काठमाडौँ। नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना अभियान अन्तर्गत मध्य अफ्रिकी गणतन्त्रस्थित बहुआयामिक एकीकृत स्थिरीकरण मिशनमा खटिएका आफ्ना जनशक्तिको नियमित अदलीबदली भएको छ।
रक्षा मन्त्रालयअन्तर्गत जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको सूचनाअनुसार हाई रेडिनेस प्रोटेक्सन ब्याटालियन अन्तर्गत कार्यरत श्री रिपुमर्दन गण (शान्ति सेना) सातौँ डफ्फा तथा सैनिक प्रहरी युनिट (शान्ति सेना) दशौँ डफ्फा लाई प्रतिस्थापन गर्न नयाँ टोली मिसन क्षेत्रमा पठाइएको हो।
यसक्रममा श्री कालीबहादुर गण (शान्ति सेना) आठौँ डफ्फा र सैनिक प्रहरी युनिट (शान्ति सेना) एघारौँ डफ्फा का १७९ जना शान्ति सैनिकहरू चैत १२ गते मिसन इलाका प्रस्थान गरेका छन्।
उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका २११ जना नेपाली शान्ति सैनिकहरू भने चैत ११ गते स्वदेश फर्केका छन्।
हाल मध्य अफ्रिकी गणतन्त्रस्थित उक्त संयुक्त राष्ट्रसंघीय मिसनमा नेपाली सेनाका कुल १ हजार १०७ जना शान्ति सैनिकहरू कार्यरत रहेका छन्।







