काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको जहाँबाट हेरे पनि एमालेले गरेको विकास देखिने बताएका छन्।
सोमबार झापाको दमकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेको बारेमा प्रश्न उठाउने ठाउँ नरहेको जिकिर गरेका हुन्।
‘जहाँ कुरा गरिएको छ त्यही ठाउँबाट वरिपरि हेर्यो भने एमालेले गरेको विकास देखिन्छ। देशको जहाँ उभिएको छ, त्यो ठाउँबाट वरिपरि हेर्दा एमालेले गरेको विकास देखिन्छ। एमाले त्यस्तो विकास प्रेमी र विकास हाँक्ने पार्टी हो भन्ने सबैलाई थाहा छ,’ उनले भने।
व्यक्तिको जन्मअघिदेखि अन्तिम संस्कारसम्मको अवधिमा आवश्यक काम एमालेले गरेको जिकिर गर्दै ओलीले भने, ‘तै पनि एमालेको बारेमा प्रश्न उठाउने भनेको कि त बुझ्दै नबुझ्नेले हो कि अरू नै कुराबाट प्रभावित भएर प्रश्न उठाउँछ। नेकपा एमालेको बारेमा प्रश्न उठाउने ठाउँ नै छैन।’







