काठमाडौँ। दिउँसो मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने चालकलाई लक्षित गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले विशेष चेकिङ सञ्चालन गरेको छ।
यसअघि राति करिब ८ बजेपछि मात्र मापसे जाँच गर्दै आएको ट्राफिक प्रहरीले हाल दिउँसो पनि जाँचको व्यवस्था सुरु गरेको जनाएको छ। गुनासो आएपछि दिउँसो पनि चेकिङ गर्ने निर्णय गरिएको कार्यालयले स्पष्ट पारेको छ।
बुधबारको नियमित जाँचमा १६ जना चालकलाई नियन्त्रणमा लिइ कारबाही गरिएको छ। मापसे गरेको अवस्थामा ट्राफिक प्रहरीले चालकलाई सवारीसहित रामशाहपथमा ल्याएर सम्बन्धित प्रहरी युनिटमा पठाएको छ।
पहिले चालकलाई चेतावनी वा जरिवाना गरेर मात्र छोड्ने गरिएको भए पनि हाल नियम कडाइ गर्दै चालकलाई नै नियन्त्रणमा लिएर कारबाही गर्ने प्रणाली लागू गरिएको छ। नियन्त्रणमा परेका चालकमा स्कुल बस चालक, सार्वजनिक बस र माइक्रो चालक पनि समावेश छन्।







