काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले नेपाललाई अहिले सुधार चाहिएको र सुधारको ग्यारेन्टी लिएर आफूहरू उभिएको बताएका छन् ।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले अबको पाँच वर्ष खेर नफाल्ने गरी संकल्प र योजनासहित आफूहरू आएको बताएका हुन् । उनले नागरिक तहमा विशेष गरी युवा पुस्तामा असन्तोष बढिरहेको उल्लेख गर्दै देश सञ्चालनको वर्तमान शैलीप्रति युवाहरूको गुनासो जायज रहेको बताए ।
सभापति थापाले देश परिवर्तनका लागि आवेग, रिस वा उत्तेजना मात्र पर्याप्त नहुने पनि जिकिर गरे । देश बनाउन सबै राजनीतिक दलहरूको सहभागिता र सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
देशमा रहेका सबै राजनीतिक दललाई समेटेर अघि बढ्ने राजनीति आजको आवश्यकता रहेको र त्यो भूमिका नेपाली काँग्रेसले निर्वाह गर्ने दाबी उनले गरे ।







