूरा नगरेको ठहर गर्दै ‘रेबोट रिफ्रेस’ ब्रान्डअन्तर्गतका म्याङ्गो र गुवावा पेय पदार्थ तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमुनाको प्रयोगशाला परीक्षण गर्दा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम न्यून स्तरको पाइएकाले सम्बन्धित उत्पादन फिर्ता गर्न आदेश जारी गरिएको जनाएको छ।
विभागका अनुसार ‘रेबोट रिफ्रेस’ ब्रान्डको २५० मिलिलिटर क्षमताको म्याङ्गो पेय पदार्थ ब्याच नम्बर जेएम-१२ र गुवावा पेय पदार्थ ब्याच नम्बर जेजी-६ तोकिएको गुणस्तर मापदण्डमा नपरेको ठहर गरिएको हो। ती उत्पादनहरूको उत्पादन मिति २०८२ साल भदौ महिनामा रहेको र उपभोग्य अवधि १२ महिना तोकिएको विभागले जानकारी दिएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) बमोजिम उक्त ब्याच नम्बरका सबै खाद्य पदार्थ तत्काल बजारबाट फिर्ता गर्न तथा उक्त ऐनको दफा ४ बमोजिम बिक्री–वितरण नगर्न तथा नगराउन विभागीय निर्णयअनुसार आदेश जारी गरिएको स्पष्ट पारिएको छ।
उक्त पेय पदार्थ काठमाडौँ जिल्लाको दक्षिणकाली-१ मा रहेको रेबोट स्प्रिङ्स मिनरल वाटर प्रा.ली. बाट उत्पादन गरिएको हो। विभागले उपभोक्तालाई सम्बन्धित उत्पादन उपभोग नगर्न आग्रह गर्दै व्यवसायी तथा सरोकारवाला निकायलाई आदेशको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न अनुरोध गरेको छ।
यसअघि पनि विभागले सोही ब्रान्डअन्तर्गतका अन्य पेय पदार्थ तथा प्रशोधित पिउने पानीमा गुणस्तर मापदण्ड नपुगेको ठहर गर्दै बजारबाट फिर्ता गर्न आदेश जारी गरिसकेको जनाएको छ।
यसैबीच, विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै खाद्य पदार्थको गुणस्तर सुनिश्चित गर्न नियमित बजार अनुगमन, प्रयोगशाला परीक्षण, सचेतनामूलक कार्यक्रम तथा कानुनी कारबाहीलाई निरन्तरता दिँदै आएको जनाएको छ। यसबाट उपभोक्ताले शुद्ध र सुरक्षित खाद्य पदार्थ उपभोग गर्न पाउने अधिकार सुनिश्चित हुनुका साथै स्वच्छ र जिम्मेवार बजार प्रवर्द्धनमा समेत टेवा पुगेको विभागको भनाइ छ।







