काठमाडौँ । सडक डिभिजन कार्यालय भक्तपुरको समन्वयमा अरनिको राजमार्ग अन्तर्गत पर्ने धुलिखेल-खावा खण्डमा कालोपत्रे कार्य सुरु गरिएको छ। कार्यालयका अनुसार धुलिखेल चोकबाट पिच गर्ने काम अघि बढाइएको हो।
करिब ४ किलोमिटर लम्बाइको उक्त सडक खण्डलाई दुई चरणमा स्तरोन्नति गरिने योजना रहेको छ। प्रारम्भिक चरणमा करिब २.५ किलोमिटर भागमा कालोपत्रे गरिनेछ भने बाँकी १.५ किलोमिटर खण्ड दोस्रो चरणमा सम्पन्न गरिने जनाइएको छ।
दीर्घ समयदेखि अधुरो रहेको यस परियोजनाको काम पुनः अघि बढाइएको हो। यसअघि २०७९ जेठमा २२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित गौरी पार्वती निर्माण सेवा लाई ठेक्का दिइएको थियो। तर तोकिएको समयसीमा सकिएपछि पनि काम सम्पन्न नभएपछि २०८१ फागुनमा सो ठेक्का रद्द गरिएको थियो।
पछि नयाँ प्रक्रिया अनुसार १४ महिनाभित्र काम सम्पन्न गर्ने शर्तसहित पुनः ठेक्का आह्वान गरिएको थियो। नेपाल सरकारबाट करिब ४२ करोड रुपैयाँको स्रोत सुनिश्चित गरी नयाँ ठेक्का सम्झौता गरिएको हो। हाल सिएम एवन काली जेभी ले काम अघि बढाइरहेको छ र वर्षा सुरु हुनु अघि कालोपत्रे कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।







