काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेले नागरिकसँग गरेका वाचा पूरा गर्ने बताएका छन् । उनले चुनावबाट प्राप्त जनमतको सम्मान गर्दै अगाडि बढ्ने बताए ।
प्रतिनिधि सभा चुनावमा चितवन-२ को मतपरिणाम शनिबार सार्वजनिक भएको थियो । उक्त क्षेत्रबाट निर्वाचित भएपछि प्रतिक्रिया दिँदै लामिछानेले अब कामको सुरुवात गर्ने बताएका हुन् । ‘हामीलाई नागरिकका अपेक्षा बारे जानकारी छ । तिनै अपेक्षालाई हामीले संकलन गरेर नागरिकसँग बाचा गरेका छौँ र यसपटक त हामीले नागरिकसँग करार गरेका छौँ । त्यसकारणले तिनै कुरा पुरा गर्ने हाम्रो उद्देश्य रहन्छ, ’लामिछानेले भने, ’संयमित भएर, सम्हालिएर, सबैलाई सम्मान गर्दै, नमातिकन, नआतिकन हामी काम अगाडि बढाउँछौँ ।’
संसदमा रास्वपाले ठुलो मत प्राप्त गरेको भए पनि प्रतिपक्षको सम्मान गर्ने लामिछानेको भनाइ थियो । नागरिकले गरेको अपेक्षा र आशा पूरा गर्नका लागि रास्वपाले काम गर्ने लामिछानेको भनाइ थियो ।







