उठान
पहिलो अनुभव: सन् २०१० मा इरजराइलको हिब्रु विश्वविद्यालयमा फेलोसिपमा अनुसन्धानकर्ताको रूपमा काम गर्दा छात्र बास (डोर्मिटोरी)मा बसिन्थ्यो, डोर्मिटोरीमा तीन वटा कोठाको भाञ्छाकोठा साझा थियो । विश्वका विभिन्न देशका मानिसहरू त्यो विश्वविद्यालयमा अनुसन्धान गर्न र पढ्न आउने हुँदा, एक अर्को मुलुकको संस्कार र संस्कृति सिकुन् भनेर प्राय ती कोठाहरूमा छुट्टाछुट्टै देशका विद्यार्थी राखिने चलन रहेछ । शुरुमा म र कोरियाका झु भन्ने साथी दुई वटा कोठामा बसेका थियौँ, एउटा कोठा खाली थियो । केही समयपछि ती कोरियाका साथी आफ्नै देश फर्किए । त्यसपछि एउटामा म वस्थ्यें अरु दुई वटामा संयुक्त राज्य अमेरिकाका जो र टिम भन्ने मास्टर्स लेभल पढ्ने जुनियर साथीहरू बस्थे । उनीहरू प्राय शनिवार र आइतबार कोठामा हुँदैन थिए । उनीहरूले हाइकिङ गएको भन्थे, मैले त्यो हाइकिङ भनेको सुनेको पनि थिइन, बुझ्ने कुरै भएन् । उनीहरूका लागि यसले बुझेको छैन भन्ने अनुमानसम्म थिएन होला । एक पटक एक हप्ता विश्वविद्यालय बन्द हुने भयो । उनीहरूले एक हप्ताको पैदल यात्रा गर्ने योजना बनाएछन् । सँगै जाने हो भनेर भनेर मलाई सोधे, म जान हौसिए । उनीहरूको बुझाइमा हाइकिङ भनेको पहाडको पदयात्रा रहेछ । विभिन्न पहाड चढ्दै हाइकिङ गर्ने भनेर सुनाए । हाम्रो यात्रा शुरु भयो । उनीहरूले अग्ला अग्ला भनेका पहाड हामीलाई खासै अग्लो लाग्दो रहेन छ । सानो थुम्को परेको भागलाई पनि पहाड (माउन्टेन) भन्दा रहेछन् ।
त्यो पदयात्रा अत्यन्तै रोचक भएको थियो । खाने कुरा आफैले लिएर जाने । रातमा आफैले लगेको सिलिपिङ्ग म्याट ओछ्याएर सुत्ने । रातमा खुला आकाशमा सामान्यतया जंगलको नजिक पारेर बास बस्ने (उनीहरूको भाषामा क्याप्यान गर्ने) । त्यही आफूले लगेको खानेकुरा खाने । झोलालाई सिरानी बनाएर सुत्ने । ती अमेरिकन साथीहरू एक पसार (करिब २ मुठ्ठी) बदाम खाए पछि डाइट पुगिहाल्यो भन्दा रहेछन् , पानी र त्यस्तै ड्राइफुडले दिनौँ बिताउँदा रहेछन् । तर हामीलाई बिहान बेलुकी पेटभरि भात खाने बानी लागेकोले होला आफूलाई भने खानका कारणले साह्रै मुस्किल परेको थियो ।
यात्राको क्रममा एक दिन राती मस्त निदाएको वेलामा जंगलवाट स्याल आएछ र सिरानी बनाएको मेरो ब्याग प्याक (झोला) तानेर झोलामा भएको सुन्तला लगेको विषय विस्मृतिमा जान सकेको छैन । रोचक र रमाइलो मात्र होइन त्यति वेला मलाई साह्रै डर लागेको थियो । अमेरिकन भाइहरू छ जना र म गरी जम्मा सात जना थियौँ । म अरूभन्दा उमेरले पाको भएकाले म जंगलपट्टि छेउमा सुतेको थिएँ । त्यस पदयात्राबाट अनौपचारिक रूपमा अभूतपूर्व सिकाइ भएको थियो । इजरायलका स्थानीय वस्तिहरूका रहनसहनका बारेमा, अमेरिकन संस्कार र संस्कृति एवम् स्थानीय भूगोल आदिका बारेमा र चिरस्मरणीय छन् । उनीहरूको पठनपाठनमा हाइकिङलाई एउटा अभिन्न अङ्गको रूपमा अवलम्बन गर्दा रहेछन् ।
थप जानकारी: पछि शिक्षा मन्त्रालयको वैदेशिक शाखा (विकास साहायता समन्वय शाखा) मा काम गर्दा युनेस्कोमा काम गर्ने एक जना जिमी नाम गरेका मित्रले नेपालमा पदयात्राका बारेमा कुरा गर्थे, तथापि खासै ध्यान पुगेको थिएन । उनी नेपालमा करिब दुई दशक देखि बस्दै आएका र नेपालका धेरै ठाउँहरूमा पदयात्रा गरिसकेका मानिस थिए । उनीसँग प्राय भेट हुन्थ्यो । एक हप्ता जति उनी आएनन् । उनी त काठमाणडौं उपत्यकालाई घेरेका पहाडहरूको टुप्पाटुप्पाहुँदै उपत्यकालाई एक फन्को मार्न पो गायब भएका रहेछन् । कहीँ सहज कहीँ असहज ÷ खास गाह्रो एकदुई ठाउँ मात्र हो, साह्रै रमाइलो हुन्छ।भयो भनी उनी सुनाएको कुराले मलाई पनि लोभ्याएको थियो ।
साथीको आत्मीय अभिव्यक्ति: सरकारी जागिरबाट अवकाश भएपछि फेरि एउटा अर्को जागिर शुरु भयो । एक दिन कीर्तिपुरमा सँगै पढेका पद्मकन्याम्पसमा प्राध्यापन गरिरहेका मित्र बम थापाले मेरो दिन चर्याको बारेमा आत्मीय भावमा जिज्ञासा राखे । मेरो प्रतिक्रिया पछि, सरकारी जागिर पछिको जागिरको बारेमा व्यङ्ग्यात्मक र खरो टिपोट पो गरे । तपाइ पैसा कमाउन लाग्नु भएछ, अझ प्रोजेक्टमा डलरै कमाउनु हुन्छ होला । तपाइको डलरले बुढेसकालमा औषधीको गोली किन्नु होला, म त निवृत्त भए पछि थप काम त एक दिन पनि गर्दिन । अहिलेसम्म औषधी केही खाएको छैन । सायद स्वास्थ्य यस्तै गरी कायम राख्छु होला, भनेर पूर्ति साथ सुनाए । उनको आत्मविश्वास र शारीरिक अवस्था साँचै नै लोभ लाग्दो थियो र छ । उनको भनाइमा खरो पना भए पनि साथी प्रतिको आत्मीय भाव पनि थियो । उनको भनाइ थियो प्रकृतिको सामीप्यमा पदयात्रा गर्नु पर्छ, धेरै आनन्द आउँछ । जहाँ पायो त्यही हिँड्ने होइन जङ्गलमा हिँड्नु पर्छ ।
उनी एक दिनमा ३०।३५ किलोमिटरसम्म हिँड्दा रहेछन् । एक हप्तामा एक दिन अनिवार्य पदयात्रा गर्ने, सकभर प्रकृतिको सामिप्यतामा । प्राय शनिवारको दिन अरु साथीहरूसँग हाइकिङ गर्दा रहेछन् । साथीहरू नभएको अवस्थामा एक्लै पनि हिँड्ने रहेछन् । ×झोलामा छाता, पानी र खानेकुरा राखेर हिँड्ने हो केही फरक पर्दैन । काठमाण्डौंका सेरोफेरो जङ्गलमा हिंडन केही समस्या छैन” भन्ने उनको खारिएको अनुभव सहितको ठहर थियो । यी पृष्ठभूमिले ममा विस्तरै हाइकिङ गर्ने योजना मनमा बन्न थालेको थियो । खास रहर के थियो भने काठमाण्डौं उपत्यकाको टुप्पाहरूबाट उपत्यकालाई एक फन्को लगाउने ।
पदयात्रा शुरु : यही क्रममा कहाँबाट कसरी शुरु गर्ने भन्ने सोचकै क्रममा युवा मित्र मिलन पौडेल धेरै समय देखि त्यसरी पैदल यात्रा गर्ने गरेको जानकारी भयो । भेट गरेर कुराकानी पनि गरियो । उनको सल्लाह अनुसार त्यसपछिको शनिवार ठुलो र युवायुवतीहरू भएको हाइकिङ समूह छ; जुन विगत ५।६ वर्षदेखि हाइकिङ गरिरहेको छ, त्यसैमा मिस्सिने कुरा भयो । नजिकमा भएका साथीहरू वेदराज पराजुली, सशिलबाबु खनाल, मिलन र म चार जना सो समूहमा मिस्सिन पुग्यौँ । सुन्दरीजलवाट यत्रा शुरु भयो ओख्रेनी बागद्वार आदि हुँदै बुढानीलकण्ठ निस्किएर साझा बस चढेर करिब १४ घण्टामा घरमा पुगियो । त्यो दिनमा २५ किलोमिटर जति पदयात्रा भएछ ।
यात्राको निश्चित नियम रहेछ सामान्यतया होटेल वा रेष्टुरेण्टमा खाना नखाने, आफूलाई पुग्ने खान आँफेले लग्ने, जंङ्गफुड नलग्ने, शाकाहारी खाना मात्र लग्ने । पानी प्रयाप्त भएको सार्वजनिक ठाउँमा बसेर भरसक समूहमा बाँडिचुँडी खाने । बसेको ठाउँ जङ्गल नै भए पनि फोहर नगर्ने । प्लास्टिकजन्य चिजहरू आफ्नै झोलामा राख्ने । यी सबै कुराले मलाई लोभ्यायो । खर्च पनि खासै नहुने । घरमै बनाएको खाना खाइने । साथीहरूसँग मिलेर खाँदा भोज खाए जस्तो हुने । त्यसपछि मैले करिब लय पक्डेँ ।
निरन्तरता: त्यसपछिको शनिवार हामी स्युचाटारकै साथीहरू मिलेर पैदलै भिमढुङ्गा पुगियो, त्यहाँबाट हाइकिङ रुट समातेर डाँडडाँडै काठमाण्डौंवाट गोरखा देखिने भनिने कालुपाण्डे समाधिस्थल हुँदै नागढुङ्गा पुगियो । अर्को शनिवार थानकोटबाट चन्द्रागिरि हुँदै चम्पादेवी भएर फर्फिङ्ग पुगियो । अर्को एउटा शनिवार सुन्दरीजलवाट नगरकोट, अर्को दिन नगरकोट देखि साँगा, फेरि अर्को दिन साँगाबाट गोदावरी । एवम् रितले फर्फिङ्ग देखि गोदावरी, बुढानीलकण्ठ देखि माथि डाँडा गाउँ हुँदै बालाजु पुगियो । यसरी उपत्यकाका काँठ र पहाडका चुचुराहरू भएर एक फन्को लगाइयो । हाइकिङको क्रममा उपत्यकाका क्रमशः पहिलो (२७८२ फिट) फुलचोकीको टुप्पो, दोस्रो (२७२५ फिट) शिवपुरीको चुचुरो, तेस्रो चन्द्रागिरि (२५०० फिट) र चौथो चोमाजो (करिब २००० फिट) जस्ता चुचुराहरू पनि पुगियो ।
सुन्दरीजलवाट धाप ड्याम हुँदै चिसापानी भएर एक फन्को लगाएर सुन्दरी जलमा आइपुग्ने लगायतका प्रशस्त रमाइला जङ्गलका बिचबिचका बाटाको यात्रा र खोजी भइनै राखेको छ । लेलेबाट गोदावरी, गोदावरीबाट लामाटार छोटो दुरीका पदयात्राका पदमार्गहरू असाध्य नै सुन्दर र कम जोखिम भएका रहेछन् । फर्फिङ्गवाट छैमले हुँदै तल बागमतीमा झरेर निर्माणाधीन काठमाडौँलाई तराइ जोड्ने दूर्तमार्ग अवलोकन गर्दै ललितपुरको भट्टेडाँडाहुँदै लेलेतिर पुग्न पनि कम रमाइलो छैन । ती शनिवारका यात्राहरू मित्र बम थापाले भनेजस्तो कहिले एक्लै, कहिले आफ्नै समूहका साथीहरूमात्र भएर, त कहिले त्यो ठूलो समूहमा मिलेर यात्रा भयो । यस्तो शनिवारको पदयात्रा अहिले पनि विशेष अवस्थामा बाहेक जारी नै छ ।
निरन्तरताको अर्कोक्रम: त्यस्तो पदयात्राले अर्को एउटा रमाइलो पदयात्राको लागि आत्मबल बढायो । सबैभन्दा पहिलो विद्यालय, जहाँ औपचारिक शिक्षाको कक्षा सातसम्म अध्ययन गरेको थिएँ, त्यहाँ जानु पर्ने भयो । काठमाण्डौंवाट पोखरा जहाजमा गएर स्याङ्जाको वालिङतर्फ सार्वजनिक बसको टिकट लिएँ । बसको गति र विलम्बका कारणले त्यो दिन गन्तव्यमा नपुगिने भयो । मनमा नयाँ विचार उत्पन्न भयो । कक्षा सातपछि पढ्ने विद्यालय घरदेखि टढा भएकोले डेरा गरेर बसेर पढिएको थियो । त्यो विद्यालय नपुगेको पनि धेरै भएको थियो । त्यो विद्यालयमा पनि पस्ने इच्छा भयो । बस भाडा परैसम्मको तिरेको भए तापनि बिचमा नै ओर्लिएर त्यता तर्फ लागेँ । साँझ परिसकेकोले सो विद्यालय जाने मोटर भेटिएन । बेलुकी ८ बजेसम्म करिब ७ किलोमिटर पैदल यात्रा गरी, विद्यालयका प्रधानाध्यापकको घरमा बास बसियो । दोस्रो दिन बिहानैबाट पानी पर्न सुरु भयो । ११ बजेको कार्यक्रम भेटाउन करिब २० किलोमिटर परको गन्तव्यको विद्यालय पुग्नु पर्ने थियो । मसँग पदयात्रामा प्रयोग गर्ने उही झोला थियो जसमा यत्राका लागि नभै नहुने समान राखिएको हुन्छ, त्यसमा छाता हुनु स्वभाविक थियो, ठूलो पानी परेमा ओढ्ने रेनकोट जस्तो प्लास्टिक पनि रहेछ । बिहान उज्यालो नहुँदै उठेर प्लास्टिक र छाता ओढेर हिँडिहालेँ ।
गुमार्दी, बासतराखोला, भुरुन्डाँडा, कुसुण्डे, गैरिस्वाँरा, भुँस्वारा, गोफादी हुँदै म गन्तव्यमा पुगेँ । ११ बजेको कार्यक्रम, १० बजे नै पुगियो । जाँदै गर्दा पानी बिदो हुँदै गयो, आकाश खुल्दै गयो । वरपरका गाउँ पाखापखेरा अस्ध्यनै राम्रा देखिए । संयोगले हाम्रो पुरानो घर भएतिरको पाखा, सानोमा गाई बाख्रा चराएका ठाउँ, घाँस काटेका पखेरा, भिर र खरबारी, पौडी खेलेका खोला र पानीका रहहरू छर्लङ्ग देखिएका थिए । बाटोमा भेट भएका मानिसहरूसँग कुराकानी गर्दै गर्दा कतिपयसँग पुरानो चिनजानको पुनरावृत्ति भयो । संयोगले जुटेको त्यो अनन्त अवसरले बाटो काटेको पत्तै भएन् ।
बाल्यकालमा हिँडेका खेलेका छिमेकी बस्ती र ठाउँहरू मकुवारी, सामदी, कोखे, रोजी खोला, खुर्सान्डाँडा, सपाउदे, गहते, कुमेरदङ्ग, बाङ्खे, राम्चे, बरडाँडा, जिमिरे, अन्तरस्वारा, भुरन्डाँडा, घर्तिखोला आदि दृश्यले मन प्रफुल्लित बनायो । पानी परेकाले मोबाइल अफ गरेर झोलाको निकै भित्र कोचिएको थियो, त्यसले आयोजकलाई निकै असहजता बनाएछ । आयोजकबाट मलाई सबै बताइएको थिएन, उपस्थिति भई कम्तिमा एक दिन पूरा बसिदिनु पर्यो भनिएको मात्र थियो, मैले स्वीकारेको थिएँ । पहिलो अक्षयकोष स्थापनाकर्तालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको, वरपरका विद्यालयका शिक्षक/शिक्षिकाहरू सँग समेत अन्तरक्रियाको अगुवाइ गर्ने गरी कार्यक्रम निर्धारण गरिएको रहेछ । अघिल्लो दिन बिहानै सम्पर्क सम्पर्क भएको थियो । त्यो दिन फोनमा सम्पर्क नहुँदा त निकै छटपटी भएछ । तथापि म निर्धारित समयभन्दा एक घण्टा अगाडि नै पुगेको थिएँ ।
त्यसरी बिहानको लामो पदयात्रा पुगेको कुरा विश्वास गर्न विद्यालयका प्रधानाध्यापक लगायत धेरैलाई निकै गाह्रो भयो । जनप्रतिनिधि समेत भई सकेका खड्ग गुरुङ भाइ लगायतले अप्ठ्यारो महसुस गरे । ×हाम्रो पालाको जस्तो होइन, किन त्यसरी आपत् गरेर बिहानै देखि हिँडेको ? हाम्रो हेडसरले तपाइहरूले चिन्ता गर्नु पर्दैन, भोज शर आफ्नो शूरले कार्यक्रमको समयमा आइपुग्छु भन्नुभएछ भनेर पो हामी नआएको” भनेर पश्चात्ताप व्यक्त गरे । ×यात्राले मलाई अनुपम आनन्द दियो” भनेको थिएँ, तर उनीहरूले पटक्कै विश्वास गरेनन्।
भोलिपल्टको पुस्तकालय दिवस लगायतका कार्यक्रम बस्दिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतले अनुरोध गर्नु भयो । कार्यक्रम ११ बजेलाई नै तय गरिएको रहेछ । बिहानको समय जन्मेहुर्केको ठाउँ वरपर पदयात्रा गर्न मन लाग्यो । त्यस विद्यालयका कमल शर पनि म जस्तै हिँड्न औधिनै रुचि मानिस हुनुहुँदो रहेछ । यादी, यादी भञ्ज्याङ्ग, इन्द्रिस्वाँरा, कालिपाखा, बाह्र हाते, सपाउदे, गैरिस्वाँरा आदि ठाउँ र गाउँ घुमियो । करीष १० किलोमिटरको त्यो जन्मस्थल र बाल्यकाल बिताएका गाउँ ठाउँ र वस्तिसँगको समिप्यताको पदयात्राले अदभूत आनन्द दियो । मेरो त्यो थकानरहित हिँडाइले धेरैलाई अचम्मित गरायो । त्यस पटकको सर्वाधिक स्मरणीय पक्ष त्यही बिहानको यात्रा भयो ।
उसो भए पदयात्राको दार्शनिक र सैद्धान्तिक आधार के छ त ?
दार्शनिक: पदयात्रा (Hiking) केवल एउटा शारीरिक व्यायाम मात्र नभएर यो प्रकृति, स्वयं र अस्तित्वसँग जोडिने एउटा गहिरो माध्यम पनि हो। यो प्रकृतिवाद(Naturalism)दर्शनमा आधारित हुन्छ । यस दर्शन अनुसार मानिस प्रकृतिकै एउटा अभिन्न अङ्ग हो। आधुनिक जीवनको कोलाहलबाट टाढा गएर प्रकृतिसँग एकाकार हुनु नै पदयात्राको मूल दर्शन हो । यसले “प्रकृति नै वास्तविक शिक्षक हो” भन्ने मान्यता राख्दछ । पदयात्रालाई अस्तित्ववाद (एग्जिस्टेन्सियलिज्म)को समिप्यतामा पनि हेरिन्छ । जसअनुसार मानिसले आफ्नो सीमा र सामर्थ्यको अनुभव गर्छ । कठिन उकालो चढ्दा वा एकान्तमा हिँड्दा व्यक्तिले आफ्नो अस्तित्व र जीवनको अर्थबारे चिन्तन गर्ने अवसर पाउँछ। यो “स्वयंलाई खोज्ने” प्रक्रिया हो । यो मितव्ययिता (मिनिमलिज्म) दर्शनमा पनि आधारित हुन्छ, भन्नाले पदयात्राले हामीलाई थोरै स्रोत-साधन (एउटा झोला र केही आवश्यक सामान) मा पनि खुसी रहन सकिन्छ भन्ने सिकाउँछ। यसले भौतिकवादी सोचलाई त्यागेर आन्तरिक शान्तिमा जोड दिन्छ । मानिसले गर्ने ध्यान (माइन्डफुलनेस)मा आधारित हुन्छ, हिँडिरहँदा प्रत्येक पाइला र श्वासमा ध्यान केन्द्रित हुनु आफैँमा एउटा “चलिरहेको ध्यान” (वाकिङ मेडिटेसन) हो । यसले वर्तमान क्षणमा बाँच्न सिकाउँछ ।
सैद्धान्तिक: दार्शनिक जस्तै सैद्धान्तिक आधारहरू पनि छन् । यो पारिस्थितिकीय सिद्धान्त (इकोलोजिकल थ्योरी) आधारित हुन्छ र यसले मानव र वातावरणबीचको अन्तरसम्बन्धलाई व्याख्या गर्छ । पदयात्राले पर्यावरण संरक्षणप्रति संवेदनशीलता जगाउँछ र “छोड्दा पदचाप मात्र छोड्नु, लैजाँदा तस्बिर मात्र लैजानु” (लिभ नो ट्रेस) भन्ने सिद्धान्तलाई आत्मसात् गर्छ । त्यसै गरी शारीरिक र मानसिक स्वास्थ्यको सिद्धान्तमा पनि आधारित हुन्छ । “स्वस्थ शरीरमा स्वस्थ मस्तिष्क” भन्ने मान्यता अनुसार पदयात्राले इन्डोर्फिन र सेरोटोनिन जस्ता हर्मोनहरू उत्सर्जन गराई तनाव कम गर्न र मानसिक स्पष्टता ल्याउन मद्दत गर्छ । यो साहसिक शिक्षाको सिद्धान्तमा पनि आधारित विषय हो किनकि पदयात्राले अनपेक्षित चुनौतीहरूको सामना गर्न, निर्णय लिन र धैर्यता राख्न सिकाउँछ । यो कक्षाकोठा बाहिरको एउटा प्रयोगात्मक सिकाई हो । यस प्रकार हिँड्नु भनेको केवल दूरी पार गर्नु होइन, बरु प्रत्येक पाइलासँगै आफ्नो भित्री संसारलाई उघार्नु हो ।
पदयात्रा सम्बन्धी अनुसन्धानहरू के भन्छन् त ?
मानिसहरू प्रायः भन्छन् प्रकृतिमा पैदल यात्राले दिमागलाई सफा गर्छ । मान्छे र उसको प्राकृतिक वातावरणसँगको सम्बन्धमा बारेमा अनुसन्धान कर्ताहरू घनिभूत रूपमा घोत्लिइरहेका छन् ; जङ्गल पदयात्रा र मानव मस्तिकमा प्रभावका बारेमा प्रयाप्त अध्ययन अनुसन्धान भएको पाइन्छ । प्रकृतिसँगको समिप्यताले मानव मस्तिष्कमा अचम्मको सकारात्मक प्रभाव पार्ने कुरा हालसालैको एक अध्ययनले उजागर गरेको छ (बाक्वेदानो एट अल., २०२६) । सो अध्ययनको नतिजाले प्राकृतिक वातावरण र मानव अनुभूति बीचको सम्बन्धले स्नायु विज्ञान, वातावरणीय मनोविज्ञान, र जनस्वास्थ्य लगायतका विषयहरूमा बढ्दो ध्यान आकर्षित गरेको छ । जसअनुसार मानिसको प्रकृतिसँगको सम्पर्कले उसमा मनोवैज्ञानिक सकारात्मक ऊर्जा दिन्छ । प्राकृतिक समिप्यताले मानिसमा सकारात्मक संज्ञानात्मक उत्तेजना दिन्छ तर तत्कालै अनुभूति नहुन सक्दछ । यस प्रकारको प्राकृतिक उत्तेजनाले तनाव कम गर्दछ । अध्ययनका अनुसार प्राकृतिक वातावरणले मानसिक स्वास्थ्य प्रवर्द्धन महत्त्वपूर्ण रूपमा बढवा गर्छ ।
यस्तै अनुसन्धानहरूको पुनरावलोकन गरी वातावरण विद एरिक राल्स (एरिक राल्स) फेसबुक वालमा लेख्दछन् प्राकृतिक वातावरणले निरन्तर तंत्रिका (साना साना तन्तु) तनाव सर्किटहरूलाई शान्त पार्छ र मस्तिष्कलाई शान्त, थप एकीकृत अवस्थामा सार्छ । उनी यस विषयमा थप गहिरिँदै लेख्दछन् प्राकृतिक पदयात्रामा मानिसहरूले महसुस गर्ने राहत केवल मनोवैज्ञानिक मात्र होइन, यसले मस्तिष्कमा मापनयोग्य शृङ्खला प्रतिक्रियालाई प्रतिबिम्बित गर्दछ जुन आँखाले प्राकृतिक ढाँचाहरू कसरी प्रशोधन गर्छ भन्ने कुराबाट सुरु हुन्छ र कम तनाव र कम दोहोरिने विचारहरूलाई सम्बोधन गरिरहेको हुन्छ । यससम्बन्धी प्रयोगशालामा गरिएका श्रृखलाबद्ध अध्ययनहरूले यस प्रकारको पदयात्रा वा मानिसको स्नायु प्रणालीका तनाव-सम्बन्धित क्षेत्रहरू शान्त हुँदै गए र आरामदायी ध्यानसँग जोडिएका ढाँचाहरू अझ स्पष्ट हुँदै गएको कुरा देखाइएको छ ।
प्रकृतिले मानसिक अव्यवस्था कसरी हटाउँछ भनी मस्तिष्क विज्ञहरूले धेरै श्रम र समय खर्च गरेको पाइन्छ र उनीहरूको निचोड छ ÷ प्रकृतिसँग सामिप्यता भएको वेलामा अल्फा तरङ्गहरूले जुन मस्तिष्कलाई तनाव हुनबाट न्यूनीकरण गरिरहेका हुन्छन् तिनले आराम महसुस गरी उत्साहित हुन्छन् र आफ्नो काम गर्न थप सक्रिया हुन्छन् । यसरी मस्तिष्कलाई पुन सिर्जना (रिक्रियसन) गर्न मद्दत गरेको हुन्छ । पदयात्रीका लक्षित काम गर्न पुनर्ताजगी प्रदान गर्दछ ।
किशोरीलाई अझ उपयोगी: प्रकृतिसँगको सामिप्यतामा गरिएको पदयात्राको किशोर–किशोरीको लागि अझ बढी नै महत्त्वपूर्ण छ भन्ने कुरा आधुनिक अनुसन्धानहरूको समेत निचोड छ । अत्यधिक सोसल मिडियाको प्रयोगबाट यसले उनीहरूलाई बाहिर ल्याउँछ । केही हदसम्म कुलतको प्रयोगलाई कम गराउँछ । उनीहरूको सोसल मिडियाको निर्भरताले कमजोर भएको तर्क गर्ने र निर्णय गर्ने क्षमतामा ह्रास हुँदै गएको अवस्था वाट जोगाउँछ । यसले अनुशासित हुन, मानसिक रूपमा स्थिर र निर्णय क्षमता विकास गर्न अप्रत्यक्ष मद्दत गरेको हुन्छ । रिस, आवेग, संयमको कमी, भावनात्मक असन्तुलन जस्ता समस्याहरूलाई कम गर्ने कुरा अनुसन्धानहरूले पनि उजागर गरेका छन् । डिजिटल संसारमा डुब्दा संवेदनशीलता घटाउने, सतही बहस गर्ने, आत्म अनुशासन र उत्तरदायित्वको संस्कारमा कमी जस्ता पक्षलाई सम्बोधन गर्न प्रकृतिको सामिप्यताको पदयात्रा उपयुक्त मानिन्छ ।
पदयात्राका अनुभवी के भन्छन् ?
यात्राका आ÷आफ्ना अनुभव हुने रहेछन् । यात्राकै क्रममा मित्र सुनिलबाबु खनाल आफ्नो अनुभूति सुनाउँदै भन्नु हुन्छ ×यो हाम्रो पदयात्राले शारीरिक स्वास्थ्य मात्र होइन साहस र आत्मबल ह्वात्तै बढ्ने रहेछ” । युवा मित्र मिलनको बुझाइ छ “हाम्रो यही खानपिन र पदयात्रालाई निरन्तरता दिने हो भने फुर्तिलो र जाँगरका साथ कम्तिमा ९० वर्ष बाचिन्छ” । काठमाण्डौं मध्यवानेश्वरका रैथाने बासिन्दा ६८ वर्षीय डा. सुरेन्द्र ढकाल नियमित पदयात्राको अतिरिक्त वर्षमा कम्तिमा एक पटक उच्च पहाडी यात्रा गर्नु हुँदो रहेछ ।
उहाँ भन्नुहुन्छ ”म त होलबडी चेकअपका लागि त्यस्तो उच्च पहाडी पदयात्रा गर्ने हो”, ढकालको भनाइ अनुसार त्यसरी ४० हजार मिटर उचाइसम्मको यात्रा सकुशल गर्ने मानिसको उच्च रक्तचाप, मधुमेह, बाथ, जस्ता दीर्घ रोगको समस्या नभएको ठहर गर्न सकिन्छ । मुटु, कलेजो, फोक्सो, मृगौला, छाती सम्बन्धी रोगको समस्या नै हुँदैन । होलबडी चेकअप गराउनै पर्दैन । पदयात्राका कारण नै जीवनभर कुनै प्रकारको औषधि सेवन गर्न नपरेको कुरा उहाँले ठहर रहेछ । पूर्व भाषा आयोगका अध्यक्ष तथा पूर्व नेपाल सरकारका सचिव डा. लवदेव अवस्थीको खारिएको अनुभव र अनुभूति अनुसार पदयात्रा नै मानिसको मानसिक र शारीरिक रोगको प्राकृतिक उपचार हो । व्यायाम हो । ध्यान, योग, जिम, खेलकुद आदि त पछि विकसित भएका कुरा हुन् । मानिसको शरीरको प्रकृति नै हिँड्नु हो । हिँडेर रोगलाई ठिक पार्नु पर्छ ।
सिकाइ र अनुभूति
यसरी गरिने यात्राको क्रममा खासै भोक लाग्ने रहेनछ । प्राय जंगलको बाटो हुनाले त्यति प्यास लागेको अनुभव भएन् । तथापि हामीसँग पानी हुनाले त्यस खालको समस्या नपर्नु स्वभाविक पनि थियो । जंगलको बिचतिर खालि ठाउँमा बसेर थकाइमार्दै घरबाट लगेका परिकार साटासाट गरी खानुको मज्जा नै अर्कै हुने रहेछ । यति हिँड्दा मिहिनेत गर्दा पनि खासै भोक किन लागेन होला भनी जिज्ञासा राख्दा केही साथीहरू भन्ने गर्थे, जङ्गल सामिप्यताको प्रकृतिले अन्य तरिकाले हाम्रो शरीरका कोषहरूलाई तृप्त गराइ रहेको हुन्छ । यस्ता विषयवस्तु पनि मनमा सम्झना योग्य भइरहेको छ ।
सधैँ हिँडिरहेको बाटोमा नयाँ अपेक्षा कमै हुन्छन् । दृश्य र भोगाइमा कुनै नयाँ आशा हुँदैन । तथापि प्रकृतिसँगको सामिप्यताले भन्न नसकिने अचम्मको आनन्द प्रदान गरिरहेको हुन्छ । त्यसमा पनि साथीभाइसँगका अनौपचारिक कुराकानीले नजानिँदो किसिमले जीवनमा थप जानकारी दिइरहेको हुन्छ । यो अनुभूति मलाई मात्र होइन सायद सबैलाई हुन्छ होला । बाटो उही हुँदा पनि भोगाइ यात्रापिच्छे फरक हुने रहेछ । त्यसमा पनि साथी सङ्गति फेरिदा भिन्न अनुभव हुने रहेछ ।
निचोडतिर,
नेपालका हरेक डाँडा, पाखा र पखेरा अद्वितीय छन् । आफैमा अनुसन्धानका विषय छन् । हरेकमा नयाँपन छ । दश÷दश मिनेटको पैदल यात्रा पछि अत्यन्त भिन्न हावापानी, पानीका मूलहरू र नयाँ नयाँ वनस्पति भेटिन्छन् । केही बेरको उकालो पछि माथि भञ्याङ्गको शीतल हावा पाइन्छ । केही समयको ओरालो झरेमा बेसिको न्यानो ताप्न पाइन्छ । यी विषयवस्तुको बारेमा जानकारी थियो ता पनि गहिरो अनुभव र अनुभूति गर्न सकिएको थिएन । यो विषय नितान्त व्यक्तिगत हो । व्यक्तिगत इच्छा, परिवेश र शारीरिक अवस्थामा भर पर्दछ । पदयात्राका लागि प्रेरित गर्न सकिन्छ, तर जबरजस्ती गर्न भने सकिदैन् । फेरि सबैको अनुभव र अनुभूति एकै किसिमको हुन्छ भन्न पनि सकिदैन् । तथापि पदयात्रा गर्न सकेमा बेफाइदा पक्का हुँदैन होला ।
आफ्नै कुरा÷जीवनको ऊर्जाशील समय सरकारी जागिरमा बित्यो । अहिले पनि पढ्ने, लेख्न, कहिले पढाउने, कहिले तालिममा जाने, शिक्षण संस्थालाई सहयोग गर्ने, प्रश्न पत्र निर्माण, अनुसन्धान र प्रतिवेदन तयारी जस्ता कामको चटारो छँदै छ । त्यो भन्दा आनन्द त यसरी स्वतन्त्र पदयात्रा गर्नु पो हुने रहेछ । यी सबै काम छाडेर शरीरले सक्दासम्म नेपालका अनगिन्ती रमणीय पदयात्रा गरिरहूँ भन्ने भाव पनि मनमा यदाकदा उत्पन्न हुने गरेको छ ।
निचोड,
यात्रा वा पदयात्राको परम्परागत बुझाइ अनुसार यात्रा गर्नु भनेको नयाँ ठाउँहरू हेर्नु हो, नयाँ अनुभव लिनु हो र आफ्नो नयाँ दृष्टिकोण विकास गर्नु हो । यात्राले हामीलाई नयाँ ठाउँको संस्कृति, परम्परा, रहनसहन, विकास, भूगोल, इतिहास, मानिसको स्वभाव, प्रकृति आदिसँग परिचित गराउँछ र नयाँ ज्ञान दिन्छ । यात्राले हामीलाई दैनिक कार्यबाट मुक्त गराउँछ र नयाँ कुराहरूको अनुभव गर्ने अवसर उपलब्ध गराउँछ । साथै यसरी गरिने यात्राले खानपिनका लगायत विभिन्न कुरामा थप ज्ञान दिन्छ । पदयात्राका क्रममा हुने आरोह अवरोहले एक अर्कोलाई सहयोग गर्ने, आत्मीयता र करुणाको पक्षमा सबलता ल्याउँछ । करुणा सहितको ज्ञानको उपयोगले मानिसलाई थप विनयशील बनाउँछ भन्ने
अनुभूति हुँदै जाने रहेछ । पदयात्राको माध्यमबाट दिमागलाई शान्त र शोचलाई व्यवस्थित गराउन सकिने रहेछ भन्ने स्वअनुभूति गर्न सकिन्छ । नजानिँदो किसिमले आत्मसन्तुष्टि बढेको अनुभूति गर्न सकिन्छ । यो स्वास्थ्यको लागि रोकात्मक (प्रिभेन्टिभ) र उपचारात्मक (क्युरेटिभ) दुवै औषधि रहेछ भन्ने कुरामा सबै ढुक्क भए हुन्छ ।







