काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री उदयशमशेर राणाले निर्वाचन आयोगले दबाबमा परेर काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई अद्यावधिक गर्न केही ढिलाई गरेको आरोप लगाएका छन् ।
शनिवार पार्टी मुख्यालय सानेपामा केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले आयोगले अद्यावधिक गरेपछि काँग्रेसको वैधानिकता सम्बन्धी विवाद अब सकिएको दाबी गरे । उनले अदालतले तोकेको मितिअनुसार नै पार्टीको महाधिवेशन सम्पन्न गरिएको दाबी गर्दै प्रदेश र जिल्ला अधिवेशन पनि छिट्टै गरिने जानकारी दिए ।
प्रदेश र जिल्ला अधिवेशनको मिति पार्टीको केन्द्रीय कार्यसमितिले नभई पार्टीको निर्वाचन आयोग रहेको उल्लेख गर्दै उनले एक–दुई दिनभित्रै अधिवेशनको मिति सार्वजनिक गर्ने गरी तयारी गरेको बताए । पार्टीभित्र पुसको पहिलो वा दोस्रो सातासम्म अधिवेशन प्रक्रिया टुंग्याउने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।
उनले भने, ‘आयोगले हामीलाई हामीलाई अद्यावधिक गरिसकेको छ । अद्यावधिक भइसकेपछि कुनै पनि हालतमा कि निर्वाचन आयोग बायस्ड हुनुपर्छ, हामीले यो अधिवेशन अदालतले डेट दिएको डेटभित्र हामीले टुङ्ग्याएका छौँ । हामीले गरिसकेको प्रक्रिया ठीक छ । हुन त दिइसकेको भोलिपल्टै उहाँहरूले हामीलाई दिनुपर्ने भो, दिनुभएन । ढिलो गर्नुभो । सायद दबाबमा पर्नुभो होला । उहाँहरूलाई कोही बाहिरी शक्ति फेरि विदेशी शक्ति भनेको होइन । आयोगभन्दा बाहिरको शक्तिले कि इन्फ्लुयन्स गरेको हुनुपर्छ । नत्र कानुनी रूपमा कुनै पनि हालतमा अरु पार्टीलाई एउटा देशमा दुईटा पार्टी, एउटै झण्डा, एउटै चुनाव चिन्ह, एउटै पार्टी को एउटै नाम भएको दुइटा अधिवेशन हुन सक्ने सम्भावना छैन ।’







