काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीप्रति व्यक्त भएको विश्वासलाई आगामी निर्वाचनमा मतका रूपमा अभिव्यक्त गर्न आग्रह गरेका छन् ।
मंगलबार सुनसरी-२ अन्तर्गत झुम्कामा आयोजित भेटघाट तथा भेलामा उनले पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो अपिल गरेका हुन् ।
थापाले यस क्षेत्रबाट काँग्रेसका उम्मेदवार राजीव कोइरालालाई विजयी गराउन सहयोग गर्न आग्रह गर्दै जनताले काँग्रेस र नेतृत्वप्रति देखाएको भरोसालाई व्यवहारिक समर्थनमा बदल्नुपर्ने बताए । उनले आफूले व्यक्त गरेका प्रतिबद्धता पूरा गर्ने दायित्व स्वीकार गर्दै त्यसका लागि अवसर दिन अनुरोध गरे ।
कार्यकर्तालाई जनस्तरसम्म पुगेर काँग्रेसले गरेका काम र पूरा भएका प्रतिबद्धताबारे जानकारी गराउनुपर्ने आवश्यकता औँल्याउँदै उनले पार्टीले विगतका कमजोरी सच्याउँदै नयाँ ढंगले अघि बढेको दाबी गरे । काँग्रेस परिवर्तनसहित जनअपेक्षा अनुसार अघि बढिरहेको सन्देश जनतासमक्ष पुर्याउन उनले जोड दिए ।
उनले निर्वाचन आचारसंहिताका कारण विस्तृत धारणा सार्वजनिक गर्न सहज अवस्था नरहे पनि सुधारिएको काँग्रेसले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर तथ्य र आधारका साथ काम गर्नुपर्ने उल्लेख गरेका छन् ।







